सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । सिबिआईएल क्यापिटलले सञ्चालनमा ल्याएको दुई फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको क्यापिटलले ‘सिटिजन्स म्युचुअल फण्ड १’ र ‘सिटिजन्स म्युचुअल फण्ड २’ नामक योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ योजनाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट योजनाका ईकाईधनीलाई कर समेत ४० प्रतिशत अर्थात ३२ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड २को नाफाबाट पनि इकाईधनीलाई ४० प्रतिशत (कर सहित) अर्थात २२ करोड ४९ लाख रुपैयाँ बराबरको प्रतिफल दिने प्रस्ताव गरेको छ । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई क्यापिटलको सभाले पारित गरेपश्चात मात्रै सम्बन्धित योजनाका इकाईधनीले सो मात्राको प्रतिफल पाउने छन् ।
रुरु जलविद्युतले एकैपटक घोषणा गर्यो दुई वर्षको लाभांश, बोनस र नगद कति ?
काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकैपटक आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश घोषणा गरेको हो । जसमध्ये कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले दुई वर्षको साधारण सभा पनि एकैपटक आव्हान गर्ने छ ।
श्वेत–गंगा हाइड्रोपावरले ४७ लाख कित्ता आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले ४७ लाख ७९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठ र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेबीच सेयर निष्कासन गर्ने सम्बन्धनमा दुई पक्षिय सम्झौता भएको हो । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मेगावट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम ४७ कराेड ७९ लाखको सेयर निष्कासन गर्नेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।