ज्योति लाईफको आईपीओ अपडेटः साढे ११ लाख बढीले भरे सेयर
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा साढे ११ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार (फागुन २३ गते) सााँझ ५ बजेसम्म ११ लाख ५९ हजार ७०३ जनाले कम्पनीको २ करोड ५३ लाख ४६ हजार ४१० कित्ताको लागि आवेदन दिइसकेका छन् । कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २१ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।
दोश्रो बजारमा चन्द्रागिरीको यात्राः ४१३ प्रतिशतले बढ्यो सेयर मूल्य, बजार पुँजीकरण १० अर्बमाथि
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड दोश्रो बजारमा प्रवेश गरेको एक महिना पुरा भएको छ । यो अवधिमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ । स्थानिय तथा सर्वसाधारणलाई सेयर निष्काशन गरि बाँडफाँड पश्चात कम्पनी गत माघ २३ गते दोश्रो बजारमा प्रवेश गरेको हो । बजारमा प्रवेश गरेकाे पहिलो दिन अर्थात पहिलाे कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । जुन नेप्सेले तोकेको अधिकतम रेञ्ज भन्दा १२९ रुपैयाँ कम हो । नेप्सेले कम्पनीलाई न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको थियो । अधिकांश लगानीकर्ताले कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९० रुपैयाँबाट शुरु हुन्छ भन्ने अनुमान लगाएका थिए । तर, बजारमा लगानीकर्ताको अनुमान विपरित भइदियो । र, कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँदेखि कारोबार शुरु भयो । सोहि दिन अन्तिम कारोबारसम्ममा कम्पनीको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुग्यो । त्यसपछिको बजारमा कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै गइरहेको छ । समग्र सेयर बजार घटोस् या बढोस् कम्पनीको सेयर मूल्य भने निरन्तर रुपमा बढ्दै गएको छ । उच्च उतारचढाव देखिएको बजारमा पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । आज (फागुन २३ गते) पनि समग्र सेयर बजार २१.५८ घटेको छ । तर कम्पनीको सेयर मूल्य भने बढेर सर्किट लेभलमा कारोबार भएको छ । आइतबार प्रतिकित्ता ६०५ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन शुरुवाती मूल्यभन्दा ४१३.०४ प्रतिशतले बढी हो । किन बढ्दै छ कम्पनीको सेयर मूल्य ? कम्पनीको सेयर मूल्य लगानीकर्ताले अनुमान लगाएको रेञ्जसम्म नपुगेकोले त्यसको मूल्य निरन्तर बढीरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ‘कुनै पनि कम्पनीको आईपीओको दोश्रो बजारमा कारोबार भएपछि सेयर मूल्य यति पुगेपछि प्रफिट बुक गर्छु भन्ने लगानीकर्ताको सोचाईं हुन्छ । र, उक्त लेभलमा पुगेपछि उनीहरु बेच्न शुरु गर्छन् । यता चन्द्रागिरीको केसमा लगानीकर्ताले एक्स्पेक्ट गरेको अनुसार सेयर मूल्य पुग्नै बाँकी छ । त्यसैले जस जसलाई चन्द्रागिरीको आईपीओ परेको छ, उनीहरुले अहिले बेच्न चाहेका छैनन् । र, मूल्य निरन्तर बढीरहेको छ’, अध्यक्ष रौनियारले विकासन्युजसँग भने । त्यस्तै, बजार पुँजीकरण १० अर्ब २० करोड रुपैयाँ नाघेको छ । नेप्सेमा कम्पनीको एक करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । दाेश्राे बजारमा कम्पनीकाे ‘हाेटल्स एण्ड पर्यटन’ समूह अन्तर्गत काराेबार भइरहेकाे छ । आइतबार उक्त समूह ५०.१५ अंकले बढेर २२८४.८३ बिन्दुमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा २.२४ प्रतिशतले बढेकाे छ । यस्ता छन् कम्पनीको योजना कम्पनीले लगानीकर्तालाई लक्षित गरेर केवुलकारमा २५ प्रतिशतसम्म छुट दिइरहेको छ । कम्पनीले हालै निष्काशन गरेको आईपीओमा आवेदन दिने (आईपीओ परेका नपरेका) सबै आवेदकलाई लक्षित गरि माघ ५ गतेदेखि उक्त योजना सार्वजनिक गरी सञ्चालनमा ल्याएको हो । र, यो योजना एक वर्षसम्म अर्थात २०७८ माघ ५ गतेसम्म लागू हुनेछ । हाल सञ्चालन भइरहेको यो योजनामा लगानीकर्ताको आकर्षण बढ्दै गएको चन्द्रागिरीका महाप्रबन्धक अभिषेक सिंह बताउँछन् । ‘यो योजना अन्तर्गत दिनमा ५० देखि १०० जनाले चन्द्रागिरीको अवलोकन गर्न आउनुहुन्छ । शनिबार भने अलि बढी अर्थात २ सयदेखि ३ सय जना अवलोकन गर्ने गरेका छन् ।’ त्यस्तै, कम्पनीको मूख्य लक्ष्य भनेको आन्तरिक पर्यटकलाई बढाउनु रहेको सिंह बताउँछन् । पहिलाको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनको भनाई छ । ‘पहिला शनिबारको दिन एक हजारदेखि १२ सयले अवलोकन गर्नुहुन्थ्यो भने अहिले ३/४ हजारले गर्नुहुन्छ । यसलाई अझै बढाउने लक्ष्य रहेको छ’, सिंहले भने । साथै, कम्पनीले आउँदै गरेको शिवरात्रीलाई लक्षित गरेर नयाँ स्किम ल्याउने तयारी गरिरहेको महाप्रबन्धक सिंह बताउँछन् । परियोजनाको रिसोर्ट/होटल पूर्ण रुपमा संचालन भईसकेको छ । त्यसको औपचारिक उद्घाटन/शुभारम्भ २०७८ वैशाख मसान्त सम्ममा गर्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसको लागि कम्पनीले परियोजना सम्पन्न गर्न आफ्नो काम कारवाहीलाई तीव्र रुपमा अगाडि बढाई रहेको छ । सहायक कम्पनीहरुको हकमा मल्टी पोखरा डेभलपमेन्ट प्रा.लि. को नाममा रहेको जग्गामा चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन संरचना बनाउन उपभोग गरिएको र भावी दिनमा उक्त कम्पनीलाई चन्द्रागिरी हिल्स लिमिटेडमा नै गाभ्ने रणनीति लिएको छ । चन्द्रागिरी हिल्स प्याराग्लाईडिङ्ग लि.को हकमा निकट भविश्यमा नै कम्पनीको उद्देश्य अनुरुप प्याराग्लाईडिङ्गको सम्भाब्यता अध्ययन गरी सेवा सञ्चालन गर्ने रणनीति रहेको छ ।
डिप्रोक्स लघुवित्तले साधारण सभामा जाँदै, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था आगामी चैत २० गते वार्षिक साधारणसभामा जाँदै छ । संस्थाको १९औं सभा सो दिन चितवनको सौराहास्थित होटल मोनालिसामा हुने भएको हो । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत १० गतेदेखि चैत २० गतेसम्म बुक क्लोज हुने भएको छ । सभाले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(करसहित) गरि २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।