घट्यो साल्ट ट्रेडिङ्गको लाभांश, कति दिने भयो बोनस ?
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन नेपालले सेयरधनीहरुलाई १०.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो वर्षकोभन्दा आधा कम लाभांश प्रस्ताव गरेको हाे । कम्पनीले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअघि कम्पनीले आव २०७६/७७ को नाफाबाट २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
तीन कारणले देखियो सेयर बजारमा रौनक, परिसुचक १०१ अंकले बढ्यो
काठमाडौं । केही दिनयता सिथिल देखिएको सेयर बजारमा आज भने रौनक देखिएको छ । बजार मापक नेप्से परिसुचक १०१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेका अनुसार आज कारोबार बन्द हुने समयसम्ममा १८८ कम्पनीको सेयर मूल्य बढेर बन्द भएको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज एसिएन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सर्किटन तह (१० प्रतिशतको हाराहारी) मा कारोबार भयो । आज बजारमा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरका सेयर खरिद विक्री भएका थिए । वाणिज्य बैंकहरुले चैत महिनाको लागि बैंकको व्याज नबढाउने निर्णय गरेका छन् । यस्तै, बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति नजिकिएको तथा सरकारको पुँजीगत बजेट खर्च बढ्ने समय आएकोले बजारमा तरलता अभाव कम हुने अनुमानका आधारमा सेयर बजारमा उछाल देखिएको हो ।
नेपाल लाइफको १ करोड १५ लाख कित्ता सधारण सेयर थपिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत पछि कम्पनीको साधारण सेयर ४ करोड २ लाख कित्ता हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी करिव ७ अर्ब २० करोड रुपैयाँ छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ हुने भएको छ । बोनस सेयर वितरण पछि कम्पनीले ९ प्रतिशत प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ । हाल कम्पनीमा ६० प्रतिशत प्रवर्द्धक र ४० प्रतिशत साधारण सेयर रहेको छ । फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ । प्रवर्द्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउने प्रस्ताव कम्पनीले वार्षिक साधारणसभामा पेश गर्दैछ । कम्पनीले चैत २१ गते साधारणसभा गर्ने निर्णय पनि गरेको छ । कुनै पनि कम्पनीको साधारण सेयर थपिएपछि बजार मूल्य घट्ने गरेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १२०० देखि १३०० को बीचमा कारोबार भैरहेको छ । विगत ५२ हप्तामा यस कम्पनीको अधिकृत मूल्य प्रतिकित्ता ३००० रुपैयाँसम्म पुगेको थियो ।