नेप्से परिसूचक १०.२७ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक १० अंकले बढेको छ ।आईतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो । आईतबार कारोबार आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा जीवनबीमा उपसमूहको सेयर मूल्य ०.५ प्रतिशतले घटेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ । नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको सेयरमूल्य ६.११ प्रतिशतले बढेको छ । तर, यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ । आईतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र ०.७६ प्रतिशत नगद गरी कूल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले घोषणा गरेको सो लाभांश बीमा समितिको स्वीकृति पश्चात् साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाप्त गर्नेछन् ।

पिपुल्स पावरले साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओन निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ५ गते र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।