दुई दिनमै १५ लाखले भरे सानिमा लाइफको आईपीओ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोश्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार साउन २१ गते अपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जनाले २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ । सम्बन्धित समाचार आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने

नेप्सेको सम्पूर्ण प्रणाली अब दुई दिन नचल्ने, यस्तो छ कारण

काठमाडौं । पुँजीबजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाइट अब दुई दिन नचल्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले साउन २२ गते (शुक्रबार) र साउन २३ गते (शनिबार) दुई दिन नेप्सेको सबै प्रणाली पूर्ण रुपमा नचल्ने जानकारी गराएको हो । नेप्सेले डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि उक्त २ दिनका लागि साइट बन्द गर्न लागेको हो । साथै, नेप्सेले यथाशिघ्र छिटो मर्मत तथा स्तरोन्नति काम सकेर सञ्चालनमा ल्याउने समेत जनाएको छ ।

जीवन विकाससहित चार कम्पनीको सेयर मूल्यमा सर्किट, अपरको उच्च कारोबार

काठमाडौं । बिहीबारको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोहोरो अंकको करेक्सन देखिएको बजारमा पनि जीवन विकाससहित ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । सो दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये फाइनान्स समूहको नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२०.५० रुपैयाँ पुगेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेर प्रतिकित्ता ४४७.७० र १५०६.२० रुपैयाँ पुगेको छ । त्यसैगरी, यूनियन लाइफको सेयर मूल्य भने ९.९८ प्रतिशतले बढेर ४८२.७० रुपैयाँ पुगेको छ । बजारमा कूल २२६ कम्पनीको १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३२ करोड रुपैयाँले घटी हो । अघिल्लो दिनको बजारमा कूल १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा सामान्य ०.८० रुपैयाँले बढेर प्रतिकित्ता ७६२ रुपैयाँ पुगेको छ । समग्रमा बिहीबारको बजार दोहोरो अंकले ओरालो लागेको छ । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १६ बिन्दुले घटेर ३१०७.४५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले घटी हो । सो दिन विकास बैंक बाहेक सबै समूह राताम्मे देखिएका छन् । विकास बैंक समूह भने ११० अंकले बढेर ५०२२ बिन्दुमा पुगेको छ । राताम्मे हुनेमा हाइड्रोपावर समूह सबैभन्दा बढी अर्थात ७६.३९ बिन्दुले घटेको छ ।