दोश्रो दिन पनि माउन्टेन इनर्जीको सेयर मूल्यमा सर्किट
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको दोश्रो दिन पनि माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सर्किट लागेको छ । पुस १ गते बुधबारदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको हो । पुस २ गते बिहीबार कारोबार शुरु भएको केहि समयमै कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले बढेर सर्किट लागेको हो । जुन अघिल्लो दिनकाे कारोबारको तुलनामा ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४१५ रुपैयाँ पुगेको छ । बिहीबारको बजारमा कम्पनीको शुरुवाती सेयर मूल्य प्रतिकित्ता ३७८ रुपैयाँ रहेको थियो । अघिल्लो दिन बुधबारको बजारमा पनि कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशत अर्थात ३४ रुपैयाँले बढेर सर्किट लागेको थियो । बुधबारजस्तै बिहीबारको बजारमा पनि सेयर बेच्न इच्छुक कोही छैनन् । उता खरिद अडर दिनेको भने चाप देखिएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीको ८१ हजार ८४२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । सम्बन्धित समाचार कारोबार शुरु भएको केहि मिनेटमै माउन्टेन इनर्जीको मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?
तिनाउ मिसन डेभलपमेन्ट बैंकले बोनस सेयर वितरण गर्ने, नगद लाभांश छैन
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले चुक्ता पुँजीको ६ प्रतिशतले हुने १० करोड ८७ लाख ८६ हजार ६३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त बोनस सेयर पाउने छन् । उक्त प्रस्तावित बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले घटी हो । विकास बैंकले आघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’
काठमाडौं । पछिल्ला केही सातायता अस्वभाविक रुपमा बढेको नेपाल पुनर्बीमा कम्पनीको सेयरधनीलाई राष्ट्र बैंकले ‘रेडकार्ड’ देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत गरेको संकेत अनुसार सेयरधितो कर्जामा केही परिवर्तन गरेको छ । मौद्रिक नीतिको समीक्षामा सेयरधितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने भनिएको थियो । राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा सेयरधितो कर्जा सम्बन्धमा विशेष गरेर ४ प्रकारका नयाँ व्यवस्था गरिएको छ । यी ४ नयाँ व्यवस्थामध्ये एउटा व्यवस्थाले पुनर्बीमा कम्पनीको सेयरधितोमा कर्जा नपाइने अवस्था सिर्जना भएको छ । नयाँ व्यवस्थामा बैंकले पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरु, विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितोमा पनि कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ । पछिल्ला दिनमा अस्वभाविक रुपमा मूल्य बढेर सुन्निएको आरोप लागेको पुनर्बीमा कम्पनीको सेयर हुनेले नयाँ व्यवस्थाका कारण अब बैंक वित्तीय संस्थामा धितो राखेर सेयरधितो कर्जा लिन पाउने छैनन् । किनभने पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको २५० दिन पुगेको छैन । यसअघि राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु र आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरुको सेयरको धितोमा कर्जा नदिने व्यवस्था रहेको थियो ।