तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार बन्द, यी कम्पनीको मूल्य सर्वाधिक घट्यो

काठमाडौं । सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि आजका लागि कारोबार बन्द भएको छ । यसअघि २ पटक नेगेटिभ सर्किट लागेर स्थगित भएको सेयर कारोबार तेस्रो पटक फेरि हल्ट भएर कारोबार नै बन्द  गरिएकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।  आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २ हजार ५११.९१ अंकमा झरेको छ । बिहीबार ७२ करोड ८७ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि नेप्से खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि पुनः सेयर कारोबार हुँदा ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेपछि फेरि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।  जेनजी आन्दोलन पश्चात् पहिलो पटक खुलेको बजारमा तेस्रो पटक ६ प्रतिशतले ओरालो लागेपछि आजका लागि कारोबार बन्द गरिएको नेप्सले जनाएको छ । बिहीबार बैंकिङ समूह ५.५२ प्रतिशत, विकास बैंक समूह ५.१३ प्रतिशत, फाइनान्स समूह ४.५२ प्रतिशत, होटल तथा पर्यटन समूह ७.२४ प्रतिशत, जलविद्यत् समूह ५.४० प्रतिशत, लगानी समूह ७.१८ प्रतिशत, जीवन बीमा समूह ६.६६, उत्पादन तथा प्रशोधन ५.०२ प्रतिशत, माइक्रोफाइनान्स ४.०८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३१ प्रतिशत, निर्जीवन बीमा समूह ५.४२ प्रतिशत, अन्य समूह ७.४८ प्रतिशत र व्यापार समूह ९.३४ प्रतिशत घटेको नेप्सले जनाएको छ । आज २१७ कम्पनीको सेयर मूल्य घटेपनि ९ कम्पनीको सेयर मूल्य बढेको छ । आज हिमस्टार उर्जा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, अभियान लघुवित्त र रावा इनर्जीको २/२ प्रतिशत सेयर मूल्य घटेको हो । बिहीबार उन्नती सहकार्य लघुवित्त, नेपाल रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटल, आईजीआई प्रडेन्सियल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशत घटेको छ । यस्तै, क्रेस्ट माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशत, चन्द्रागिरी हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पावर, नेशनल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।

नेप्सेमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेट रोकियो कारोबार

काठमाडौं । नेप्से कारोबार फेरि केही समयका लागि स्थगित भएको छ । सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत घट्दा २० मिनेट स्थगित भएको दोस्रो पटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार रोकिएको हो । सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि अर्थात् ११ः२३ मिनेटमा पुनः सेयर कारोबार ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्से परिसूचक २ हजार ५३८.६३ अंकमा झरेको छ । नेप्सेका अनुसार १९१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ११ कम्पनीको सेयर मूल्य भने बढेको छ । हालसम्म २८ करोड ७५ लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरणको प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । कम्पनीका अनुसार सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।