प्रभु बैंकको २१ लाख कित्ता बिक्री खुला, कसले खरिद गर्न पाउँछन् ?

काठमाडौं । प्रभु बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २१ लाख ५ हजार ६७५ कित्ता सेयर बिक्रीमा राखेको हो ।  बैंकको उक्त सेयर खरिदका लागि विभिन्न समयमा विद्यमान संस्थापक सेयरधनीहरुलाई जानकारी गराएको थियो । तर, संस्थापक सेयरधनीहरुले खरिद नगरेकाले सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।  बैंकको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । साथै, खरिदका लागि बैंकको केन्द्रिय कार्यालय काठमाडौं बबरमहलमा सम्पर्क गर्नुपर्नेछ ।

दरमखोला हाईड्रोको आईपीओमा स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीको आईपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । असार ९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थायी बसोवासले आवेदन दिन सक्नेछन् ।  साथै, सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपाली, २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले दरमखोला पावरहाउस मानेबापाटा, ग्लोबल आइएमई बैंकको वामी, लक्ष्मी सनराइज बैंक, प्रभु बैंकको गल्कोट शाखाबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी मुक्तिनाथ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ । सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रो पावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर १० करोड रुपैयाँ अर्थात १० लाख कित्ता साधारण सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणमा बिक्री गर्नेछ । आवश्यक नियामक स्वीकृति प्राप्त भएपछि सेयर निष्कासन प्रक्रिया अघि बढाइने बताइएको छ ।