प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्दै, फाइल धितोपत्र बोर्डमा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । संस्थाले सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने अनुमति मागेको छ ।
आरएसडिसी लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने, बाेनसदरमा वृद्धि
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको बाेनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये संस्थाले ९ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी ३.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल संस्थाको चुक्ता पुँजी ६७ करोड १५ लाख रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ७३ करोड १९ लाख रुपैयाँ नाघ्ने छ । अघिल्लो आवकाे तुलनामा गत आवकाे कुल लाभांशदर कम हाे भने बाेनसदरमा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६मा संस्थाले सेयरधनीलाई ६ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
एनएमबि लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्रै १२ प्रतिशत अर्थात ४ लाख ८६ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।