मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण सेयर निष्काशन गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने छ । यससँगै, सर्वसाधारणले साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ भर्न सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

भोलि बुधबार सेयर बजार बन्द

काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद-उल-अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । उक्त निर्णय साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार साउन ७ गते बिहीबार मात्रै नियमित खुल्ने छ । मंगलबारको बजारमा उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ९ अंकले घटेर २९८५ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब बढीको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मध्य भोटेकाशीको आईपीओ अपडेटः एकैदिन ७० लाख रुपैयाँको आवेदन

काठमाडौं । आजदेखि पुनः निष्काशन खुला भएको मध्य भोटेकाशी जलविद्युत कम्पनीको आईपीओमा ७० लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार पुनः निष्काशन गरेको पहिलो दिनमा सो मात्राको आवेदन परेको हो । दिनभरमा कूल २८१ जना आवेदकले ७० हजार २६० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जसमध्ये २१८ जनाले आश्वाबाट आवेदन दिएका छन् भने बाँकी ६३ जनाले भौतिक रुपमा उपस्थित भएर तथा ईसेवा र अनलाइन माध्यमबाट आवेदन दिएका क्यापिटलले जानकारी गराएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला भएको हो । कम्पनीले गत बैशाख २१ गतेदेखि स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । बैशाख २३ गतेसम्म बिक्री भई बाँकी रहेको सेयर कम्पनीले आजबाट बिक्री खुला भएकाे छ । स्थगित मध्य भोटेकोशीको आईपीओ पुनः आजदेखि खुल्यो यससँगै कम्पनीले छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म उक्त सेयरको बिक्री खुला गर्ने छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । साथै, यसअघि आवेदन दिईसकेका आवेदकले भने पुनः आवेदन दिन नपाउने कम्पनीले जानकारी गराएको छ । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ ।