एनआरएन डेभलपमेन्ट फण्डले ८ अर्बको आईपीओ जारी गर्ने, पूर्वाधारमै लगानी गरेर प्रतिफल दिने

काठमाडौं । एनआरएन डेभलपमेन्ट फण्डले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । गैरआवासीय नेपालीलाई लक्षित गरी फण्डले छिट्टै आईपीओ जारी गर्ने याेजना बनाएकाे गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताएका हुन् । संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको बताउँदै संघका अध्यक्ष पन्तले त्यसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गर्ने जानकारी गराए । साथै, उक्त आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने उनकाे भनाई छ । १० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन डेभलपमेन्ट फण्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभइ पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका हुन् । पूर्वाधार तथा उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ ।  एनआरएन नेपाल डेभलमेन्ट फण्ड मा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ । ‘यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५/७ सातामै परियोजना शुरु हुन्छ,’ उनले भने- ‘संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने हैन, पूर्वाधारमा सदुपयोग हुन्छ ।’ संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्याउने लक्ष्य राखेको छ ।परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । १० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पुर्वाधार कै क्षेत्रमा लगानी गरिने छ । २०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो । कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्‍याउने संघको योजना छ । नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी सहित गैरआवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने- ‘संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइ सकेका छन् ।’

बेष्ट फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, मर्जर तथा एक्विजिशनको लागि अख्तियारी दिने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो । सभाले संस्था अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जर तथा एक्विजशनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । त्यस्तै, सभाले बेष्ट फाइनान्सको सञ्चालक समितिबाट संस्थापक सेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने छ । साथै, नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालको निर्वाचन गर्ने छ । त्यसैगरी, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन तथा सो वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्ने छ । त्यस्तै, सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख १९ गते एकदिन बुक क्लोज हुने छ ।

रिलायन्स फाइनान्सको नाफा ३७.३१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ माथि

काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ३७.३१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि बढेर १२ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ३७.३१ प्रतिशतले बढी हो । त्यस्तै, संस्थाको वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ । समीक्षा अवधिमा संस्थाको उक्त नाफा १०१८ प्रतिशतले बढेर १० करोड ७९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ९६ लाख ५२ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३३.०६ प्रतिशतले घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा १६ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको सोअवधिसम्ममा १० करोड ७ लाख रुपैयाँमा झरेको छ । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म ५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८.४५ र १६.३९ प्रतिशतले बढी हो । संस्थाको निष्किृय कर्जा (एनपीएल) २.६३ प्रतिशतबाट घटेर १.८८ प्रतिशतमा झरेको छ । त्यस्तै, सीडी रेसियो घटेर ६४.९७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी बढेर १३.९१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १५५.३२ रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको आधार दर र स्प्रेड दर घटेर क्रमशः ९.९ र ४.६७ प्रतिशतमा झरेको छ ।