सेयर बजारमा प्यानको त्रास हट्यो, लागू भएको दोश्रो दिनमै उच्च कारोबार
काठमाडौं । सेयर बजारमा स्थायी लेखा नम्बर (प्यान) लागू भएको दोश्रो दिन उच्च रकमको कारोबार भएको छ । मंगलबारको बजारमा कूल ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसले प्यान सम्बन्धी लगानीकर्तामा देखिएको डर/त्रास घटेको छ । सोमबारको तुलनामा मंगलबार मात्रै ४३ करोड ८२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार जम्मा ३० करोड रुपैयाँ कारोबार भएको थियो । कारोबारको साथ साथै नेप्से परिसूचकमा पनि उच्च वृद्धि देखिएको छ । परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ अंकमा पुगेको छ । जुन सोमबारको तुलनामा १.९६ प्रतिशत बढी हो । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले मंगलबारकाे सेयर बजारमा उल्लेख्य वृद्धि हुनुले लगानीकर्तामा प्यानप्रति जति डर जति थियो त्यो अब हट्ने बताएका छन् । साथै, बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंक ब्याजदर घटिरहेकोले सेयर बजार बढेको उनले जनाए । त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कमाइ र कम्पनीहरुको प्रतिसेयर आम्दानी बढ्दै गएकाले नेप्सेमा थप सुधार हुने अध्यक्ष रौनियारले बताए । त्यसैगरी, मंगलबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ८० अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।
हिमालय उर्जाको आईपीओ बाँडफाँड, आवेदन दिने सबैले पाए १० देखि २० कित्ता सेयर
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको आईपीओ मंगलबार भएको छ । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने सबै आवेदकले सेयर पाएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्का अनुसार आईपीओमा ६९ हजार ६७० जनाले रितपूर्वक आवेदन दिएका थिए । जसमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले र २ हजार ७२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । जसमा ३८ आवेदकबाट परेको २ हजार ८०० कित्ता आवेदन रद्ध भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । कम्पनीले गत चैत २० गतेदेखि २५ गतेसम्म निष्काशन गरेको उक्त आईपीओ मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंकेटमा बाँडफाँड गरेको हो । कम्पनीले कूल १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये सर्वसाधारणका लागि १३ लाख ६६ हजार २२० कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा ४ गुणा बढी आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडले जनाएको छ । कूल निष्काशित साधारण सेयरमध्ये कर्मचारीलाई ३ प्रतिशत र सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याईएको छ । तुलनात्मक रूपमा कम लागतमा परियोजना बन्दै गरेको र सम्पन्न हुने चरणमा पुगिसकेकोले लगानीकर्ताले यस कम्पनीको सेयर मन पराएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताएका छन् । रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–२ गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमाउल्लेख भएअनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
सिभिल बैंककाे ७५ लाख कित्ता शेयर थपिँदै, ६ जना सञ्चालकबारे गाेप्य सहमति
काठमाडौं । लामो रस्साकस्सीपछि सिभिल बैंकले दुई वर्षको साधारणसभा एकै पटक बोलाएको छ । २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेशनल लिजिङ फाइनान्स कम्पनीलाई एक्वायर गरेपछि उक्त कम्पनीका शेयरधनीहरुकाे प्रतिनिधित्वकाे सवालमा सहमति नजुट्दा साधारणसभा हुन सकेकाे थिएन । बैंकले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा बैशाख २७ गते काठमाडौंमा बस्नेगरी बोलाएको हो । उक्त साधारणसभाले करिब १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने तथा ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा प्रस्ताव गरेको १०.२५ प्रतिशत बोनस शेयर तथा ०.५४ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७४/७५ मा प्रस्ताव गरेको ४.०५ प्रतिशत नगद लाभांश सहित १४.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने एजेन्डा तय गरेको छ । त्यस्तै, साधारणसभाले सञ्चालक समितिका सबै सदस्यहरु परिवर्तन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले दिएको ५ देखि ७ जनाको सञ्चालक समितिको सीमामध्ये ७ जना सञ्चालकको प्रस्ताव गरेको बैंकले ६ जना सञ्चालकहरुको निर्वाचन साधारणसभाले गर्नेछ भने बाँकी एकजना स्वतन्त्र सञ्चालक नयाँ सञ्चालक समितिले नियुक्ति गर्नेछ । स्राेतका अनुसार ६ जना सञ्चालक चयनमा सहमति जुटेकाे छ । संस्थापकतर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बाेगटी र प्रतापजंग पाण्डे सञ्चालक बन्ने सहमति संस्थापक सेयरधनीबीच भएकाे छ । त्यस्तै, सर्बसाधारण सेयरधनीकाे तर्फबाट प्रकाश दाहाल, शम्भुपन्त र डम्बर बहादुर मल्लका छाेरा सञ्चालक बन्ने सहमति भएकाे छ । उक्त सहमति बैंकले सार्वजनिक गरेकाे छैन । ७५ लाख कित्ता शेयर थपिँदै बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस शेयरदिने प्रस्ताव यसअघि नै सञ्चालक समितिबाट पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति समेत लिइसकेको छ । उक्त आर्थिक वर्षको अन्तिममा कायम रहेको ७ अर्ब ३० करोड ८३ लाख चुक्ता पुँजी बराबर ७ करोड ३० लाख ८३ हजार कित्ता शेयरको १०.२५ प्रतिशतले हुने ७४ लाख ९१ हजार कित्ता वितरण गर्ने निर्णय गरे पनि साधारणसभा नहुँदा उक्त शेयर वितरण भइकाे थिएन । साधारणसभाले उक्त प्रस्ताव पारित गरेसँगै उक्त शेयर शेयरधनीकाे खातामा आउँनेछ । सिभिल बैंकले भने साधारणसभाले पारित गर्नुअघि नै आफ्नो वित्तीय विवरणमा पुँजी वृद्धि गरेर चुक्ता पुँजी कायम गरिसकेको छ । त्यसैले साधारणसभाले पुँजी वृद्धि प्रस्ताव गरे पनि बैंकको वित्तीय विवरणमा पुँजी वृद्धि भएकाे देखिँनेछैन । बैंकले उक्त साधारणसभाका लागि बैशाख १० गते शेयरधनी किताब पुस्तिका बन्द हुनेछ । उक्त दिनसम्म शेयर कायम रहने शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।