नेप्सेमा साढे १५ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेबलमा बढ्यो

काठमाडौं । आज पुँजी बजारमा ९ कम्पनीको मुल्य सर्किट लेबलमा बढेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युिनयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एनआरएन इन्फ्रास्टक्चर, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद विक्री भए । सबैभन्दा बढी रकम बराबरको कारोबार हुने ५ कम्पनीमा अपर तामाकोशी, अरुणभ्याली, अरुण काबेली, अपि र आइसीएफसी फाइनान्स कम्पनी रहे । अपर तामाकोशीको ६८ करोड ३० लाख, अरुणभ्यालीको ५७ करोड ३७ लाख, अरुण काबेलीको ५६ करोड १२ लाख,अपिको ५३ करोड १७ लाख र आईसीएफसी फाइनान्स कम्पनीको ५१ करोड ५१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ । आज नेप्से ०.९४ अंकले बढेर ३१६२.४१ विन्दुमा पुगेको छ । आजको बजारमा पनि जलविद्युत समुहमा उछाल आएको छ भने होटल तथा टुरिजम समुहमा पनि राम्रै उत्साह देखिएको छ । नेप्सेका अनुसार होटल तथा टुरिजम १०२.९१, जलविद्युत १४४.७९ र निर्जीवन बीमा समुह ४३.८ ले बढे । यस्तै, माइक्रोफाइनान्स समुहको उपसुचक ७.९९ अंकले र जीवन बीमा समुहको उपसुचक १०.०५ अंकले बढेका छन् । अरु समुहका उपसुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह १४.१७, ट्रेडिङ समुह ४९.६५, विकास बैंक ४१.१२, फाइनान्स कम्पनी समुहको उपसुचक १९.६६ अंकले घटे । म्यानुफ्याक्चरिङ प्रोडक्सन समुह ३.८४, अन्य समुह १२.४३, म्युचुअल फण्ड ०.११ र इन्भेष्टमेन्ट समुहको उपसुचक १.०३ अंकले घटेका छन् । आजको बजारमा जेविल्स फाइनान्सका लगानीकर्ताले ४.१७ प्रतिशत, एचआईडीसीएलका लगानीकर्ताले ३.३९ प्रतिशत, गोर्खाज फाइनान्स र बेष्ट फाइनान्सका लगानीकर्ताले ३.१६ प्रतिशत तथा एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.१३ प्रतिशतले गुमाए । आजको कारोबार समयभित्र ७४ कम्पनीको सेयरमूल्य बढ्यो भने १०५ कम्पनीको सेयर मूल्य घट्यो । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

मानुषी लघुवित्तको आईपिओ बिक्रि खुला

काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले आज (साउन २७ गते बुधबार)देखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेकाे छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेकाे हाे । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न संस्थाले जनाएको छ । यससँगै इच्छुकले छिटोमा साउन ३१ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्मा माग बमोजिम बिक्री नभएमा भदौ ९ गतेसम्म सेयर निष्काशन बिक्री खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जानकारी गराएको छ । हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ ।

‘ब्रोकरहरुले मनलाग्दी गरे, बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिनु पर्यो’

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सीमित ब्रोकरहरुले मनलाग्दी काम गरेको आरोप लागेको छ । मंगलबार बोलाइएको बैठकमा सासंद पार्वता डिसी चौधरीले हाल ब्रोकरहरुले मनलाग्दी किसिमले काम गरेको बताउँदै बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिनु पर्ने बताएकी हुन् । ‘पछिल्लो समय सेयर बजारमा आम युवा तथा साधारण व्यक्तिको आकर्षण बढेको छ, केही ब्रोकरहरुले आफु निकटकाहरुको डिम्याट खाता खोेलेर सेयर कारोबार गरिरहेका छन्, जसको कारण सर्वसाधारणले सेवाबाट बञ्चित हुनु परेको छ, सेवा सहज रुपमा पाउनको लागि बैंकहरुलाई पनि ब्रोकर लाइसेनस दिनु पर्छ,’ उनले भनिन् । उनको जवाफ दिँदै अर्थमन्त्री जनार्दशन शर्माले सरकारले पूँजी बजारलाई पारदर्शीर प्रविधिमैत्री बनाउन विशेष काम गरिरहेको बताए । ‘मैले श्वेतपत्रमा पनि सेयर बजारको बारेमा उल्लेख गरेको छु, सेयर बजारमा साना लगानीकर्ताको आकर्षण बढाउनु पर्ने र सेयर बजार पारदर्शी बनाउनु पर्ने बारे हामी सजक र सर्तक छौं,’ उनले भने ।