७७ हजार बढीले पाए नेष्डो समृद्ध लघुवित्तको आईपीओ, नतिजा ३० मिनेटमै हेर्न सकिने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन २४ गते संस्थाको आईपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले सेयर हात पारेका हुन् । सोहीमध्ये २० कित्तासम्म आवेदन दिनेमध्ये ३ जनालाई थप १/१ कित्ता गरि कूल ३ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । उक्त आईपीओमा २६ लाखभन्दा बढीले आवेदन दिएका थिए । जसमध्ये २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्रै रितपूर्वक आवेदन दिएका थिए भने ४ हजार १४६ जनाले दिएको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । यससँगै, उक्त आईपीओको नतिजा अर्थात रिजल्ट केहीबेरमै हेर्न सकिने छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार क्यापिटलले आईपीओ बाँडफाँड गरेको ३० मिनेटको अवधिमै लगानीकर्ताले मेरो सेयरको वेवसाइटबाट आईपीओको नतिजा हेर्न सक्ने छन् । सो अनुसार सिडिएससीले व्यवस्था मिलाएको उनले बताए । यससँगै सर्वसाधारणले  सिडिएससीको आईपीओ रिजल्ट र संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइटबाट आफ्नो नतिजा हेर्न सक्ने छन् । संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयरमा सर्वसाधारणमा जारी गरेको थियो ।

‘मेरो नियुक्तिमा सरकारले ऐतिहासिक निर्णय गरेको छ, कुनै सेटिङ छैन’

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले सोमबार पहिलो पत्रकार सम्मेलन गरे । फागुन ५ गते सेबोनको अध्यक्षमा नियुक्त भएका हमालले फागुन ८ गते बोर्डको अध्यक्षका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो पत्रकार सम्मेलन थियो । पत्रकार सम्मेलनमा उनले धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिए । आफु अनुभवी र नेपाली सेयरबजारलाई राम्ररी बुझेको दावी गर्दै उनले आगामी दिनदेखि नेपाली सेयर बजारमा अनियमितता तथा सेयर बजारमा हुने चलखेलहरुको अन्त्य गर्ने दावी समेत गरे । १२ बजेदेखि सुरु भएको पत्रकार सम्मेलन साढे १ बजेसम्म रह्यो । साढे एक घण्टाको समय पत्रकारको प्रश्न र हमालको जवाफमा सीमित भयो । १० मिनेट जतिको समयमा हमालले आफ्ना योजना सुनाएका थिए । पत्रकार सम्मेलनमा हमालले पुँजी बजारको विस्तार, विकास र विविधिकरणमा महत्वपूर्ण ध्यान दिनका लागि अध्ययन गर्ने भन्ने धारणालाई दोहोर्याई रहे । उनले कार्यक्रममा खासै नयाँ कुरा बोलेनन् । उनले पत्रकार सम्मेलनमा बोलेका विषयहरु उनले यसअघि पनि बोलिसकेका छन् । कार्यक्रमको अन्तिममा एक सञ्चारकर्मीले हमाललाई एउटा प्रश्न गर्न खोजे । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अब खाजा खाँदै कुरा गरौंला प्रश्न गर्ने समय पनि सकियो, हलको पनि आफ्नै समय हुन्छ भनेर ‘कन्भिन्स’ गर्न खोजे । तर, ती सञ्चारकर्मीले आफुले प्रश्न गर्न पाउनु पर्ने अडान राखे । सो समयसम्म हलमा सीमित सञ्चारकर्मी मात्रै थिए । अधिकांश हलबाट बाहिरिसकेका थिए । ती सञ्चारकर्मीले सुरुदेखि प्रश्न गर्न खोजेको र प्रश्न गर्ने पालो नै नआएको भनेर गुनासो गरेपछि अध्यक्ष हमालले प्रश्न गर्न इशारा गरे । उनले प्रश्न गरे, ‘तपाईंमाथि करोडौंको कमिशन खुवाएर बोर्डको अध्यक्ष भएको र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनकै लागि अध्यक्ष बनाइएको आरोप पनि छ,  यसप्रति तपाईंको धारणा के छ ? ती सञ्चारकर्मीको प्रश्नपछि हमाल गम्भीर देखिए । उनले हलमा हल्ला गरिरहेका सहभागीहरुलाई शान्त हुन आग्रह गर्दै भने, ‘सबै साथीहरु सुन्नुहोस्, महत्वपूर्ण प्रश्न आएको छ, भन्नेले जेसुकै भनेपनि आफ्नो काम गर्ने हो, मलाई लाग्छ यस पटक सरकारले महत्वपूर्ण र ऐतिहासिक निर्णय गरेको छ, अन्तर्राष्ट्रिय एक्सपर्टीज, टोटल्ली अर्को क्षेत्रबाट आएको मान्छेलाई अवसर दिएको छ, यो व्यक्तिले मोर्टेकमा फेयरनेसको वातावरण सिर्जना गर्न सक्छ भन्ने विश्वास साथ मलाई नियुक्त गरेको छ, सरकारको विश्वासलाई पूरा गर्न काम गरेर देखाउने हो ।’ यस्तै, उनले सेटिङ्गमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफु नलाग्ने पनि बताए । उनले व्यक्तिको एक्सपर्टीज हेरेर नै यस्ता खालका शंकाहरु गर्नु पर्ने धारणा राखे । ‘यहाँले भने जस्तै यो मान्छे सेटिङमा आएको हो भन्ने हल्ला हुन पनि सक्छ, त्यसमा मेरो भन्नु केही छैन, सरकारले मेरो एक्सपर्टीजलाई बुझेर मलाई नियुक्त गरेको छ, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका लागि ल्याइएको हो भन्ने कुरा पनि सुनियो, यस्ता यस्ता हल्ला र आशंकाहरुको पछाडि लाग्ने होइन काम गरेर देखाउने हो,’ अध्यक्ष हमालले भने । उनले प्रश्नको पुनः जवाफ दिँदै नयाँ स्टक एक्सचेञ्जको विषयमा पनि सेबोनले अध्ययन गरिरहेकोले अहिले नै लाइसेन्स दिइन्छ वा दिइँदैन भन्न हतार हुने बताए । कार्यक्रममा उनले आफुले सेयर बजारमा हुने चलखेलको अन्त्यका लागि सधैं लागि रहने बताए । उनले कार्यक्रममा ब्रोकरहरुले अहिलेको व्यवस्था अनुसार काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

रेमिटान्स पठाउने नेपालीलाई आईपीओमा आरक्षण दिन अध्ययन हुँदै

काठमाडौं । विदेशमा कमाएर नेपालमा औपचारिक माध्यमबाट रकम पठाउने नेपालीलाई कम्पनीहरुले जारी गर्ने साधारण सेयर (आईपीओ) मा आरक्षण दिने विषयमा सरकारी निकायहरुले अध्ययन थालेका छन् । पछिल्लो समय कम्पनीहरुले जारी गर्ने आईपीओमा सर्वसाधारणको असाध्यै चासो बढेको र विदेशमा रहेका नेपालीले नेपालको सेयर बजारमा लगानी गर्न थालेपछि सरकारले औपचारिक माध्यमबाट रेमिटान्स नेपाल भित्र्याउने आकर्षण बढाउन तथा विदेशमा कमाएको रकमलाई उपभोगमा मात्रै खर्च हुन कम गर्न यस्तो विकल्पमा गृहकार्य थालेको हो । कम्पनीहरुले जारी गर्ने आईपीओमा विदेशमा रहेका र औपचारिक माध्यमबाट रेमिटान्स पठाउने नेपालीलाई कसरी आरक्षण दिन सकिन्छ भनेर अध्ययन भइरहेको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । यस्तो अध्ययनका लागि समिति नै गठन भएको र सो समितिले अध्ययन गरिरहेको उनको भनाई छ । पछिल्लो समयम नेपालमा विदेशी मुद्राको संचिति पनि कम हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभरी कम्तिमा पनि ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी मुद्राको संचिति कायम गर्ने भनेको भएपनि गत पुससम्म आईपुग्दा जम्मा ६ महिना १८ दिनको लागि मात्रै पुग्ने विदेशी मुद्रा संचिति छ । पछिल्लो समय नेपालमा सेयर बजार घटेको तथा विदेशमा रहेका नेपालीले क्रिप्टो करेन्सी लगायतका उपकरणमा लगानी गरेका कारण रेमिटान्स आउन कम भएपछि विदेशी मुद्राको संचिति कम हुन थालेको सरकारी अधिकारीहरु बताइरहेका छन् । एकातिर विदेशी मुद्राको संचिति कम भएको र अर्काेतिर विदेशमा कार्यरत नेपालीले नेपालमा पठाएको रकम उभोगमै बढी खर्च हुन थालेपछि सरकारले आईपीओमा आरक्षण दिने नयाँ विकल्पमा अध्ययन थालेको हो ।