सेयर बजारका लगानीकर्ताले थाहा पाउनै पर्ने यस्ता सूचकमा कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता ७० प्रतिशतको हाराहारीमा छ । तुलनात्मक रुपमा कम जोखिमपूर्ण लगानी हुने यो क्षेत्रमा लगानीकर्ताको आकर्षण पनि राम्रै देखिन्छ । गत आर्थिक वर्षमा कोभिड महामारीको बीचमा पनि वाणिज्य बैंकहरुको औसत प्रतिफल १२ प्रतिशतको हाराहारीमा छ । सोभन्दा अघिल्ला वर्षहरुमा यस्तो प्रतिफल १५ प्रतिशतको हाराहारीमा थियो । यो तथ्यले गत वर्ष वाणिज्य बैंकहरुका लगानीकर्ताले औसतमा वार्षिक १२ प्रतिशतले प्रतिफल पाएको देखाउँछ । यो भनेको अंकित मूल्य (प्रतिकित्ता १ सय रुपैयाँ) का आधारमा लगानीकर्ताले औसतमा १२ प्रतिशत प्रतिफल पाएका छन् भन्ने हो । चालु आर्थिक वर्ष बैंकहरुको नाफाको विषयमा विभिन्न चर्चा र प्रश्नहरु सुनिन्छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु बैंकहरुको नाफा निकै कम भएकोले लगानीकर्ता र योग्य जनशक्ति बैंकिङ क्षेत्रबाट नै बाहिरिने हुन् कि भन्ने चिन्ता जनाउन थालेका छन् । बैंकहरुले गत चैत मसान्तसम्मको व्यवसायको आधारमा आफूहरुले के कस्तो आम्दानी गरेका छौं भनेर अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । बैंकको नाफा खासै नघटेको त्यस्ता वित्तीय विवरणले देखाएका छन् । सेयरमा गरेको लगानीबाट प्रतिफल प्राप्त गर्ने आशामा लगानी गरेका लगानीकर्ताको लागि बैंकहरुका केही सूचक महत्वपूर्ण र संवेदनशील हुन्छन् । त्यस्ता केही सूचकका लिएर हामीले वाणिज्य बैंकको सेयरमा लगानी गर्न चाहने लगानीकर्तालाई कुन बैंकको अवस्था कस्तो छ भन्ने जानकारी लिन सजिलो होस भनेर यो सामग्री तयार पारेका छौं । ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेसँगै कम्पनीको खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ३२.७५ प्रतिशतले बढेर ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.४० र प्रतिसेय नेटवर्थ १४८.९२ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको भने जगेडा कोषको रकम भने ३.०६ प्रतिशतले घटेर ७ अर्ब ९२ करोड रुपैयाँ मात्रै सञ्चित रहेको छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.०७ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ५० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेसँगै कम्पनीको खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी १९.२३ प्रतिशतले बढेर ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २१.९७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा १९९.५४ प्रतिशतले बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत बर्ष बैंकको यस्तो नाफा ४० करोड ७४ लाख रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर आम्दानी पनि बढेर ३४.८७ रुपैयाँ पुगेको छ । पीई रेसियो २७.८२ र प्रतिसेय नेटवर्थ १६२ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको भने जगेडा कोषमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चित रहेको छ । कोषको रकम गत वर्षको तुलनामा १५.२० प्रतिशतले बढेको छ । एनएमबि बैंक एनएमबि बैंकले २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८७.८० प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ८६.७८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २०.६४ रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको यस्तो आम्दानी ११.६७ रूपैयाँ मात्रै थियो । पीई रेसियो २१.१७ र प्रतिसेयर नेटवर्थ १४५.३२ रूपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको भने जगेडा कोषमा ७ अर्ब ३९ करोड रुपैयाँ सञ्चित छ । कोषको रकम गत वर्षको तुलनामा ५.९४ प्रतिशतले बढेको छ । नबिल बैंक नबिल बैंकलेले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तुलनामा १६.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब १५ करोड रुपैयाँ बढी खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी भने ५.०९ प्रतिशतले घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । खुद व्याज आम्दानी घटेपनि बैंकको सञ्चालन नाफा लगायत अन्य आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्नमा टेवा पुगेको हो । बैंकको सञ्चालन नाफा १६.३७ प्रतिशतले बढेर ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकको वितरणयोग्य नाफा ८१ प्रतिशतले बढेर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा २ अर्ब ९ करोड रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ छ । जगेडा कोषको रकम ११.२२ प्रतिशतले बढेर १७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३६.४० रुपैयाँ छ । पीई रेसियो ३७.९१ प्रतिशत छ । कृषि विकास बैंक कृषि विकास बैंकले २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा बैंकको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४३ करोड रुपैयाँ छ । त्यस्तै, खुद व्याज आम्दानी ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड रूपैयाँ र जगेडा कोषमा १० अर्ब ११ करोड रूपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २२.१९ रुपैयाँ छ । एभरेष्ट बैंक एभरेष्ट बैंकको नाफा ३५.९२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ९ महिनामा २ अर्ब ३५ करोड २६ लाख ५७ हजार रुपैयाँ नाफा गरेको एभरेष्टले चालु आवको सोही अवधिमा १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँ नाफा गरेको हो । बैंकको रिजर्भमा ९ अर्ब ४२ करोड ३३ लाख ६६ हजार रुपैयाँ छ भने वितरणयोग्य नाफा १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रुपैयाँ छ । हिमालयन बैंक हिमालयन बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४४.४५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी २९.४५ प्रतिशतले घटेर २ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी २४ प्रतिशतले घटेर ३ अर्ब ७३ करोड रुपैयाँ र सञ्चालन नाफा ३९ प्रतिशतले घटेर १ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । वितरणयोग्य नाफा ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६ करोड रुपैयाँ रहेको छ । जगेडा कोषको रकम ६.६२ प्रतिशतले घटेर ७ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १६.०६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंक २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको तुलनामा यो वर्ष बैंकको उक्त आम्दानी ६.०३ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी भने ९.१० प्रतिशतले बढेर ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । खुद नाफासँगै कम्पनीको सञ्चालन नाफा पनि ५०.७५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्ष ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा बढेर ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । जगेडा कोषको रकम ४४.२५ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २५.२८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १८१ रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ४.०९ प्रतिशतले बढेर ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ९.२५ प्रतिशतले बढेर एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी भने बढेर १९.०१ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १८.५२ गुणा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ पुगेको छ ।हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित रहेको छ । नेपाल बङ्गलादेश (एनबी) बैंक नेपाल बङ्गलादेश (एनबी) बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ९ महिनामा बैंकले १ अर्ब ५० लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ७.३५ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिका बैंकको खुद व्याज आम्दानी २ अर्ब १४ करोड १० लाख रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा ५६.५१ प्रतिशतले बढेर २ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषको रकम २८.१२ प्रतिशतले बढेर ४ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.२६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १६५.७६ रुपैयाँ पुगेको छ । नेपाल बैंक नेपाल बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ११.७५ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २९.७६ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.८७ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १९.२३ गुणा र प्रतिसेयर नेटवर्थ २७०.२२ रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको भने जगेडा कोषमा २१ अर्ब ५१ करोड रुपैयाँ सञ्चित रहेको छ । प्रभु बैंक प्रभु बैंकले २ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४४.८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको छ । बैंकले ३ अर्ब ८३ करोड रुपैयाँ खुद व्याज आम्दानी र ५ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा क्रमशः ६.६० र १५.३९ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड रुपैयाँ छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ७७ करोड ७४ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ छ । जगेडा कोषमा ४२ अर्ब ७३ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २४.७९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५२.८६ रुपैयाँ छ । कुमारी बैंक कुुमारी बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको भन्दा ७८.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको छ । बैंकले चैत मसान्तसम्ममा ३ अर्ब ८२ करोड रुपैयाँ खुद व्याज आम्दानी र ५ अर्ब रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३९.०४ र ४४.८३ प्रतिशतले बढी हो । वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ । बैंकको चैत मसान्तसम्मा वितरणयोग्य नाफा ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ४ करोड ५० लाख रुपैयाँ थियो । चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १७.३७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३५.४९ रुपैयाँ छ । सिभिल बैंक सिभिल बैंकले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो । बैंकले कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले ८७ अर्ब ८९ करोड रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ५४ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेशनले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१.६१ प्रतिशतले बढी हो । गत आवको पहिलो ९ महिनामा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले १ अर्ब ३४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । जुन अघिल्लो आवको चैत मसान्तसम्ममा ४१ करोड ९ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी २०.७२ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १५.९४ गुणा र प्रतिसेयर नेटवर्थ १४६.८७ रुपैयाँ छ । गत वर्ष एक अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आवमा बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तमा बैंकले खुद व्याज आम्दानीबाट २ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिमा २ अर्ब २४ करोड रुपैयाँ थियो । सम्बन्धित सामग्री वाणिज्य बैंकहरुको खुद नाफा ५० अर्ब ७४ करोड रुपैयाँ, २१ बैंकले कमाउँदा ६ वटाले गुमाए राम्रा मान्छे बैंकको लगानीकर्ता वा कर्मचारी भएर बस्न नचाहने अवस्था आउन सक्छः भुवन दाहाल राष्ट्र बैंकले ऋणीलाई फेरि राहत देउ भन्यो भने हामी थेग्न सक्दैनौंः गोविन्द ढकाल कर छुटको नाममा मर्जरले ल्याउने सिनर्जीकाे विषयलाई बिर्सनु हुँदैनः सरोजकाजी तुलाधर लघुवित्तको लागि छुट्टै कोषको व्यवस्था होस्ः बसन्तराज लम्साल

प्रभु क्यापिटलले एक अर्बको फण्ड जारी गर्ने, लगानीकर्ताले ३ गुणासम्म प्रतिफल पाउने

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो । प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ जसमा १० करोड युनिट रहनेछन् । कुल १० करोड युनिट मध्ये १ करोड ५ लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५ लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई खरिद गर्न खुला गर्ने तयारी क्यापिटलले गरेको छ । प्रभु क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने कम्पनीले जनाएको छ । यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो छुट्टै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ । आफुसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताले ढुक्कसँग यो सामुहिक लगानी योजनामा लगानी गर्न सक्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पुँजी बजारमा उपलब्ध सबैखाले श्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ । हालको अवस्थामा पनि क्यापिटलले विभिन्न श्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ । त्यसैले क्यापिटलले योजना व्यवस्थापकको रुपमा सञ्चालन गर्न लागेको यो पहिलो योजनामा लगानीकर्तालाई ढुक्क भई लगानी गर्न आग्रह गरेको छ ।

ब्रोकर्स एशोसिएसनको २१ बुँदे सुझावः क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोष स्थापना गराउनसम्म

काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालय समक्ष २१ बुँदे सुझावहरु पेश गरेको छ । एशोसिएसनले समग्र बजार विकाससँग सम्बन्धित विभिन्न सुझावहरु अर्थमन्धालय समक्ष पेश गरेको हो । धितोपत्र दलाल व्यवसायीहरु पुँजीबजार भित्रको दोस्रो बजारमा सक्रिय रहेको हुँदा यस एशोसिएसनले विशेष गरी दोस्रो बजारसंग सम्बन्धित सुझाहरु पेश गरेको छ । साथै, समग्र वजारको विकास हुँदा करको दायर र राजश्व आम्दानी पनि वृद्धि हुने हुँदा विभिन्न व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई सुझाएको छ । एशोसिएसनले दिएको २१ बुँदे सुझावमा खरिदकर्तालाई क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोषहरू स्थापना गराउने व्यवस्था मिलाउने रहेकाे छ । यस्ता छन् २१ बुँदे सुझावहरु १. धितोपत्रको दोस्रो बजार बिस्तारका लागी धितोपत्र दलाल ब्यवसायीहरुले एजेन्ट, सब ब्रोकर वा आधिकारीक प्रतिनिधी मार्फत व्यवसाय बिस्तार गर्न पाउने गरी कानूनी व्यवस्था मिलाउने । २. दुर्गम क्षेत्रमा धितोपत्र दलाल ब्यावसायीको शाखा वा एजेन्सी वा सब ब्रोकर वा आधिकारिक प्रतिनिधि मार्फत बजार पहुँच वृद्धि गर्न वित्तीय वा करका माध्यमबाट प्रोसाहन गर्ने नीति तर्जुमा गर्ने । ३. लगानीकर्ताहरुलाई अल्पकालीन र दीर्घकालिन लगानीकर्तामा बर्गिकरण गरी दीर्घकालिन लगानीकतालाई प्रोत्साहन गर्न कर सहुलियत उपलब्ध गराउने । ४. संस्थागत लगानीकर्ताको सख्यामा वृद्धि गरी बजारलाई स्थायीत्व प्रदान गर्न करको माध्यमबाट संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने । ५. पुँजीगत लाभकर तथा लाभांशमा लाग्ने कर अनिवार्य रुपमा लगानीकर्ताको प्यान नम्बरबाट जम्मा हुने व्यवस्था मिलाउने । ६. पुँजीगत लाभकर गणनाको लागी निर्धारण गरिने भारित औषत लागतलाई स्वचालित रुपमा गणना हुने व्यवस्था मिलाउने । ७. मर्जर तथा प्राप्ती पुर्व धारण गरिएका धितोपत्रहरुको कर छुट हुने अवधि भित्र गरिएको निसर्गबाट सृजित लाभ तथा प्राप्त लाभांशलाई कर प्रणालिमा अभिलेखन हुने ब्यवस्था मिलाउने । ८. सार्वजनिक निष्काशनमा असम्बन्धित व्यक्तिहरुको नामबाट गरिने आवेदनलाई निरुत्साहित गर्ने । ९. बासिन्दा प्राकृतिक व्यक्तिको हकमा आयकर ऐन को दफा ९५(क) बमोजिम अग्रिम कर कट्टी हुँदै आएको पूँजीगत लाभकरलाई दफा ९२ बमोजिम कट्टी गरी अन्तिम कर हुने कानूनी सुनिश्चिता प्रदान गर्ने । १०. धितोपत्र दलाल व्यवसायीले १५ प्रतिशत अग्रिम कर बुझाउँदै आईरहेको हुँदा हाल संस्थागत करको दर ३० प्रतिशतबाट घटाई २५ प्रतिशत कायम गर्ने । ११. निश्चित मापदण्ड पुरा गरेका गैर वित्तीय क्षेत्रका कम्पनीहरुलाई दोस्रो बजारमा सूचिकरण गराउन प्रोसाहन तथा दण्ड जरिवानाको नीति अवलम्बन गर्ने । १२. पूर्वाधार तथा रियल स्टेटसंग सम्बन्धित सामुहिक लगानी कोषहरु(आआईटीएस र आरईआईटीएस) हरुको स्थापनाको लागि आवश्यक नीतिगत ब्यवस्था गर्ने तथा यस्ता कोषहरुलाई प्रोत्साहन गर्न निश्चित अवधिकालागी कर छुट लागायतका प्रोत्साहन उपलब्ध गराउने । यसबाट पूर्वाधार सम्बन्धी परियोजना निर्माणको लागी पुँजीको उपलब्धता बढ्ने साथै साना साना बचतकर्ताले पनि आरईआईटीएसको माध्यमबाट रियल स्टेट क्षेत्रको लाभ प्रत्यक्ष रियल स्टेटमा लगानी नगरीकनै प्राप्त गर्न सक्ने । यसले अनावश्यक जग्गाको खण्डिकरण रोक्ने, घर जग्गा कारोबार अझ ब्यवसायिक र ब्यवस्थित हुने, पुँजीबजार मार्फत घर जग्गाको कारोबार हुने हुँदा करको दायरा बढ्ने जस्ता लाभ प्राप्त हुने । १३. ठूलो मात्रामा नयाँ कम्पनीहरु दोस्रो बजारमा सूचिकृत हुने अवस्था आएमा खरिदकर्ताको अभाव हुन गई पुँजी परिचालनमा बाधा उत्पन्न हुन सक्ने हुँदा एनआरएनहरुको दोस्रा बजार प्रवेशलाई कानूनी तथा प्राविधिक रुपमा सहज बनाउने । साथै ठूलो मात्रामा लगानी भित्र्याउन विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा प्रबेश गराउने । १४. बिदेशमा रहेका नेपाली नागरिकहरुले भौतिक उपस्थिति बिनानै प्रविधिको प्रयोग मार्फत बैंक खाता खोल्न तथा पुँजी बजार प्रवेश गर्न सक्ने नीतिगत तथा कानूनी ब्यवस्था गर्ने । यसबाट बैंकिङ्ग प्रर्णाली मार्फत रेमिट्यान्सको प्रवाह बढ्ने । साथै रेमिट्यान्स पुँजी बजारमा भित्रने हुँदा अनावश्यक खर्च घट्न गई भुक्तानी तथा व्यापार सन्तुलन कायम गर्न सहयोग पुग्ने । १५. नेपाल स्टक एक्सचेञ्जमा बिदेशी रणनीतिक साझेदार भित्र्याई उच्च प्रविधि, मानव संसाधन तथा लगानी औजारहरुको हस्तान्तरण /विकास गरि दोस्रो बजारको विकास तथा विविधिकरणलाई गति प्रदान गर्ने । १६. सरकारी ऋणपत्रलाई अभौतिकीकरण गरी यसको दोस्रो बजार कारोबारलाई चलायमान बनाउने । ऋणपत्र बजारको बिकासका लागि अतिनै आवश्यक इन्ट्रेस्ट रेट इल्ड कर्भ निर्धारण गर्न सरकारी ऋणपत्रको भुक्तानी अवधि तथा निश्कासनलाई ब्यवस्थित गरी इन्ट्रेस्ट रेट इल्ड कर्भ प्रत्यक्ष सम्प्रेषण गर्ने व्यवस्था मिलाउने । १७. ऋणपत्र बजारको विकासको लागि ऋणपत्रबाट प्राप्त हुने ब्याज आम्दानीमा लाग्ने कर ब्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुमा फरक रहेको कारण दोस्रा बजार कारोबार तथा राफसाफमा कठिनाई उत्पन्न भएकोले सो मा एकरुपता कायम गर्ने । ऋणपत्र लगानीबाट हुने पुँजीगत लाभमा लाग्ने करमा एक निश्चित अवधिको लागी प्रोत्साहन उपलब्ध गराउने । १८.  राफसाफमा निहित जोखिम ब्यवस्थापन गर्न आवश्यक ठूलो आकारको राफसाफ प्रत्याभूती कोषको स्थापनाको ब्यवस्था तथा सञ्चालन गर्न सरकारको तर्फबाट पनि वित्तीय सहायता उपलब्ध गराउने । १९. धितोपत्र हस्तान्तरण गर्न नसक्दा त्यस्तो कारोबारलाई सिधै क्लोज आउट मार्फत राफसाफ गर्ने हालको व्यवस्थाको सट्टा अक्सन मार्केटको सञ्चालन गरी खरीदकर्ताले खरिद गरेको धितोपत्र पाउने सुनिश्चिता गर्ने । २०. कुनै कारोबार क्लोज आउट मार्फत राफसाफ गर्दा खरिदकर्ताले प्राप्त गर्ने २० प्रतिशत अतिरिक्त रकमलाई आकस्मिक लाभ मानी २५ प्रतिशत कर कट्टी गर्ने ब्यवस्था हाल प्रचलनमा रहेको छ । त्यसरी प्राप्त हुने २० प्रतिशत रकम आकस्मिक लाभ नभई खरिद गरेको धितोपत्र प्राप्त नहुने हुँदा उपलब्ध गराईएको क्षतिपूर्ति रकम हो । तसर्थ त्यसमा कर लगाउन जरुरी नरहेको अथवा त्यस्तो करको दर पुँजीगत लाभकरको बराबर कायम गर्दा न्यायोचित हुने देखिएको । २१. पुँजीबजारसंग सम्बन्धित अध्यन, अनुसन्धान, तालिम, प्रशिक्षण, लगानीकर्ता सचेतना कार्यक्रम संचालन तथा प्रमाणीकरण गर्न एक आधिकारीक संस्थाको स्थापना गर्ने ।