माछापुच्छ्रे बैंकको नाफा २ अर्बभन्दा बढी, लाभांश क्षमता ९.२३ प्रतिशत

काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १५.४० प्रतिशत ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ८१ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सेयर प्रिमियम ३ करोड ८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन १६.०९ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ११.७४ प्रतिशत १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५८ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.३२ रुपैयाँ बढेर १७.३१ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३.८ रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.८३ प्रतिशतमा झरेको छ । बैंकका अनुसार अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलता तथा केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताले व्यवसायीक वातावरण सकारात्मक बन्न सकेको छैन । व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकले जनाएको छ । साथै बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको जनाएको छ । यद्यपि बैंकमा रहेको तरलतालाई गुणस्तरीय लगानीमा लगाई बैंकको सूचकांकहरूलाई सुधार गरी अधिकतम प्रतिफल प्राप्त गर्न प्रयत्नरत रहेको बैंकको भनाइ छ ।  बैकको सञ्चालन खर्चमा हुँदै गएको वृद्धिलाई नियन्त्रण गर्दै दीर्घकालिन व्यावसायिक योजना अनुरूप आगामी अवधिमा पनि गुणस्तरीय कर्जा प्रवाह, कर्जाको साँवा तथा ब्याज असुलीलाई विशेष प्राथमिकता, आम्दानीमा वृद्धिका साथै स्मार्ट बैंक बन्ने मूल नारालाई आत्मासात गर्दै प्रभावकारी डिजिटल बैंकिङ्ग सेवा विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ ।  माछापुच्छ्रे क्यापिटलमा बैंकको ६९.८५ प्रतिशत र माछापुच्छ्रे सेक्युरिटिजमा सतप्रतिशत लगानी रहेको छ । 

तेह्रथुम पावरको ४ लाख १८ हजार कित्ता सेयर बिक्री खुला, मूल्य १ सय रुपैयाँ

काठमाडौं । तेह्रथुम पावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हकप्रद सेयर बिक्री गर्दा सर्वसाधारण लगानीकर्ताले खरिद नगरेको अवितरित सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता सेयर बिक्री खुला गरेको हो ।  कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ३ गतेभित्र आवेदन दिन सकिनेछ ।  कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । असार २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।  इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।