के पुँजी बजारले बियरिस ट्रेण्ड समातेकै हो ? यसो भन्छन् लगानीकर्ता

काठमाडौं । गत बिहीबारदेखि बन्द भएको सेयर बजार एकैपटक मंगलबार खुल्यो । तर लगातार चारदिन बन्द भएर खुलेको बजारमा पनि चार्म देखिएन । लगानीकर्ता उत्साहित देखिएनन् । मंगलबारको बजार एकाएक ५५.८९ अंकले घट्यो । मंगलबार मात्रै होइन बुधबारको बजार पनि ४८.४२ बिन्दुले घटेको छ । योसँगै दुई दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक १०४.३१ बिन्दुले घटिसकेको छ । गत बिहीबार ३१८०.९० बिन्दुमा रहेको परिसूचक दुई दिनमै ३०७६.४५ बिन्दुमा झरेको छ । परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । बिहीबार २० अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा मंगलबार १६ अर्ब १२ करोड रुपैयाँ मात्रै कारोबार भएको छ । त्यस्तै, बुधबारको बजारमा झन् सेयर कारोबार रकम १२ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यससँगै दुई दिनकै बजारमा कारोबार रकम ८ अर्ब ४० करोड रुपैयाँले घटेको छ । यससँगै यो साताको सेयर कारोबारको ट्रेण्ड हेर्दा बजार निरन्तर रुपमा घटीरहेको छ । दिनमा उतारचढाव हुँदै घटबढ हुने बजार यो दुई दिनको कारोबारमा भने परिसूचक एकनास रुपमा घटीरहेको देखिन्छ । यससँगै, केही लगानीकर्ताहरु भने बजार बियरिसतर्फ मोडिएको अनुमान गरिरहेका छन् । तर पुँजीबजार लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधिहरु भने बजारले अहिल्यै बियरिसको बाटो नसमात्ने बताउँछन् । यसो भन्छन् उनीहरु बजार अहिल्यै बियरिसतर्फ लागेको भन्न मिल्दैनः छोटेलाल रौनियार निरन्तर रुपमा बढेको मार्केट एक दुई दिन घट्दैमा बियरिस लाग्छ भन्न मिल्दैन, बजारमा अलि अलि करेक्सन भएको पक्कै हो । राष्ट्र बैंकले सेयर धितोमा मार्जिन कर्जामा ४ करोड र १२ करोडको सिन्डिकेट तोकेसँगै लगानीकर्ता डराएका हुन् । तर सबै डराएका छैनन् त्यस्ता लगानीकर्ता जसले बढी लोन लिएका थिए तिनीहरु मात्रै डराएका हुन् । यो भन्दैमा समग्र मार्केट नै ओरालो लाग्छ भन्ने होइन । अहिलेको मार्केट पहिलाको जस्तो होइन, पहिला धेरै कम लगानीकर्ता थिए, त्यसमाथि पनि अनलाइनबाट कारोबार गर्ने कम थिए, अहिले ९९ प्रतिशतबढी कारोबार अनलाइनबाटै भइरहेका छन्, देश विशेदबाट कारोबार भइरहेको छ, त्यसैले बजार पहिलेको जस्तो हुँदैन, बजार बढेपछि घट्छ, घटेपछि बढ्छ नै । अहिले केही नयाँ व्यवस्था आयो, त्यसैले बजारमा करेक्सन भएको हो । भोली आफ्नो बाटो लिइहाल्छ । त्यसैले बजारमा डराउनु पर्ने, मार्केट नै क्रयास हुने केही छैन । घट्नु बढ्नु स्वभाविक हो । हामीले राम्रो तथा बलियो स्क्रिप्टहरु, बोनस, लाभांश लगायत हकप्रद दिने खालका स्क्रिप्टहरुमा ढुक्क भएर लगानी गर्दा हुन्छ । पछिल्लो समय चार्म बढी भएको हाइड्रो घटेपछि इन्डेक्स पनि घट्योः संरक्षणा चौधरी बजारमा बियरिस लागेको होइन । लगानीकर्ताले प्रफिट बुक गरे । र, पछिल्लो समय राष्ट्र बैंकले मार्जिन कर्जामा गरेको नयाँ व्यवस्थाले अलिकति असर गरेको हो । नेप्से घटेपनि बजारमा कारोबार भएको छैन । यसले लगानीकर्ताले होल्ड गरिरहेका छन्, किनबेच गर्न इच्छुक छैनन् भन्ने बुझिन्छ । धेरै समयदेखियता बजारमा हाइड्रोले नै लिड गरिरहेको छ । बीचबीचमा केही करेक्सन आउँदै बढीरहेको छ । बुल मार्केटमा हाइड्रोको चार्म बढी भयो । अहिले हाइड्रो घटेपछि इन्डेक्स पनि घटिदियो । तर, ढिलोचाँडो मार्केट लयमा आउँछ । राष्ट्र बैंकले बजाएको बेमौसमी बाजाको असर: राधा पोखरेल राष्ट्र बैंकले जारी गरेको सर्कुलरकै असर बजारमा परेको हो । लगानीकर्तालाई हात खुट्टा बाधेर पोखरीमा पाैडी खेल भनेर लगाइदिए पछि त गाह्रो पर्छ । बजार थाम्ने भनेको ठूला लगानीकर्ताले नै हो । सेन्टिमेन्टले नै बजारलाई असर गर्छ । राष्ट्र बैंकले बेमौसमी बाजा बजाइरहेको छ । भन्नत उनीहरुले हामीले लिने नीतिले सेयर बजारलाई कहिल्यै नराम्रो हुँदैन । राम्रो हुन्छ भनिरहेका हुन्छन् । तर, उनीहरुले क्षणिक समयमै लिने परिवर्तित नीतिले लगानीकर्तालाई अफ्ठ्यारो पारिरहेको छ । लगानीकर्ताले एउटा नीति अनुसार आज लगानी गरेका हुन्छन् । तर त्यो रातारात चेञ्ज भैदिन्छ । र, उनीहरु मारमा परिरहेका हुन्छन् ।

सेयर धितो राखेर १२ करोडभन्दा बढी ऋण लिनै नपाइने हो ? एकल ग्राहकभित्र को-को पर्छन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एक जना ग्राहकले बैंक तथा वित्तीय संस्थाहरुबाट मार्जिन प्रकृतिको कर्जा १२ करोड रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गर्यो । यस्तै, एक जना ग्राहकले एउटै बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाइने व्यवस्था पनि गरियो । मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले निर्देशन पनि जारी गरिसकेको छ । अर्थात मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार कुनै एक जनाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाइने भएको छ । यसअघि यस्तो व्यवस्था थिएन । नयाँ व्यवस्थाप्रति बैंकर र सेयर लगानीकर्तामा हामीले केही अस्पष्टता भएको पायौं । जस्तो कि सेयर धितो राखेर एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा नपाइने नै हो ? र, दोस्रो अस्पष्टता– एकल ग्राहक भनेको के हो ? एकै परिवारका सदस्यहरुले प्रत्येक व्यक्तिका नाममा ४ करोड र १२ करोड रुपैयाँसम्मको कर्जा लिन पाइने हो कि होइन ? यी प्रश्नको जवाफ भन्दा पहिला नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशनमा उल्लेख गरेको हेरौं । ‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (सिंगल अब्लिगर लिमिट): मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (सिंगल अब्लिगर लिमिट) एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको छ । यो निर्देशन जारी हुनु पूर्व (मिति २०७८।०५।०८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ ।’ नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा लेखिएको कुरा यही नै हो । त्यसो भए सेयर धितो राखेर ४ करोड र १२ करोडको सीमाभन्दा बढी ऋण लिनै नपाइने हो त ? कुनै व्यक्ति वा संस्थासँग ५ अर्बको सेयर छ भने उसले ४ करोड र १२ करोड रुपैयाँको सीमाभन्दा बढी कर्जा लिनै नपाइने नियम यसपाली राष्ट्र बैंकले बनाएको हो ? हामीले यो प्रश्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई सोधको छौं । ‘मार्जिन प्रकृतिको कर्जा भनेको आफूसँग भएका वा आफूले किन्न खोजेका सेयर नै धितो राखेर थप सेयर किन्नको लागि लिइने ऋण हो, यस्तो ऋण भने एउटै बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुकाट १२ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाइन्छ भनिएको हो तर, आफूसँग धेरै सेयर छ, त्यस्तो सेयर धितो राखेर तपाईं कुनै उद्यम व्यवसाय गर्न चाहनुहुन्छ भने त पाइहालिन्छ नि, त्यसमा अंकुस लागेकै छैन,’ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रष्ट्याए । उनले अझ स्पष्ट पार्ने कोसिस गर्दै भनेका थिए– तपाईंसँग भएको सेयर धितो राखेर कुनै होटल खोल्न चाहनुहुन्छ, कुनै उद्योग स्थापना गर्न खोज्नुहुन्छ, कुनै व्यापार व्यवसाय गर्न ऋण लिन चाहनुहुन्छ भने पाइन्छ, सेयर किन्ने प्रयोजनको लागि मात्रै राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा तोकेको हो । अन्य प्रयोजनको लागि लिइने कर्जाको लागि हुदैहोइन । अब दोस्रो अस्पष्टाको विषयमा हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग सोधेका छौं । प्रश्न थियो– मेरो परिवारमा ४ जना सदस्य छन् भने ४ जनाकै नाममा ४ करोड र १२ करोडको सीमासम्मको मार्जिन प्रकृतिको कर्जा लिन पाइन्छ कि पाइदैन ? ‘नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाका हकमा एकल ग्राहक सीमा (सिंगल अब्लिगर लिमिट) भनेको छ, यो भनेको तपाईंको परिवारमा ४ जना सदस्य छन् भने चारै जनाले ४ करोड र १२ करोडको मार्जिन प्रकृतिको कर्जा सुविधा उपभोग गर्न पाइन्छ भनेको होइन, तपाईंको परिवारका जुन सदस्यको नाममा भएपनि वा सबै सदस्यको नाममा एउटै बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक वित्तीय संस्थाहरुबाट १२ करोड रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा पाइन्छ,’ नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशन तथा प्रवक्ता ढकालले भने । ढकालले अझ स्पष्ट पार्ने कोसिस गर्दै भनेका थिए– तपाईंको परिवारमा ४ जना सदस्य छन् भने कुनै सदस्य (छोरा, छोरी, श्रीमती, श्रीमान् मध्ये कोही) को नाममा एउटै बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा लिन पाउनु हुन्छ, परिवारका चारै जना सदस्यको नाममा यस्तो कर्जा लिइएको छ भने पनि त्यसको सीमा ४ करोड र १२ करोड रुपैयाँसम्मको मात्रै हो ।

तेह्रथुम पावरको आईपीओ आजदेखि भर्न पाइने

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज बुधबार भदौ ९ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले आजदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेसँगै सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन् । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको थियो । कम्पनीले उनीहरुलाई ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको थियो । यससँगै कम्पनीले भदौ ९ गतेदेखि दोस्रो चरणमा ८ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको हो । त्यस्तै, उक्त सेयरमा आवेदन दिन इच्छुकले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्ममा आवेदन दिन पाउनेछन् । यदि सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा आगामी भदौ २३ गतेसम्म बिक्री खुला गरिने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।