आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरविवि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । हालै जारी भई बाँडफाँड भएको १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैयाँ बराबरको उक्त फण्ड भदौ ११ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड भदौ १३ गते आइतबारदेखि किनबेच गर्न पाइने छ । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको ।

मेगा म्युचुअल फण्ड-१ मा ऐतिहासिक रेकर्ड, पर्यो हालसम्मकै बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड-१’ मा माग गरेभन्दा २.३७ गुणा बढी आवेदन परेको छ । निष्काशन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँ बराबरको आवेदन परेको हो । सो अवधिसम्म कूल १ लाख ६३ हजार ६४६ जना आवेदकले उक्त रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन परेको क्यापिटलले जनाएको छ । फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित राखेको हो । र, बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको थियो । मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ६० प्रतिशत र साधारण सेयरको स्वामित्व ४० प्रतिशत रहेको थियो ।