धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू, के छ यो नीतिमा ?

काठमाडौँ । धितो पत्र बोर्डको सूचना तथा प्रविधि नीति साउन महिना देखि लागू भएको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवम् जानकारीहरुको अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको अत्यन्तै महत्वपूर्ण भूमिकालाई दृष्टिगत गरी बोर्डको आव २०७६/७७ को नीति तथा कार्यक्रम अनुरुप बोर्ड संचालक समितिको निर्णयानुसार बोर्डको सूचना प्रविधि नीति, २०७६ पारित भई साउन महिनादेखि लागू गरिएको हो । सूचना प्रविधिको निरन्तर विकास तथा विस्तारबाट सिर्जित अवसरहरुको उच्चतम उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन बोर्डले सूचना प्रविधिसम्बन्धी नीति पहिलो पटक ल्याएको बोर्डका प्रवक्ता निरज गिरीले जनाएका छन् । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगलाई बढाउने, बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रुपमा प्रयोग गर्ने, सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय उपयोगमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशील एवम् विश्वसनीय बनाउने यो नीतिको उद्देश्य रहेको जनाइएको छ । नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ लागू भई कार्यान्वयनमा आए पछि देशको धितोपत्र तथा वस्तु विनिमय बजारमा हुने सूचना प्रविधिको उपयोग स्तरीय एवं भरपर्दो हुदै जाने सूचना प्रविधिको प्रभावकारी तथा सुरक्षित उपयोगका लागि महत्वपूर्ण आधार तयार हुदै जाने तथा धितोपत्र बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगमा एकरुपता आई बजारको विश्वसनीयता अभिबृद्धि र बजारको विकास एवम् लगानीकर्ताको हित संरक्षण हुने बोर्डले अपेक्षा गरेको छ । के छ सूचना तथा प्रविधि नीतिमा ? १. उपर्युक्त उद्देश्यहरु परिपूर्तिको लागि बजारमा विकसित तथा स्तरीय सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गर्ने, बजार अनुगमन तथा सुपरिवेक्षणका लागि सूचना प्रविधि प्रयोग गर्ने, साइबर अपराध न्यूनीकरण र गुणस्तरमा जोड दिने, गुनासो समाधान, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचना प्रविधिको प्रयोग गर्ने बजार सम्बन्धी सूचना तथा जानकारीहरुको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्ने इत्यादि नीतिहरु राखिएका छन् । २. उपुर्यक्त नीतिहरुको कार्यान्वयनको लागि देहायका रणनीतिहरु अवलम्बन गर्ने व्यवस्था गरिएको छ: – बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय एवम् अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास अनुरुपको डिजास्टर रिकोभरी संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्ने/गराउने । – बजार नियमन, धितोपत्र बजार संचालन तथा केन्द्रीय निक्षेप सेवा, बजारका अन्य गतिविधिहरुमा प्रयोग गरिने सूचना प्रविधिका साधन र प्रणाली विकास तथा खरिद धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आएस्को)को सिद्धान्त र सफ्टवेयर सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी व्यवस्था गर्ने/गराउने । – बजार सम्बन्धी गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न बजार सञ्चालक तथा नियमन निकायमा सूचना प्रविधियुक्त बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था गर्ने/गराउने । – सफ्टवेयर विकास वा अधिग्रहण, प्राविधिक मूल्याङ्कन, पूर्व हस्तान्तरण निरीक्षणका लागि उपयुक्त मानक निर्धारण गर्ने÷गराउने । – बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको संपरीक्षण गर्नुपर्ने व्यवस्था गर्ने/गराउने । – बजारसँग सम्बन्धित सूचना प्रविधि साधनहरुलाई स्तरीय, प्रभावकारी तथा विश्वसनीय बनाउन यस सम्बन्धी निर्देशिकाहरु बनाई लागू गर्ने/गराउने । – नियमन निकाय, बजार संचालक तथा अन्य पूर्वाधारहरुमा उपलब्ध सूचना तथा जानकारीको अभिलेख, प्रयोग तथा सुरक्षाका लागि विकसित एवं भरपर्दो सूचना प्रविधि संयन्त्रको स्थापना तथा विकास गर्ने/गराउने । –  बजारसँग सम्बन्धित पक्षहरुले आ-आफ्नो क्षेत्रमा परेका तथा सम्बन्धित नीति तथा रणनीतिहरुको योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने । ३. बोर्डको सूचना प्रविधि नीति कार्यान्वयका लागि बोर्डका उप कार्यकारी निर्देशकको संयोजन रहने गरी ५ सदस्यीय समिति हुने व्यवस्था गरिनुका साथै उक्त नीति कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन बोर्डको उच्च व्यवस्थापनले गर्ने व्यवस्था समेत गरिएको छ ।

नेप्से परिसूचक उकालो लाग्दा कारोबार रकम भने निरन्तर ओरालो

काठमाडौँ । नेप्से परिसूचक सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ । साताको दोश्रो दिन सोमबार ३.१८ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार ३.३९ अंकले बढेको छ । ०.२७ प्रतिशतले बढ्दा परिसूचक आज १२५९.३७ बिन्दुमा पुगेको छ । परिसूचक अघिल्लो दिनको तुलनामा केही बढेपनि कारोबार भनेर तेश्रो दिन २९ करोड ४३ लाख रुपैयाँको मात्रै भएको छ । सेयर बजारमा सोमबार भने ३५ करोड ८ लाख रुपैयाँ बराबरकोसेयर कारोबार भएको थियो । आइतबार भने ४९ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसरी हेर्दा कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार मंगलबार १७१ कम्पनीका १० लाख १३ हजार ७ सय ९४ कित्ता सेयर कारोबार भएको छ । आज ट्रेडिङ समूह, उत्पादनमूलक समूह, जीवन बीमा समूह र म्युचुअल फण्ड घटेका छन् भने अरु सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह २.८५, होटल समूह ५.९९, विकास बैंक समूह ७.३२, जलविद्युत समूह ३.१९, वित्त समूह ०.६५, निर्जीवन बीमा समूह २२.८२, अन्य समूह १.२४, र लघुवित्त समूह १४.७२ अंकले बढेका छन् । त्यसैगरी ट्रेडिङ समूह ३.२९, उत्पादन मूलक समूह १.४, जीवन बीमा समूह ७.२१ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका हुन् । आज युनाईटेड इस्योरेन्स कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ६.४१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेमा तीन अङ्कको वृद्धि, ३५ करोड ८ लाखको कारोबार

काठमाडौँ । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । आइतबार कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा कारोबार भएको थियो । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ४.१६, जीवन बीमा १५.७९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमुहको कारोवारका बारेमा भने कुनै विवरण उल्लेख छैन । बैंकिङ २.५९, विकास बैंक ३.७८, जलविद्युत् १.४८, वित्त ५.१९, निर्जीवन बीमा १.३४, अन्य २.२ र लघुवित्त २३.४ विन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख ६६ हजार ४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंक रु दुई करोड २३ लाख ७९ हजार ३८७, साना किसान विकास बैंक रु दुई करोड नौ लाख तीन हजार ६३१, शिवम् सिमेन्ट रु एक करोड ८४ लाख १७ हजार ७८, कृषि विकास बैंक रु एक करोड ५२ लाख ५२ हजार ७१२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ४१ हजार ६०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज दश प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९।३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८.७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७.०६, गुराँस लघुवित्त वित्तीय संस्था ६।४८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२२ प्रतिशतले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.८४, यूनिभर्सल पावर कम्पनी ३.२९, सिनर्जी पावर ३.२९, युनाइटेड इन्स्योरेन्स कम्पनी २.६३, र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।