दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीले आज साउन १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन १९ गतेसम्म आवेदन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
जोशी हाइड्रोको हकप्रद सेयर बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे । उक्त ऋणपत्र साउन १५ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।