ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर पारित, सञ्चालक समितिमा ५ जना निर्वाचित

काठमाडाैं । ज्योति विकास बैंकको प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित भएकाे छ । माघ १४ गते सम्पन्न बैंककाे १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेकाे हाे । सभाले पारित गरेसँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षकाे नाफाबाट चुक्ता पुँजीकाे १० प्रतिशत बाेनस सेयर पाउने भएका छन् । यससँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रूपैयाँ नाघेकाे छ । सभाले बैंकको आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन पारित गरेकाे छ । साथै, साधारण सभाले ज्योति विकास बैंककाे सञ्चालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेकाे छ । बैंकले संस्थापक सेयरधनी समुहको तर्फबाट हरिप्रसाद,  हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ। बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । बैंककाे सभा बुधवार भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ४६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब ३७ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति ?

काठमाडौं । नेप्सेमा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै सिटिजन्स बैंक, फर्ष्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ्ग कर्पोरेसन गरी तीनको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये सिटिजन्स बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको ७२ लाख ७१ हजार ८५३ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोेनस सेयर सूचीकृत भएको छ । संस्थाको ७ लाख ६० हजार ७०४ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । त्यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको २५ प्रतिशत अर्थात ३ लाख ८४ हजार ४८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै, यी तीनवटै कम्पनीको सो मात्राको बोनस सेयर केही दिनमै सेयरधनीको खातामा जानेछ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

महिला लघुवित्तले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले माघ ८ गते मात्रै संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको सेयर निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।