सबैको लघुवित्तको आइपीओ आजदेखि, १० देखि २००० कित्तासम्म भर्न पाइने
काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) साउन १ गतेदेखि खुलेको छ । तनहुँ बन्दीपुर १ डुम्रे केन्द्रीय कार्यालय भई तनहुँ, चितवन, रुपन्देही, दाङ, नवलपरासी, नवलपुर, गोरखा, पर्सा, बारा, रौतहट, बाँके, बर्दिया, सर्लाही, सिरहा, सप्तरी, सुर्खेत, कञ्चनपुर, कैलाली, रसुवा, धनुषा, महोत्तरी र कास्की कार्यक्षेत्र भएको सबैको लघुवित्तको ५ लाख ३० कित्ता सेयर खुलेको हो । जसमध्ये ४ लाख ९५ हजार कित्ता सर्वसाधारणलाई, ८ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारीलाई र २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । साउन १ गतेदेखि खुल्ने सेयर छिटोमा साउन ५ गते र ढिलोमा साउन ३० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
चालु आवको अन्तिम दिन नेप्सेमा हरियाली, बढेन कारोबार रकम
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २७१.२५ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागेपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएन । कूल १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर रु ३४ करोड ७२ लाख ८९ हजार २७५ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह नै वृद्धि भएको छ । बैंकिङ ४.१३, होटल ५६.०८, विकास बैंक ५.९९, जलविद्युत् १.१६, वित्त ५.१४, निर्जीवन बीमा १०.४६, उत्पादन ७.०९, अन्य २.२३, लघुवित्त ५.५, जीवन बीमा १.७३ र सामूहिक लगानी कोष ०.४८ विन्दुले बढे । आज चालू आर्थिक वर्षको अन्त्य र बुधबारदेखि नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले पनि शेयर बजारमा लगानीकर्ताको चासो बढेको हो । स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु पाँच करोड ७८ लाख ७२ हजार ५७७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ४४ लाख ५० हजार, नबिल बैंक रु दुई करोड ६ लाख ९० हजार ४८६, शिवम् सिमेन्ट रु एक करोड ४९ लाख ६९ हजार ९३४, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड २९ लाख ३० हजार ५४३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । स्टकका अनुसार नबिल इक्विटी फण्डका लगानीकर्ताले ९.१२ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्था ८.८२, सिटिजन म्यूचल फण्ड ८.३०, एनएमबी हाइब्रिड फण्ड ७.८५ र अरुण काबेली पावरका शेयरधनीले ६.२१ प्रतिशतले कमाए । त्यस्तै आँखु खोला जलविद्युत् कम्पनी ४.१६, रिडी हाइड्रो ३.२२, स्वरोजगार लघुवित्त वित्तीय संस्था २.८६, फस्टमाइक्रो फाइनान्स डेभलपमेन्ट २.८४ र सानिमा माई हाइड्रोपावारका शेयरधनीले २.३९ प्रतिशतले गुमाए ।
राष्ट्र बैंकले नेप्सेमा रहेको करिब १७ लाखको शेयर बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड(नेप्से)मा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडीसी क्यापिटल लिमिटेडको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायीको ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंकले प्रिमियमसहितको मूल्य तोकेको छ । यस आधारमा कूल शेयरको मूल्य रु एक अर्ब ७८ करोड ५३ लाख ४८ हजार ६४८ बराबर हुनेछ । बैंकले बिक्री गर्न लागेको शेयरको न्यूतनम मूल्य प्रतिशेयर रु एक हजार ३२ तोकिएको छ । तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरेरसमेत आवेदन दिन सकिने बैंकले जनाएको छ । सूचनामा भनिएको छ, ‘प्रतिकित्ता के, कति दरमा खरिद गर्न कबुल गर्ने हो, त्यसको विवरणसहित गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।’ शेयर खरिदका लागि आवेदन गर्दा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको कूल शेयर पूँजीको कम्तिमा पाँच प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुने गरी प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदकको बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आफ्नो संस्थाको दर्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, शेयर खरिद गर्नेसम्बन्धी सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र आवेदक संस्थाका सञ्चालक तथा प्रमुखको व्यावसायिक विवरणसमेत पेश गर्नुपर्ने छ । प्राप्त आवेदन आगामी भदौ ४ गते बिहान केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन विभागमा खोलिनेछ । बोलपत्र पेश गर्नका लागि नेपाल स्टक एक्स्चेन्जबाट घोषणा हुने लाभांश शेयर तथा लाभांश प्रस्तावित खरिद कर्ताले प्राप्त गर्नेछन् । बैंकका अनुसार शेयर खरिद बिक्रीको अन्य प्रक्रिया प्रचलित कानुनअनुसार हुने सूचनामा उल्लेख छ । खरिद कर्ताले आफूले खरिद गर्न चाहेको शेयरको प्रस्तावित कूल मूल्यको पाँचदेखि १० प्रतिशतसम्मको रकम केन्द्रीय बैंकको खातामा जम्मा गर्नुपर्ने छ । केन्द्रीय बैंकले लामो समयदेखि नै स्टकको शेयर बिक्री गर्ने घोषणा गरेको थियो । उक्त घोषणालगत्तै सम्पत्ति र शेयर संरचनाको मूल्याङ्कनसमेत गरिएको थियो । सोही आधारमा प्रिमियमसहितको शेयर मूल्य तोकिएको बैंकले जनाएको छ । वित्तीय क्षेत्र विकास रणनीति र नेपाल राष्ट्र बैंक ऐनअनुसार नै शेयर बिक्री गर्न लागिएको हो । रासस