कमोडिटी मार्केट आगामी वर्षभित्रै सञ्चालनमा ल्याउने, हटाइयो म्युचुअल फण्डको कर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् । उनले धान, मकै, गहँ, चिया अलैची जस्ता उत्पादनलाई वस्तुविनमय कारोबारमा समावेश गरिने जनाएका छन् । साथै, सरकारले म्युचुअल फण्डको इकाई बिक्री गर्दा कर नलाग्ने पनि व्यवस्था गरेको छ । यसअघि म्युचुअल फण्डको इकाई बेच्दा म्युचुअल फण्ड सञ्चालन गर्नेको नाफामा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा दुविधा रहेको थियो । त्यसलाई स्पष्टता बनाउँदै अर्थमन्त्री पौडेलले अब आगामी वर्षदेखि कर नलाग्ने बताएका हुन् ।

सरकारले एनटीसीको २२ प्रतिशत सेयर ग्राहकलाई दिने

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । ‘नेपाल दुरसञ्चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोबाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ । हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकले समेत सेयर खरिदमा सहभागी हुन सक्ने व्यवस्था मिलाइनेछ । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र तय गरिनेछ’ अर्थमन्त्री पाैडेलले भने ।  

सिवाईसी नेपालले शालिग्राम लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । जेठ १४ गते सम्पन्न संस्थाको पहिलो विशेष साधारणसभाले सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । विशेष साधारण सभाले सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिवाईसी नेपालको १०० कित्ता सेयरलाई शालिग्रामको ७५ कित्ता सेयर (१ः०.७५) दिने गरी सेयर मूल्य अनुपात(स्वाप रेसियो) कायम गरिएको छ । प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात् हुने संस्थाको अधिकृत पूँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ । उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चण्डिप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा देखिएको सदस्यहरुको दोहोरोपना र संस्थाहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न संस्थाहरु एक अर्कामा गाभिने वा प्राप्ती हुनै पर्ने धारण व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा अध्यक्षको आज्ञाले संचालक समितिको तर्फबाट प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट प्रवन्ध सञ्चालक शर्माले स्पष्ट पारेका थिए । सभामा सेयरधनी महेन्द्रकुमार गिरी, कृष्णप्रसाद सापकोटा, प्रकाश रिजाल लगाएतले आफ्ना भनाईहरु राखेका थिए । सभाको सञ्चालन संस्थाका कम्पनी सचिव चन्द्रप्रसाद ढकालले गरेका थिए । यसैबीच, शालिग्राम लघुवित्तको शुक्रबार सम्पन्न विशेष साधारण सभाले समेत संस्थालाई सिवाईसी नेपाल लघुवित्तले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै संस्थाको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त प्राप्ति गर्नका लागि बाटो खुलेको हो । उक्त सभा बागलुङको प्रथम विशेष साधारण सभा शुक्रबार बागलुङ बजारमा भर्चुयोल (विद्युतीय) माध्यमबाट सम्पन्न भएको हो ।