बजार बढ्नुको कारण यस्तो छः अध्यक्ष ढुङ्गाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजीबजारको विकास र विस्तारको लागि बोर्डले चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष ढुङ्गानाले साे बताएका हुन् । पछिल्लाे समय धितोपत्रको दोश्रो बजारमा सक्रिय लगानीकर्ताको उल्लेख्य वृद्धि भएको बताउँदै उनले कोरोनाको कारण सरकारले घोषणा गरेको लकडाउनको अवधिमा बोर्डको अग्रसरता तथा समन्वयमा नेप्से, सीडीएससीको कारोबार प्रणालीमा सुधार गरी पूर्ण रुपले अनलाइनमा कारोबार गर्न सक्ने व्यवस्था बनाइएको कारण लगानीकर्तालाई लगानी गर्न सहजता भएको जनाएका छन् । साथै, कारोबारको लागत घटाइएको कारणले बजारप्रति सर्वसाधारणको आकर्षण वृद्धि भएको छ । यससँगै, अर्थतन्त्रमा अन्य लगानीको क्षेत्रहरु संकूचन भएको छ । बैंकिङ्ग क्षेत्रमा तरलता प्रर्याप्त रहेकोले पनि दोश्रो बजारका गतिविधिहरु ऐतिहासिक रुपले वृद्धि भएको उनकाे भनाई छ । ‘लामो समयदेखि स्पष्ट नभएको पुँजीगत लाभकर स्पष्ट भएसँगै बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको हो । बजारको बढ्दो स्वरुपका कारण पछिल्लो समय नेपाल सरकारको राजश्वमा पुँजीबजार भरपर्दो श्रोतको रुपमा रहन थालेको छ । गत वर्षसम्म सरकारलाई पुँजीगत लाभकरका रुपमा मुस्किलले एक अर्ब रुपैयाँसम्म योगदान पुर्याउने पुँजीबजार अहिलेको अवस्थामा एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढी योगदान गर्न सक्षम भएको छ । त्यसैले, सबै क्षेत्रबाट पुँजीबजारको महत्व बढेको छ ।’, उनले भने । हाल दोश्रो बजारको स्थिति पनि उत्साहजनक  रहेकाे छ । परिसूचकहरु ऐतिहासिक उचाईंमा पुगेका छन् । नेप्से परिसूचक गत असारमा १३६५ बिन्दुबाट अहिले २९ सय बिन्दुका हाराहारिमा पुगेको छ भने १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ । कूल ग्रहास्थ उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्रै रहेकोमा हाल कुल ग्रहास्थ उत्पादन बराबर बजार पुँजीकरण पुगेको छ । यसले धितोपत्र बोर्डको बजार र तरलता पनि बढेको पुष्टि गर्दछ । एक वर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या करिब ६ प्रतिशतले वृद्धि हाल ३५ लाख नाघेको छ । मेरो सेयर खाताको संख्या एक वर्ष नपुग्दै तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ । धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाख लगानीकर्ताले भाग लिने गरेकोमा हाल करिब १८ लाखले आवेदन दिन सक्ने अवस्थाको सिर्जना भएको छ । २०७७ असारमा धितोपत्र दोश्रो बजार अनलाइन कारोबारको लागि करिब ३५ हजारले मात्रै युजर आईडी लिने गरेकोमा हाल उक्त संख्यामा १७ गुणा बढीले वृद्धि भई हाल ६ लाख ६० हजार भन्दा बढीले अनलाइन कारोबार सुविधा लिएका छन् । औषतमा ६ लाख लगानीकर्ताहरु कारोबार सक्रिय रहेका छन् र लगानीकर्ताहरु क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् । चालु आर्थिक वर्षको १० महिनामै धितोपत्रको प्राथमिक बजारमार्फत करिब ७८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन हालसम्मकै उच्च हो ।

कमोडिटी मार्केट सञ्चालनको लागि आवश्यक गृहकार्य शुरु गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि आवश्यक गृहकार्य थाल्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । उनले बोर्डको २९औं बार्षिकोत्वको कार्यक्रममा बोल्दै सो बताएका हुन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले वस्तु विनिमय बजारको सञ्चालन ल्याउने व्यवस्था ल्याएकाे र यसको कार्यान्वयनको लागि  बाेर्डले आवश्यक गृहकार्य शुरु गरी समयमै वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन  बोर्डलाई आग्रह गरेका हुन् । कमोडिटी मार्केटमा धान, मकै, गहँ, चिया अलैची जस्ता उत्पादनलाई वस्तुविनमय कारोबारमा समावेश गरिने छ ।

नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ?

काठमाडौं । गत माघको दोस्रो सातातिर अमेरिकी कम्पनी गेमस्टपको सेयर मूल्य सम्बन्धी विषयमा विश्व संचारमाध्यमको ध्यान आकर्षित भएको तपाईंलाई स्मरण छ ? एक पटक सम्झौं न त, के भएको थियो भनेर । भिडियो गेमको विक्री गर्ने अमेरिकी कम्पनी गेमस्टप (जो दोस्रो बजारमा सुचिकृत भएर कारोबार हुने गरेको छ) को सेयर मूल्य प्रतिकित्ता १ डलरको हाराहारीमा थियो । हेजफण्डहरुले सर्टसेल गरेर गेमस्टपको सेयर कारोबारबाट राम्रोसँग कमाइरहेका थिए । नेपालमा सर्टसेल कारोबार हुँदैन । सर्टसेल भनेको आफूसँग अहिले नभएको कम्पनीको सेयर बिक्री गर्ने सुविधा हो । आफूसँग नभएपनि बिक्रीकर्ताले दोस्रो बजारबाट सेयर किनेर खरिदकर्तालाई विक्री गरे बराबरको सेयर उपलब्ध गराउँछ । सर्टसेलमा फाइदा हुने भनेको कुनै पनि कम्पनीको सेयरमूल्य घटेको अवस्थामा हो । जस्तो कि आज कुनै हेजफण्डले कुनै कम्पनीको सेयर १० डलरमा सर्टसेल गर्यो । दिनभरमा त्यो कम्पनीको सेयरमूल्य ९ डलर भयो भने उसले त्यहि दिन बजार बन्द हुनु अघि नै किनेर खरिदकर्तालाई दिने हो । यसोगर्दा बिक्रीकर्ताले एकदिनमै १ डलर नाफा गर्न पायो । तर, त्यो कम्पनीको मूल्य बढ्यो भने बिक्रीकर्तालाई नोक्सान र खरिदकर्तालाई फाइदा हुन्छ । सर्टसेलको मोटामोटी चरित्र यही हो । हेजफण्डहरुले यही विधिका आधारमा गेमस्टप कम्पनीको सेयरको सर्टसेलबाट कमाइरहेका थिए । त्यही बेला सामाजिक सञ्जाल रेडिटमा गेमस्टपको सेयर मूल्यबारे चर्चा चल्यो । अनि लाखौंको संख्याका रेडिट प्रयोगकर्ताहरुले रेडिटको आर/वालस्ट्रिटबेटस् नामक फोरमसँग सहकार्य गरे । सो फोरममा गेमस्टपको सेयर सबैले खरिद गर्ने अभियान चलाउने सहमति भयो । असंगठित रुपमा रहेका साना लगानीकर्ता (थोरै रकम लगानी गर्नेहरुलाई साना लगानीकर्ता भनिएको) हरुले गेमस्टपको सेयर खरिद गर्ने अभियान चलाए । सबैले सो कम्पनीको सेयर किन्न थाले । यो अभियान त्यतिबेला व्यापक रुपमा चल्यो, जतिबेला हेजफण्डहरु आक्रामक रुपमा गेमस्टपको सेयर विक्री गरिरहेका थिए । रेडिटमा यो अभियान चलेपछि गेमस्टपको सेयरमूल्य आकाशिन थाल्यो । सो कम्पनीको सेयरमूल्य १७ सय प्रतिशतसम्म बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आफूले सर्टसेल गरेको कम्पनीको मूल्य असाध्यै बढेर आफूहरुले ठूलो परिमाणमा नोक्सानी व्यहोर्न थालेपछि हेजफण्डहरु फेरि गेमस्टपको सेयर किन्न बाध्य भए । फलतः कम्पनीको सेयर मूल्य अझै बढ्यो । यो अभियानको कारण हेजफण्ड लगानीकर्ताले ३ अर्ब ३० करोड अमेरिकी डलरभन्दा बढी घाटा खानु परेको बिजनेस इन्साइडर नामक न्युजपोर्टलले उल्लेख गरेको छ । मेल्भिन क्यापिटल नाम गरेको हेज फण्ड त झण्डै टाट नै पल्टियो । टाट पल्टिबाट जोगिन मेल्भिनले २ अर्ब ७५ करोड अमेरिकी डलर सहयोग लिएको थियो । गत जनवरी २७ मा गेमस्टपको सेयर मूल्य प्रतिकित्ता ३४७.५१ डलर पुग्यो । जबकि सो कम्पनीको सेयर मूल्य त्यसअघि प्रतिकित्ता २० डलरभन्दा बढी कहिल्यै भएको थिएन । अहिले पनि गेमस्टपको सेयरमूल्य प्रतिकित्ता २४८.३६ डलर छ । अहिले अमेरिकी अर्काे कम्पनी एएमसी गेमस्टपको बाटोमा छ । अमेरिकामा चेनको रुपमा फिल्महलहरु संचालन गर्ने कम्पनी एएमसी इन्टरटेनमेन्ट होल्डिङ्स इन्कको सेयर मूल्य पनि गेमस्टपकै जस्तो गरी बढिरहेको छ । गत मे महिनाको ७ तारिकमा प्रतिकित्ता ९.५१ डलर रहेको सो कम्पनीको सेयरमूल्य बढेर ६२.५५ डलरसम्म पुग्यो । नेपालमा के हुँदैछ फण्डा ? गत जुन ४ मा सेयर बजारबारे जानकार दिपिल मुनंकर्मीले नारायणी डेभलपमेन्ट बैंकको अपरिष्कृत वित्तीय विवरण राख्दै ट्वीटरमा ‘इपीएस-४, नेटवर्थ ३६.१५, रिटेन्ड लस २१.२७ करोड’ भनेर ट्वीट गरे । मुनंकर्मीको ट्वीट कोट गर्दै वित्तीय विश्लेषक मुक्ति अर्यालले लेखे-मानिसहरु यस्तो स्टक पनि खरिद गर्छन् । के देखेर किन्छन् ? नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य तीन महिना अगाडि प्रतिकित्ता ५१५ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता ८४५ रुपैयाँसम्म पुगेको छ । अर्काे उदाहरण राधी विद्युत कम्पनीलाई लिन सकिन्छ । राधीको सेयरमूल्य एक वर्षअघि प्रतिकित्ता १६९ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता १३ सय रुपैयाँसम्म पुग्यो । त्यस्तै, नेटवर्थ नै नेगेटिभ भएको कम्पनी खानीखोला हाइड्रोपावरको सेयरमूल्य तीन महिनाअघि प्रतिकित्ता ११९ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता ३०५ रुपैयाँसम्म पुग्यो । केही दिन अघि मात्रै नेपाल स्टक एक्स्चेञ्जले सो कम्पनीको सेयर कारोबार बन्द गराएको छ । बन्द गराएको कारण भने कम्पनीले आफ्नाे वित्तीय विवरण समयमै प्रकाशित गरेन भन्ने हो । पछिल्लो समय वित्तीय सूचक राम्रो नभएका कम्पनीहरुको सेयर मूल्य पनि बढेको छ । सामाजिक सञ्जालहरुमा कहिले अब जलविद्युत क्षेत्रमा लगानी गरौं भन्ने त कहिले अब बैंकिङतिर सिफ्ट हुनुपर्छ है भन्ने प्रकारका सन्देशहरु प्रवाह भइरहेका पछिल्लो समय व्यापक देख्न पाइन्छ । पछिल्लो समय केही कम्पनीहरुको मूल्यमा देखिएको अस्वभाविक बृद्धिले नेपालमा पनि गेमस्टप वा एएमसी जस्तै कुनै चक्कर त चलिरहेको छैन ? नेपालको सेयर बजारलाई नजिकबाट अध्ययन गरिरहेका अधिवक्ता ज्योति दाहाल ‘सर्कुलर ट्रेडिङ’ भने देखिएको अनुभूत गर्छन् । ‘हाम्रो बजारमा इन्साइडर ट्रेडिङ हुने गरेकै छ, सबैले थाहा पाउने गरी इन्साइडर ट्रेडिङ हुँदा पनि आवश्यक अध्ययन गरेर कारबाहीको दायरमा ल्याइएको घटना ज्यादै कम छ, तर अहिलेको बजारमा भने इन्साइडर ट्रेडिङ भन्दा पनि सर्कुलर ट्रेडिङले बढी काम गरेको देख्छु,’ दाहालले भने । ‘सर्कुलर ट्रेडिङ’ भनेको एउटा कुनै समूहले निश्चित कम्पनी छनोट गरेर आफ्नै टीमभित्र सोही कम्पनीको सेयर खरिद विक्री गरिरहने कार्य हो । यस्तो गर्दा कुनै समय मूल्य बढाउने र कुनै समय घटाउने कार्य गरेर अन्य लगानीकर्तालाई आकर्षित गर्ने गरिन्छ । वित्तीय विश्लेषक मुक्ति अर्याल भने अहिलेको बजारमा ‘सर्कुलर ट्रेडिङ’ वा ‘इन्साइडर ट्रेडिङ’ भन्दा पनि सस्तो सेयरको खोजीले बढी काम गरेको अनुभव सुनाउँछन् । ‘नेपालमा पनि सामाजिक सञ्जालहरुमा विभिन्न ग्रुप बनाएर विभिन्न प्रकारका डिसकसनहरु हुने गरेको देख्छु, गेमस्टप वा एएमसीको सेयरमा जस्तै मूल्यमा प्रभाव पार्ने गरी त्यस्ता ग्रुपहरुमा छलफल पनि हुने गरेका छन् तर, त्यस्ता ग्रुपहरुमा कन्फ्युजिङ र कन्फ्लिक्टिङ कुराहरु आउने, एउटै कुरामा सबैको एकमत नहुने जस्ता अवस्था देखिएका छन्, त्यसैले हाम्रो बजारमा सस्तो सेयर खोज्ने प्रबृत्ति बढी भएकोले वित्तीय सूचक नराम्रा भएका कम्पनीहरुको पनि मूल्य बढेको हुन सक्छ,’ अर्यालले भने । नेपालमा कसरी बढिरहेको छ नराम्रा सूचक भएका कम्पनीको मूल्य ? अहिले नेपाली पुँजी बजारमा नराम्रो वित्तीय सूचक भएका कम्पनीहरुको पनि सेयर मूल्य बढिरहेको छ । तर, बजारमा चलेका हल्ला र भएका गतिविधि हेर्ने हो भने अरुलाई आकर्षित गर्न त्रास र आश सिर्जना गर्ने प्रयास भइरहेको देखिन्छ । यसका लागि केही कम्पनीको बारेमा चलेका हल्ला सुनौं । जस्तो कि लुम्बिनी विकास बैंकको सेयरमूल्य तीन महिनाअघि प्रतिकित्ता २४९ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता ५४५ रुपैयाँ पुगेको छ । लुम्बिनी विकास बैंकसँग डिप्रोक्स लघुवित्तको करिब १० लाख कित्ता सेयर छ । यस्तै, समता र नाडेप लघुवित्तको सेयर पनि छ । लुम्बिनीले लघुवित्तको सबै सेयर बेच्छ र अर्काे वर्ष शतप्रतिशत बोनस सेयर दिन्छ, त्यसैले यसको सेयर मूल्य कम्तिमा पनि हजार नघाउनु पर्छ । यही हल्लाले लुम्बिनीको सेयर मूल्य बढिरहेको लगानीकर्ताहरु बताउँछन् । गोर्खाज फाइनान्सको बारेमा चलेको हल्ला अझ रोचक छ । गोर्खाज फाइनान्सको सेयर मूल्य तीन महिना अघि प्रतिकित्ता ४०८ रुपैयाँ थियो । अहिले बढेर प्रतिकित्ता १०५५ रुपैयाँसम्म पुगेको छ । किन मूल्य बढेको भन्दा बजारको हल्ला छ कि गोर्खाज फाइनान्स कम्पनीले यो वर्ष नाफा गरेर ३० प्रतिशत बोनस दिन्छ । त्यो कसरी दिन्छ भन्ने आधार दिनेहरु भन्छन्- यो कम्पनीको चुक्ता पुँजी ८७ करोड रुपैयाँ हो । सर्वसाधारणसँग यसको सेयर करिब ३९ लाख जति छ । अहिले संक्रिय लगानीकर्ता २० लाख जति पुगेका छन् । त्यो भनेको एक जना लगानीकर्ताको भागमा बढीमा ५० कित्ता सेयर न हो, त्यसैले यसको मूल्य बढ्छ । जबकि गोर्खाज फाइनान्स गत पुस मसान्तसम्ममा संचित नोक्सानीमा थियो । गत चैत मसान्तमा प्रकाशित भएकाे वित्तीय विवरणमा सो कम्पनी २ करोड रुपैयाँ संचित नाफामा पुगेको छ । केही कम्पनीहरुका सूचना नै अपत्यारिला र सरासर ठगी गर्ने उद्देश्यले पनि आउन थालेका छन् । जस्तो कि आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको ईपीएस १२२.७५ रुपैयाँ छ भन्ने सन्देश प्रवाह भयो । वास्तवमा सो कम्पनीको ईपीएस जम्मा ३२.७५ रुपैयाँ मात्रै छ । जलविद्युत कम्पनीहरुको हल्ला पनि रोचक छ । जस्तो कि राधी जलविद्युत कम्पनीले ३६.५ प्रतिशत बोनस सेयर दिन्छ । त्यसपछि सो कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्छ । त्यसैले राधीको सेयर किन्नुपर्छ । अरु जलविद्युत कम्पनीको सेयर मूल्य बढ्ने कारण रमाइलो नै छ । हल्ला के छ भने अब विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई ऋण तिर्न पनि हकप्रद जारी गर्न पाउने व्यवस्था गर्न लाग्यो । यस्तो व्यवस्थापछि कम्पनीहरुले हकप्रद जारी गर्छन्, अनि फाइदा हुन्छ । त्यसैले जलविद्युत कम्पनीको सेयर किन्नुपर्छ । यी केही प्रतिनिधि हल्लाहरु आफैमा हल्ला मात्रै हुन् । कुनै आधार र प्रमाणविनाका हल्लाले लगानीकर्ता ठगिने सम्भावना रहन्छ । जलविद्युत कम्पनीहरुको लागि ऋण तिर्न हकप्रद जारी गर्न पाउने भन्ने सूचना साधारण सेयरधनीको लागि खासमा अप्रिय हुनुपर्ने हो । तर, उल्टै सेयर मूल्य बढिरहेको छ । जुन, आफैमा अस्वभाविक लाग्छ ।