सेयर बजार पूँजीकरण ४४ खर्ब, एकै वर्षमा ९ खर्ब वृद्धि

काठमाडौं । पछिल्लो समय धितोपत्र बजारको पूँजीकरणले आफ्नो रेकर्ड ब्रेक गर्दै गएको छ ।  २०८२ जेठ मशान्तसम्म धितोपत्र बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड कायम भएको छ । गत वर्षको जेठ मसान्तमा बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रहेको थियो । त्यसअघि २०८० माघ मसान्तको अवस्था हेर्ने हो भने धितोपत्र बजार पूँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको थियो । अझ त्यसअघि अर्थात २०७९ माघ मसान्तमा बजार पूँजीकरण ३० खर्ब ६१ अर्ब रहेको थियो । धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरूको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण निकालिन्छ । यसले सेयर बजारको आकारलाई समेत जनाउँछ ।  यस्तो बजारको आकारमा रेकर्ड ब्रेक हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा २११२.३० रहेको नेप्से सूचकांक २०८२ जेठ मसान्तमा २६५५.३९ कायम भएको देखिन्छ । यस्तै, जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ ओटा अन्य समूहका रहेका छन् । गत जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो ।  सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।  यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर, २२ अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण सेयर, १२ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिवेन्चर र २ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल ३९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।   

शाइन रेसुङ्गाले असार ३२ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ८ प्रतिशत ब्याज पाइने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गर्ने भएको हो ।  बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन १४ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ बिक्री गर्ने, न्यूनतम १५७० रुपैयाँ जोहो गर्नुपर्ने

काठमाडौं । हिमालयन बैंकले असार ३२ गतेदेखि थप सर्वाजिनक निष्काशन (एफपीओ) गर्ने भएको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गर्ने भएको हो ।  बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो ।  बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पूर्ण आवेदन नपरेमा साउन १४ गतेसम्म आवेदन दिने समय लम्बिने जनाएको छ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।