सेयर बजारमा हरियाली, २३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर २९३१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८३ कम्पनिको सेयर मूल्य बढ्दा ७३ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३६४ कम्पनिको ६ करोड कित्ता सेयर कारोबार हुँदा २३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेसनल हाइड्रोको ७७ करोड, शिवम् सिमेन्टको ७५ करोड, न्यादी गुप्रको ७२ करोड र हिमाल दोलखाको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा ६ वटा कम्पनिको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १३ वटा उपसूचक मध्ये १२ वटाकाे समूह बढेको छ भने व्यापार समूह घटेको छ ।
४ प्रतिशत लाभांश बाँड्ने चन्द्रागिरीको घोषणा
काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रूपले सेयरधनीहरूलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको चैत ४ गते बसेको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने निर्णयसमेत गरेको छ । लाभांश तथा आईपीओसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते साँझ ५ बजे ललितपुरस्थित दाउरा थकालीमा वार्षिक साधारण सभा बोलाएको छ । सभाले आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षक सरु एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ति अनुमोदन गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची पनि रहेको छ । यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।
सानिगाड हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ करोड ५० लाख रुपैयाँको २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका-१, २ र ४ का स्थानीयलाई १८ लाख ५२ हजार ५ सय कित्ता र आयोजना प्रभावित क्षेत्र बुंगलनगरपालिका-३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीयलाई ९ लाख ९७ हजार ५ सय कित्ता सेयर बिक्री गरिएकाे हाे । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय बुंगल, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।