निरन्तर बढेको बजारमा कसरी गर्ने लगानी ? बोर्डले दियो यस्तो सुझाव

काठमाडौं । पछिल्लो समय पुँजी बजारले दिनानुदिन नयाँ नयाँ उचाई चुम्न सफल भएको छ । अहिलेको समयमा हरेक हिसावले बजारमा लगानी गर्न उपयुक्त माहोल भएसँगै लगानीकर्ताले सेयर बजारमा लगानी बढाउँदै गएपछि सेयर बजार निरन्तर उकालो लागेको हो । बजार गत एक महिना यतादेखि नै निरन्तर उकालो लागिरहेको छ । बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखिरहेको छ । दैनिक एक अर्बको कारोबार हुन पनि हम्मे हम्मे पर्ने बजारमा पछिल्लो समय अर्थात मंसिर १४ गते (आइतबार) मात्रै कूल ९ अर्ब २२ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ । र, नयाँ रेकर्ड राख्न सफल भएको छ । आइतबारको बजारमा परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड राखेका थिए । त्यस्तै, सोमबारको बजारमा पनि परिसूचकले नयाँ उचाई चुमेको छ । कारोबार शुरु हुने बित्तिकै २ हजार बिन्दु क्रस गरेको परिसूचक अन्ततः बजार बन्द हुँदा २८ अंकले बढेर १९९७ अंकमा रहेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । यससँगै नयाँ उचाईंमा पुगेको बजारमा नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सजग भई लगानी गर्न आग्रह गरेको छ । बोर्डले सोमबार एक विज्ञप्तिमार्फत दिनानुदिन बढ्दै गएको बजारमा हल्ला र अनुमानको पछाडि नलागी सजग र सुझबुझ गरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हो । यस्ताे छ बाेर्डकाे सुझाव  – लगानीकर्ताले पुँजी बजारमा केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था हेर्नुपर्छ । – ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्षका विश्लेषणका साथै ऐन नियमको पालनाको अवस्था पनि हेर्नुपर्छ । – संस्थाकाे समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरे पछि मात्रै लगानीकर्ताले लगानी सम्बन्धी निर्णय लिनुपर्ने छ । – विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठिछ संस्थाहरुको वित्तीय स्थितिको विश्लेषण गर्नुपर्छ । – संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता लगानीकर्तामा हुनुपर्छ । – लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग र सुझबुझ गरेर मात्रै बजारमा लगानी गर्नुपर्छ । साथै, बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी यी सुझावलाई अपनाएर मात्रै लगानी गर्न बाेर्डले लगानीकर्तालाई अनुराेध गरेकाे हाे । यसकारण बढ्यो लगानीकर्ताको सहभागिता नेप्सेका अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार रहेको छ । जुन कुल जनासंख्याको करिब ७.२५ प्रतिशत रहेको बोर्डले जनाएको छ । सम्बन्धित समाचारः नेप्सेमा उछाल कायमै, आज पनि रच्यो नयाँ रेकर्ड

हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने, बाेनसदर बढ्याे

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । बैंकले प्रस्ताव गरेकाे लाभांशदर अघिल्लो आर्थिक वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र १२ प्रतिशत नगद) वितरण गरेको थियो । तर लाभांशदर कम भएपनि प्रस्तावित बाेनसदर भने अघिल्लो आवकाे तुलनामा ४ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बोनस वितरण गरेकाे बैंकले गत आवकाे नाफाबाट १४ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

युनाईटेड इदी-मर्दीकाे आईपीओ बाँडफाँडः भाग्यमानी ६ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आर बि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज आइतबार (मंसिर १४ गते) बाँडफाँड भएको छ । उक्त सेयरको बाँडफाँड आज दिउँसो ४ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा भएको हो । यससँगै बिक्री प्रबन्धक क्यापिटलका अनुसार याेग्य आवेदकमध्ये ८१ हजार २७३ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । र, बाँकी ४ लाख ५९ हजार १२९ जनाको भने हात खाली भएको छ । त्यस्तै बाँकी रहेको ६ कित्ता सेयर थप ६ जना आवेदकलाई एक एक कित्ताको दरले बाँडफाँड गरिएको छ । उक्त सेयर न्युनतम २० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन गरेका भाग्यमानी ६ जना आवेदकले पाएका छन् । उक्त आईपीओमा कूल ५ लाख ४१ हजार २६३ जना आवेदकले कम्पनीको ९४ लाख ९८ हजार ४ सय कित्ता सेयरको लागि आवदेन दिएका थिए । जसमध्ये ८६१ जनाको आवेदन रद्द भएको थियो । उक्त याेग्य आवदेन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ११.६९ गुणा बढी हो । कम्पनीले गत मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरेकाे छ ।