नेप्सेमा २ खर्ब रुपैयाँ बढीको धितोपत्र सूचीकृत, आईपीओ मात्रै ३५ अर्ब ३७ करोड

काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थप २ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को सात महिना अर्थात माघ मसान्तसम्ममा साे परिणामकाे धितोपत्र नेप्सेमा सूचीकृत भएकाे हाे । जसमध्ये १ खर्ब ५० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ), १३ अर्ब ७१ करोड बराबरको बोनस सेयर, ७ अर्ब रुपैयाँ बराबरको डिबेन्चर २ अर्ब ७१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ६५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड नेप्सेमा सूचीकृत भएका हुन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २५ अर्ब ३ करोड रूपैयाँ बराबरकाे धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । जसमध्ये १० अर्ब ९३ करोड रूपैयाँ बराबरको साधारण सेयर, १० अर्ब ६४ करोड रूपैयाँ बराबरको डिबेन्चर, १ अर्ब ९६ करोड रूपैयाँ बराबरको हकप्रद सेयर र  १ अर्ब ५० करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड रहेका छन् ।

दुई दिनमै ५० प्रतिशत बढी बिक्री भयो सनराइज ब्लूचीप फण्डको इकाई

काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचीप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । क्यापिटलले चैत १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा चैत ४ गते अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने क्यापिटलले जनाएकाे छ । सम्बन्धित समाचार ‘सनराइज ब्लूचीप फण्ड’मा लगानी गर्नेले वार्षिक २२% प्रतिफल पाउने

एनसेल, डिसहोम र प्रभु डिजिटल आईपीओ जारी गर्ने तयारीमा, कहाँ पुग्यो प्रक्रिया ?

काठमाडौं । देशका ठूला तीन कम्पनी सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका छन् । दुरसञ्चार क्षेत्रको सेवा प्रदायक कम्पनी डिश मिडिया नेटवर्क (डिसहोम), दुरसञ्चार सेवा प्रदायक कम्पनी अन्तर्गत रहेर पब्लिक कम्पनीमा गएका प्रभु डिजिटल र एनसेलले पनि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका हुन् । कम्पनी ऐन अनुसार पब्लिक कम्पनीमा गइसकेको कम्पनीहरुले सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ । डिस होमले सोही ऐन अनुसार आईपीओ जारी गर्न आवश्यक कागजात तयार पाररिसेकेको बताएको छ । डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आईपीओ जारी गर्न आवश्यक कागजातहरु नेपाल धितोपत्र बोर्ड (सेवोन) मा पठाइसकेकाे बताए । ‘हामीले केही कागजपत्रहरु सवोनमा बुझाइसकेका छौँ, केही बुझाउने तयारीमा छौं, सबै काम सकेर छिट्टै आईपीओ निष्काशन गछौँ’, उनले भने । धेरै अगाडिदेखि आईपीओ जारी गर्ने तयारी भएपनि अब भने निष्कासनको प्रक्रियामा रहेको उनको भनाई छ । उनका अनुसार विदेशी लगानीकर्तालाई सबै प्रक्रिया बुझाउँदा केही समय लागेको हो । सर्वसाधारणलाई सेयर जारी गर्न विदेशी लगानीकर्तालाई सबै प्रक्रिया बुझाएर आवश्यक कागपत्र तयार पार्ने काम सुरु भएकाे उनकाे भनाई छ । डिस होम कम्पनी २०७४ असार १८ गते पब्लिक कम्पनीमा परिणत भएसँगै लामो समयदेखि आईपीओ निश्कासन गर्ने तयारी भइरहेको भनिएपनि हालसम्म सेयर जारी गरेको थिएन । अब भने आईपीओ जारी गर्ने अन्तिम चरणमा पुगेकाे हाे । २ अर्ब रुपैयाँको चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चालक समितिमा चुक्ता पुँजीको २० प्रतिशत आइपीओ निष्काशन गर्ने प्रस्ताव यस अघि नै भइसकेको छ । जसअनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन सक्नेछ । कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । यस्तै, दुरसञ्चार सेवा प्रदायक कम्पनी अन्तर्गत रहेर पब्लिक कम्पनीमा गएका प्रभु डिजिटल र एनसेलले सर्वसाधारणलाई आइपीओ जारी गर्ने तयारी गरेका छन् । प्रभु डिजिटल र एनसेलका अधिकारीहरु आइपीओ जारी गर्न आवश्यक तयारीमा लागेको भन्दै छिट्टै जारी गर्ने बताउँछन् । प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालिले पब्लिक कम्पनीको स्वीकृती पाएसँगै यो पनि आईपीओ जारी गर्ने तयारीमै छ । दूरसञ्चार प्राधिकरणले गत असोजमा प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको थियो प्रभु ग्रुप अन्तर्गतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आइपिटिभी र ओटिटी सेवा समेत संचालन गरिरहेको छ । हालसम्म कतिको सेयर निष्काशन गर्ने भन्ने बारे भने कम्पनीले खुलाएको छैन । यस्तै, १० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडि बढाएको छ । एनसेलले हाल सेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहेको बताएको छ । यद्यपी कम्पनीले कति सेयर निष्काशन गर्ने हो भन्ने बारे हालसम्म खुलाएकाे छैन ।