खुल्दै एनसीसी बैंकको पर्दाभित्रको ‘होमवर्क’, नबिलसँग मर्ज भए कति हाेला स्वाप रेसियो ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको मर्जरका लागि भएको पर्दाभित्रको ‘होमवर्क’ खुल्ला हुने चरणमा पुगेको छ । बैंकको २३औं वार्षिक साधारणसभा भोलि (माघ ९ गते) हुने भएकोले सो साधारणसभामा पर्दा खुल्ने अपेक्षा सेयरधनीले गरेका छन् । एनसीसी बैंक संचालक समिति स्रोतले पनि मर्जर तथा एक्वीजीसनका लागि अहिलेसम्म भएको आन्तरिक गृहकार्य चाढै सार्वजनिक हुने र परिणामुखी हुने दाबी गर्यो । ‘बैंकको २३औं वार्षिक साधारणसभा भोलि हुँदैछ, कुन बैंकसँग मर्ज गर्ने भन्ने लामो समयको कौतुहल सम्भवतः भोलि नै मेटिन्छ होला,’ बैंक संचालक समिति स्रोतले विकासन्युजसँग भन्यो । स्रोतहरुले भने एनसीसी र नबिल बैंक मर्ज हुने सम्भावना अधिक रहेको दाबी गरेका छन् । नबिल बैंकले वार्षिक साधारणसभाले उपयुक्त बैंक वित्तीय संस्थासँग मर्जरमा जानको लागि गर्नुपर्ने आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गरिसकेको छ । यस्तै, एनसीसी बैंकको वार्षिक साधारणसभाबाट पनि सोही प्रकारको निर्णय हुँदैछ । यद्यपि, यस्तो निर्णय अहिले प्रायः सबै बैंक वित्तीय संस्थाले आफ्नो साधारणसभाबाट गर्ने गराउने गरेका छन् । एनसीसी र नबिल दुबै बैंक संचालक समिति स्रोतहरुले भने यी दुई बैंक एकापसमा मर्ज हुने सम्भावना अधिक रहेको दाबी गरेका छन् । अहिलेसम्म दुबै बैंकले गोप्य रुपमा विभिन्न चरणमा छलफल गरिसकेको स्रोतहरुको दाबी छ । एनसीसी बैंक स्रोतले भने हिजो (माघ ७ गते) नबिल बैंक र एनसीसी बैंकबीचको स्वाप रेसियो पनि तय भएको दाबी गर्यो । ‘नबिलसँग मर्जरमा जादा स्वाप रेसियो कति हुने भन्ने पनि तय भइसकेको छ, बाँकी कुरा छिट्टै सार्वजनिक हुँदैछ,’ एनसीसी बैंक स्रोतले भन्यो । केही समयअघिसम्म नविल बैंकले एनसीसीलाई ३० स्वाप रेसियोमा मर्ज हुन प्रस्ताव गरेको बताइएको छ । तर, एनसीसी बैंकले भने ४० प्रतिशत स्वाप रेसियो हुनुपर्ने माग गरेको स्रोतको दाबी छ । अहिले एनसीसी र नबिलबीचमा स्वाप रेसियोमा कुरा मिलेको बताइए पनि कति रुपैयाँमा कुरा मिल्यो भन्ने स्रोतहरुले खुलाएनन् । नबिल बैंकले मर्जरको लागि एनसीसी बैंक नै छनोट गर्नुका पछि खास कारण रहेको स्रोतको दाबी छ । अहिले नबिल बैंकलाई एनआइसी एसिया बैंकले जितिसकेको छ । यस्तै, ग्लोबल आईएमई बैंकले पनि आफूलाई पछि पार्ने डर नबिलको छ । यी दुबै बैंकले शाखा सञ्जालको फाइदाले गर्दा आफूलाई अघि बढाउन सके भन्ने विश्लेषण नबिल बैंकको छ । ग्लोबल आईएमई बैंकको काठमाडौं उपत्यकामा ५९ र उपत्यका बाहिर २०५ गरी २ सय ६४ शाखा छन् । यस्तै, एनआईसी एसिया बैंकको ३३३ वटा शाखा कार्यालय छन् । नबिल बैंकको शाखा संख्या ११९ छ भने एनसीसी बैंकको शाखा संख्या १२७ छ । नबिल आफैले शाखा खोलेर यी दुई बैंकको हाराहारीमा पुग्न समय लाग्ने विश्लेषण गर्दै उसले एनसीसीलाई आखाँ लगाएको स्रोतको दाबी छ । यस्तै, एनसीसी बैंकसँग भएको अचल सम्पत्ति पनि नबिलको लागि अर्काे आकर्षण देखिएको छ । अहिले दोस्रो बजारमा नबिल बैंकको सेयर प्रतिकित्ता ११ सय १० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ भने एनसीसी बैंकको सेयर प्रतिकित्ता ३ सय ३० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । आज नबिल बैंकको सेयर प्रतिकित्ता १४ रुपैयाँले घटेको छ भने एनसीसी बैंकको प्रतिकित्ता २ रुपैयाँले बढेको छ ।
ग्रीनलाइफ हाइड्रोले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले १९.४२ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मात्रै यस संस्थालाई अंकित मूल्य १०० को ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
चन्द्रागिरी हिल्सकाे आईपीओ शुक्रबार बाँडफाँड हुँदै, कहाँ र कति बजे ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) माघ ९ गते शुक्रबार(भाेलि) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयरको बाँडफाँड शुक्रबार बिहान १० बजे काठमाडाैंकाे नक्सालस्थित रहेकाे आफ्नै केन्द्रिय कार्यालयमा गर्न लागेकाे हाे । क्यापिटलले आईपीओको प्रिअलोटमेन्ट भने हिजाे बुधबार नै गरिसकेको छ । जसअनुसार कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि दिएकाे आवेदन रितपूर्वक रहेका छन् भने बाँकी ४० हजार बढी आवेदन रद्द भएका छन् । पुस २८ गतेसम्म निष्काशन भएकाे कम्पनीकाे आईपीओमा कुल १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग गरेका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो । याे पनि पढ्नुहाेस् चन्द्रागिरीको आईपीओ भर्नेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट, कहिलेसम्म पाइन्छ ?