तेह्रथुम पावरकाे आईपीओ भदौ ९ देखि खुल्ने

काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेकाे हो । कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारी, ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरु र ७ लाख ४४ हजार कित्ता सर्वसाधारणकाे लागि छुट्याएकाे छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।  

छोरीको सेयर कारोबारमा मलाई मुछ्न मिल्दैनः अध्यक्ष ढुंगाना

काठमाडौं । अध्यक्ष भिष्मराज ढुंगानाले छोरीमार्फत् गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेको छ । आईतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको सो सेयर कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टिकरण दिएका हुन् । बैठकमा समितिका सदस्यहरुले परिवारका सदस्यहरुलाई सेयर कारोबारमा संलग्न गराएर सेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए । बोर्डको तर्फबाट त्यसको जवाफ दिने क्रममा उप कार्यकारी निर्देशक अधिकारीले विवाहित छोरी परिवारमा भित्र पर्ने व्यवस्था धितोपत्र सम्बन्धि कुनै पनि ऐनमा व्यवस्था नभएकाले अध्यक्ष ढुंगानालाई सो विषयमा विवादमा तान्न नमिल्ने तर्क गरे । ‘धितोपत्र सम्बन्धि ऐनमा परिवार भन्नाले विवाहित छोरी नपर्ने स्पष्ट उल्लेख गरिएको छ, र विवाहित छोरीले सेयर खरिद बिक्री गर्ने निजी अधिकार भएकाले त्यसमा उनको बुबाको संलग्नता नहुने स्पष्ट देखिएको छ, हामीले अर्थ मन्त्रालयलाई पनि सोही प्रावधान खुलाएर स्पष्टिकरण दिएका छौं,’ उनले भने । सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुन विपरित छोरीको नाममा १० हजार कित्ता सेयर जारीको अनुमति पाउनु भन्दा करिव ३ साता अघि खरिद गरेको आरोप लागेको थियो । सोही विषयमा अर्थ समितिले बोर्डका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको हो । बैठकमा बोल्दै समितिका सभापति कृष्णप्रसाद दाहालले परिवारका सदस्यहरुलाई पूँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैले गरेको भन्दै आपत्ति जनाएका थिए । उनले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो ? भनि बोर्डका सदस्यहरुलाई प्रश्न पनि गरे । यता, बोर्ड अध्यक्ष ढुंगानाले भने विवादित छोरीको सेयर कारोबारलाई बन्देज लगाउन मिल्ने कानुनी प्रबन्ध नभएको जवाफ दिए । उनले विवाहित छोरी परिवारका सदस्य नरहने धितोपत्र सम्बन्धि ऐनमा स्पष्ट व्यवस्था भएकाले छोरीको सेयर कारोबारमा आफूलाई मुछ्न नमिल्ने तर्क समेत गरे । समितिका सदस्यहरुले परिवारलाई सेयर बाँडफाँड गरेर गलत काम नगर्न बोर्डका पदाधिकारीहरुलाई सचेत गराएका थिए ।

ङादी ग्रुपका सेयरधनीलाई बोनसपछि हकप्रद पनि, चुक्ता पुँजी २ अर्ब नाघ्ने

काठमाडौं । ङादी ग्रुप पावरले सेयरधनीले बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । साउन ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कामय चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, संस्थाले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । संस्थाको उक्त प्रस्तावलाई संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले बोनस र हकप्रद सेयर पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ५८ करोड ९१ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ पुग्ने छ । त्यसमा पनि २०० प्रतिशत हकप्रद सेयरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ ।