एकैदिन एभरेष्ट बैंकको करिब ११ लाख कित्ता सेयर खरिद विक्री, को हो किन्ने र बेच्ने ?

काठमाडौं । साताको पहिलो दिन आज एभरेष्ट बैंकको करिब ११ लाख कित्ता सेयर खरिद विक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज एभरेष्ट बैंकको १० लाख ८६ हजार ४ सय ५८ कित्ता सेयर ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँमा खरिद विक्री भए । आज सबैभन्दा बढी कित्ता सेयर कारोबार भएको एभरेष्ट बैंकको नै हो । र, अझ रोचक त आज कारोबार भएको एभरेष्ट बैंकको सेयरमध्ये झण्डै आधा नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) बाट भएको छ । नासा सेक्युरिटिजले एभरेष्ट बैंकको २४ कारोबारबाट ५ लाख ५१ हजार २ सय ५९ कित्ता खरिद विक्री गरेको छ । सो सेयर ४४ करोड १३ लाख २६ हजार रुपैयाँमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ । एकै दिन एभरेष्ट बैंकको धेरै कित्ता सेयर कारोबार भएपनि नेप्सेले यसलाई ‘सामान्य’ मानेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले एभरेष्टको आजको कारोबारलाई ‘सामान्य भएको’ प्रतिक्रिया दिए । एभरेष्ट बैंकको यति धेरै सेयर कसले बेच्यो भन्ने चर्चा बजारमा चलेको छ । स्रोतहरुले भने एभरेष्ट बैंकको संचालक समिति अध्यक्ष विके श्रेष्ठसँग सम्बन्धित व्यक्तिहरुले सेयर विक्री गरेको बताएका छन् । ‘एभरेष्ट बैंकको प्रमोटरबाट साधारणमा परिणत भएको सेयरको कारोबार भएको हो, बैंकका अध्यक्ष विके श्रेष्ठ र उनको परिवारका व्यक्तिहरुले सेयर खरिद विक्री गरेका होइनन्, तर उनी सम्बद्ध व्यक्तिहरुले नै सेयर विक्री गरेको देखिएको छ,’ नेप्से स्रोतले भन्यो । विके श्रेष्ठ सम्बद्ध व्यक्तिहरुले ठूलो परिमाणमा सेयर विक्री गर्ने भएपछि ब्रोकर नम्बर ५८ ले सम्भावित विभिन्न व्यक्तिहरुलाई फोन गरेर सेयर किन्न आग्रह गरेको थियो । ब्रोकरको यस्तो आग्रहका कारण नै सो ब्रोकरबाट नै विक्री र खरिद भएको देखिएको हो । सो ब्रोकरले प्रतिकित्ता न्यूनतम ८ सय रुपैयाँदेखि अधिकतम ८२० रुपैयाँ सेयर खरिद गरेको देखिएको छ ।

कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत, बैशाख ६ गतेदेखि कारोबार हुने

काठमाडौं । कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज(बैशाख ५ गते) मात्रै प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड कित्रा सामूहिक लगानी कोष इकाई नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको इकाई भोलि (अर्थात बैशाख ६ गते) देखि दोश्रो बजारमा कारोबार हुने छ । र, दोश्रो बजारको कारोबारको लागि नेप्सेले संस्थालाई केईएफ सिम्बोल दिएको छ । हालै संस्थाले सर्वसाधारण समक्ष कुमारी क्यापिटल मार्फत १० करोड इकाई बिक्री खुला गरेको थियो ।

नागरिक लगानी कोषसहित एक लघुवित्तको सेयर सूचीकृत

काठमाडौं । नागरिक लगानी कोष र साना किसान विकास लघुवित्तको संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये नागरिक लगानी कोषको हकप्रद र साना किसान विकास लघुवित्तको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो । जसमध्ये नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद नेप्सेमा थपिएको हो । त्यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको एकैदिन २५ लाख १३ हजार १५ कित्ता सेयर सूचीकृत भएको छ । संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २५ लाख ५७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो भने १२ हजार ४४२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै यी दुई कम्पनीको बोनस र हकप्रद सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।