साहस उर्जाले निर्माण गरिरहेको सोलुखोलाको लागत बढ्ने, आईपीओ कहिले खुल्छ ?

काठमाडौं । साहस उर्जाले निर्माण गरिरहेको सोलुखोला दुधकोशी आयोजनाको लागत बढ्ने भएको छ । चालु आवकै चैतमा जलविद्युत आयोजनाको निर्माण कार्य सक्ने कम्पनीको योजना भएपनि कोरोना भाइरस र भौगाेलिक कारणले ढिलाई हुन पुगेको कम्पनीले बताएको छ । आयोजनाको निर्माण कार्य ढिला नै सम्पन्न हुने भएपनि आयोजनाको लागत पनि बढ्ने भएको हो । सोलुखुम्बुमा निर्माणाधिन गरिरहेको निजी क्षेत्रको अहिलेसम्मकै ठूलो ८६ मेगावट क्षमताको सोलुखोला दुधकोशी आयोजनाको निर्माण यस वर्षको चैतमा नै सक्ने दावी कम्पनीहरूले गर्दै आएको थियो । तर, अब नि त्यो समयावधिमा सक्न मुस्किल हुने भएको छ । आयोजनाको निर्माण कार्य ढिलाई र लागत बढ्ने भएपछि सर्वसाधारणमा बिक्री गरिने शेयरबाट पैसा संकलन नहुने हो कि भन्ने चिन्ता पनि प्रबद्र्धकहरुलाई परेको छ । कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले आयोजनाको निर्माण कार्य चैतमा सक्ने लक्ष्य भएपनि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र जिओलोजीको कारण काममा ढिलाई भएको बताए । ‘हामीले तयारी गरे अनुसारको जिओलोजी त्यहाँ पाएनौं, जिओलोजीको समस्याले नै काम हुन सकेन, अर्को कोभिडको कारणले जनशक्ति, सामानहरु उपलब्ध हुन सकेन त्यही भएर काममा ढिलाई भयो,’ उनले भने । ८६ मेगावट क्षमताको सोलुखोला जलविद्युत आयोजनाको शुरुवाती अनुमानित लागत प्रतिमेगावट १३ करोड ७९ लाख रुपैयाँ रहेको थियो तर निर्माणमा ढिलाई भएकाले लागत अरु बढ्ने देखिएको उनले बताए । उनले अब केही समय धकेलिने तर कहिलेसम्म निर्माण गरिसक्ने भन्ने विस्तारै थाहा हुने बताए । लागत कति बढ्छ भन्ने यकिन अझै हुन नसकेको उनको भनाई छ । साइटमा प्रोग्रेस ठिकै नै भइरहेको छ, अहिलेसम्म ५० भन्दा बढी प्रतिशत निर्माण कार्य सम्मपन्न भइसकेको छ, हुनु पर्ने सबै काम भइरहेको छ,’ उनले भने । उनका अनुसार आयोजनाको भुमिगत संरचना निर्माण सकिएको छ भने पावरहाउस र हेडबक्र्सको काम भइरहेको छ । शुरुमा निर्माण यति ठूलो कम्पनीमा लगानी गर्न उत्साहित आयोजना प्रबद्र्धकहरु अहिले कहिले आईपीओ खुल्छ भन्ने प्रतिक्षामा छन् । पाठकले यही वर्षभित्रै जसरी भएपनि आईपीओ निश्कासन गर्ने तयारी भएको बताए । ‘हामी २०७७ भित्रै जसरी भएपनि आइपीओ जारी गछौं, आईपीओ जारी गर्न बिक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल लिमिटेडसँग र क्रेडिट रेटिङका लागि इक्रा नेपालसँग सम्झौता भइसकेको छ’, उनले भने । अब काम कुन गतिमा जान्छ भन्ने निर्धारण कोभिडले तय गर्ने बताए । ६९ जिल्लाबाट झण्डै ८ हजार सेयरधनीहरुको लगानी रहेको साहस उर्जामा इन्भेष्टमेन्ट बैंकको अगुवाईमा अन्य ५ वटा बेंकहरुले लगानी गरेका छन् । सो कम्पनीमा अध्यक्ष पाठकको ४ करोड ७६ लाख, सञ्चालक सुशील थापाको ५ करोड ५२ लाख, र महेन्द्रकुमार गिरीको ५ करोडभन्दा बढि लगानी रहेको छ । कम्पनीमा स्थानीय तीन हजार पाँच सय भन्दा बढि जनताले पनि लगानी गरेका छन् । सिई कन्सट्रक्सनसंग निर्माण सम्झौता गरेर कामलाई निरन्तरता दिईएको छ । ८६ मेगावाट क्षमताको उक्त आयोजनाले २०७१ असोज २ मा निर्माणको अनुमति पाएको आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ८६ करोड रूपैयाँ हो ।

शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । इन्स्योरेन्सले सो वर्षको नाफाबाट लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा जम्मा गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। साथै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा पेश गर्ने बैठकले निर्णय गरको छ । साथै, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरुको पनि सैद्धान्तिक स्विकृतीको लागि बीमा समितिसमक्ष पेश गर्ने सञ्चालक समितिले निर्णय गरेको छ । यससँगै, उक्त वित्तीय विवरणहरु बीमा समितिले स्वीकृत गरे पश्चात कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ दुबैको वार्षिक साधारण सभा सकेसम्म छिटो गर्ने जानकारी गराएकाे छ ।

एनएनबी बैंकको साढे ४९ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । मंगलबार(असाेज ६ गते) मात्र बैंककाे साे मात्राकाे सेयर सूचीकृत भएकाे हाे ।