एसवाई प्यानलको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एसवाई प्यानल नेपालले आज असोज ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि भदौ २९ गतेदेखि बिक्री गर्ने भनिएको आईपीओ देशमा उत्पन्न विषम परिस्थितिका कारण आजदेखि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
स्काईपिक एड्भेन्चरस पार्कले २१ प्रतिशत आईपीओ जारी गर्ने
काठमाडौं । स्काईपिक एड्भेन्चरस पार्क लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले जारी पुँजीको २१ प्रतिशत सेयर सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १ गते बिहान ९ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यू रेटिङ गर्ने, सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्नेछ । यस्तै, सभाले स्थिर सम्पत्तिको भोगचलन एवं लिज सम्झौता व्यवस्थापन गर्ने र जग्गा खरिद गर्ने एंव खरिद कार्यको अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वार्षिक २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।
आजसम्म सेयरधनी बने कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश पाउने
काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको आज सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कारोबार भइ कायम सेयरधनीहरूले यी दुई कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २४ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ । यस्तै, यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान १० बजे ललितपुरमा वार्षिक साधारण सभा बोलाएको छ ।