शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा वृद्धि, प्रतिसेयर नेटवर्थ २६७ रूपैयाँ बढी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत पुस मसान्तसम्ममा ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवको खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको हो । खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफामा पनि सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा २४ करोड १४ लाख रुपैयाँ कमाएको छ । १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा जगेडा कोष र बीमा कोषमा रकम बढेर क्रमशः ९४ करोड ७ लाख रुपैयाँ र १ अर्ब १७ करोड रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३५.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६७.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.४७ गुणा रहेको छ । समिक्षा अवधिमा कम्पनीले १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी २ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले ९ हजार ५५१ दाबीबापत १ अर्ब ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ६०४ दाबी बापत १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २६७९ रुपैयाँमा कारोबार भएको छ ।

महिला लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आज माघ ३० गतेदेखि भर्न पाइने भएको छ । माघ २८ गतेदेखि जारी गर्ने भनिएको उक्त सेयर दुईदिन पछि अर्थात आजदेखि निष्काशन तथा बिक्री खुला हुन लागेको हो । गत माघ ८ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ क्रेडिट रेटिङ्ग पाएको छ । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेकाे छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

मितेरी लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा मितेरी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज (माघ २९ गते) संस्थाको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ५६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।