अपर हेवाखोला हाइड्रोको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आज (बिहीबार) बाट सेयर कारोबार गर्न सकिने छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै कम्पनीको सेयर आजबाट किनबेच गर्न मिल्ने भएको हो । जसको लागि नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्म मूल्य तोकेको छ । यससँगै लगानीकर्ताले यूचएईडब्लुए को स्टक सिम्बोलबाट उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार गर्न सक्नेछन् । नेप्सेमा कम्पनीको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । सेयर रजिष्ट्रारको रुपमा एनएमबि क्यापिटल रहेको छ । यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने छ । कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’ तयार, लगानीकर्ताका सुझावपछि मात्रै लागू गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको सेयर रोक्का सम्बन्धी निर्देशिका तयार गरेको छ । बोर्डका अनुसार सेयर रोक्का सम्बन्धी निर्देशिका तयार भएर अब त्यसको अन्तिम रुप दिन बाँकी छ । बोर्डका प्रवक्ता रुपेश केशीले मर्जर तथा प्राप्तिको समयमा हुने सेयर कारोबार रोक्काको बारेमा बन्न लागेको नयाँ निदेशिका अन्तिम चरणमा पुगेको बताए । ‘हाम्रो टोलीले यसमा काम गरिरहेको छ, अब फाइनलाइज्ड गर्ने क्रममा छौं,’ उनले विकासन्युजसँग भने । तर, यसलाई लागू गर्नुभन्दा अघि विज्ञ लगानीकर्ताको राय सुझाव लिने तयारीमा पनि बोर्ड रहेको छ । ‘अब कारोबार कति दिन रोक्का गर्ने, कहिलेदेखि खुला गर्ने भन्नु भन्दा पनि यता लगानीकर्तालाई अफ्ठ्यारो पनि नपरोस्, कारोबार खोल्दा लगानीकर्तालाई भोलि मर्का पनि नपरोस् भन्ने हिसावले उहाँहरुसँग राय सुझाव लिने क्रममा छौं,’ उनले भने । बोर्डका अध्यक्ष रमेश कुमार हमालले भनेको समयमा भने बोर्डले उक्त निर्देशिका ल्याउन सकेन । अध्यक्ष हमालले गत साउन १२ गते बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्का सम्बन्धी निर्देशिका दुई साताभित्र लागू गर्ने बताएका थिए । ‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, दुई सातामा लागू गर्छौं, यसमा विभिन्न विषयहरु हेर्नुपर्ने भएकाले यसमा हतार गर्नु हुँदैन,’ कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भनेका थिए । हाल निर्देशिका अन्तिम चरणमा रहेको भनिएपनि अब लगानीकर्ताहरुसँग राय सुझाव लिने भएपछि थप समय लम्बिने बुझिन्छ । तर, बोर्डका प्रवक्ता भने त्यति लामो समय नलाग्ने बताउँछन् । ‘अब चाँडै नै हामीले हाम्रो भर्सनमा लगानीकर्ताको राय सुझाव लिन्छौं, सम्भवत ५/७ दिनमा उहाँहरुबाट सुझाव आउला, राम्रो सुझाव आयो भने त्यसलाई एड्रेस गरेर अघि बढ्छौं, धेरै समय नलाग्ला,’ उनले थप प्रष्ट पार्दै भने । लगानीकर्तासँग सम्बन्धित नै विषय भएको हुनाले अहिले हतारमा ल्याउनु भन्दा दीर्घकालसम्म लगानीकर्ताको हित हुने हिसाबले ल्याउँदा सबै सरोकारवालाहरुलाई फाइदा हुने उनको भनाइ छ । यो विषयमा लगानीकर्तासँग राय सुझाव लिने भनेको बोर्डले हालसम्म कुन मोडालिटीबाट सुझाव लिने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन । सम्भवतः कुनै कार्यक्रम मार्फतभन्दा पनि सूचना निकालेरै लगानीकर्ताबाट सुझाव लिने सम्भावना धेरै रहेको प्रवक्ता केशी बताउँछन् । अध्यक्ष हमालले पनि अब केही दिनभित्रै निर्देशिका जारी हुने बताए । अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारी भइरहेको बताउँदै उनले २/३ दिनभित्रै निर्देशिका सार्वजनिक हुने बताए । ‘अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारीमा छौं, भोलि वा पर्सी सर्वसाधारणको सुझावको लागि निर्देशिकाको ड्राफ्ट सार्वजनिक गर्छौं, उहाँहरुको सुझावका आधारमा निर्देशिकालाई अन्तिम रुप दिन्छौं,’ उनले विकासन्युजसँग भने । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कारोबार रोक्का सम्बन्धमा राष्ट्र बैंकले गरेको नीति खारेज गर्दै त्यसको सम्पूर्ण अधिकार धितोपत्र बोर्डलाई दिएको थियो । ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । राष्ट्र बैंकले यो व्यवस्था गरेसँगै बोर्डले सेयर कारोबार रोक्का सम्बन्धीको टोली बनाएको हो । जसमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।

एनएमबि क्यापिटलले ल्यायो १० वर्षे सुलभ इन्भेष्टमेन्ट फण्ड, लगानी गर्नेलाई ९०% प्रतिफल

काठमाडौं । एनएमबि क्यापिटलले बिहीबार (साउन २६ गते) देखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गतको ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ निष्काशन गर्ने भएको हो । १० वर्ष अवधि रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ बन्दमुखी योजना हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गर्ने भएको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंकलाई, १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधाण लगानीकर्तालाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । योजना व्यवस्थापकको परिचय म्युचुअल फण्डको योजना व्यवस्थापक एनएमबि क्यापिटल हो । कम्पनी रजिष्ट्रारमा वि.स. २०६७ जेठ ५ मा दर्ता भएको थियो । कम्पनीले मिति २०६७ भदौ ७ मा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति तथा सेयर रजिष्ट्रार सेवा लगायत मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । वि.स. २०७० जेठ १० गते धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने र वि.स. २०७५ मंसिर १७ मा लगानी परामर्शको कार्य गर्ने अनुमति प्राप्त गरेको हो । क्यापिटलमा एनएमबि बैंकको सेयर स्वामित्व २० लाख कित्ता रहेको छ । कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । क्यापिटलको आगामी योजना क्यापिटलका आगामी दुई योजना रहेका छन् । क्यापिटलका अनुसार बजारको अवस्था हेरेर अन्य विभिन्न योजना संचालनमा ल्याउने तयारी गरेको छ । इन्भेष्टमेन्ट तथा मर्चेन्ट बैंकिङ्ग क्षेत्र अन्तर्गत नयाँ सेवाहरु संचालन गर्ने, समय सापेक्ष नयाँ प्रविधिहरुको प्रयोग गरी देशभर आफ्नो सेवा विस्तार गर्ने योजना रहेका छन् । बजारबाट उच्च प्रतिफल आर्जन गर्ने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ एक डाइन्यामीक इक्विटी फण्ड हो । सूचीकृत कम्पनीहरुमध्ये उत्कृष्ट प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्नेछ । फण्डले बजारको वर्तमान अवस्था अध्ययन गरी तथा भविष्यमा हुनसक्ने परिस्थितिलाई मध्यनजर गरेको छ । पोर्टफोलियोको संरचना डाइन्यामीक रुपमा परिवर्तन गर्ने र बजारबाट उच्च प्रतिफल आर्जन गर्नेमा क्यापिटलले काम गर्नेछ । कहाँ लगानी गर्छ ? फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । सेबोनमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ । यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजार र अन्य साधना, बैंक निक्षेप, मुद्रा बजार उपकरणमा, बोर्डले तोकिदिएका अन्य क्षेत्रमा लगानी गर्ने क्यापिटलले बताएको छ । इकाईधनीले ९० प्रतिशत प्रतिफल पाउने क्यापिटलले फण्डबाट संकलन भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्नेछ । सोही क्षेत्रमा लगानी पश्चात् हुने आम्दानीलाई इकाईधनीहरुलाई सबै खर्च कटाएर प्रतिफल वितरण गर्नेछ । फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष प्रतिफल वितरण नगर्ने भएको छ भने आगामी प्रत्येक वर्षमा १० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । साथै १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल ९० प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ । संचालन पूर्व खर्च विवरण कम्पनीको फण्ड निष्काशन गर्नु पूर्व ५४ लाख ८० हजार ९ सय रुपैयाँ जम्मा खर्च हुने भएको छ । जसमा निष्काशन व्यवस्थापन शुल्क वापत ३० लाख रुपैयाँ, योजना दर्ता शुल्क वापत १० लाख रुपैयाँ, धितोपत्र दर्ता आवेदन शुल्क वापत २० हजार रुपैयाँ, विवरणपत्र प्रशोधन शुल्क वापत २५ हजार रुपैयाँ, सिडिएस दर्ता शुल्क वापत १ लाख ५० हजार रुपैयाँ, नेप्से सूचीकरण तथा निवेदन शुल्क वापत १ लाख ५० हजार रुपैयाँ, विज्ञापन, सूचना, विवरणपत्र, अन्य वापत ४ लाख ५६ हजार रुपैयाँ र अतिरिक्त खर्च वापत ७ लाख १४ हजार ९ सय रुपैयाँ खर्च हुने क्यापिटलले जनाएको छ । ३ वटा फण्डको प्रतिफल नेपाली पूँजी बजारमा सामूहिक लगानी कोषको संचालन भएको करिब ८ वर्ष भएको छ । एनएमबि क्यापिटलले पनि आफै संचालन गरेको पहिलो योजना परिपक्क भई हाल ३ योजना संचालनमा छन् । क्यापिटलले एनएमबि हाइब्रीड फण्ड एल-१, एनएमबि ५०, एनएमबि सरल बचत-इ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ संचालन गरिरहेको छ । पहिलो म्यूचूअल फण्ड रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले ५ बर्षको अवधिमा इकाईधनी हरुलाई ७७.१० प्रतिशत नगद लाभांस वितरण गरेको छ । यस्तै, एनएमबि हाइब्रीड फण्ड एल-१ का इकाईधनीहरुलाई ५९.०५ प्रतिशत नगद लाभांश र एनएमबि ५० ले ५६.०५ प्रतिशत नगद लाभांश वितरण गरेका छन् । क्यापिटलको संचालक र व्यवस्थापक टिम क्यापटलको संचालक समितिमा ३ जना संस्थापक र २ जना स्वतन्त्र संचालक गरी ५ जना छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट पशुपती मुरारका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादक संघका कार्यकारी सदस्य समते छन् । संचालकमा मनिष जैन, हरिशचन्द्र सुवेदी, योगेन्द्र बहादुर थापा क्षेत्री र सुनिती श्रेष्ठ हाडा छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश कुमार वैद्य कार्यरत छन् । ४७ वर्षिय वैद्य फाइनान्समा एमबिएसम्मको शैक्षिक योग्यता छ । माछापुच्छ्रे कृति क्यापिटलमा सीईओ, कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टसको संस्थापक/प्रबन्ध संचालक, भिबोर विकास बैंकको चिफ बिजनेश अफिसर, नाइट लिबर्टास, एलएलसिमा, अमेरिकामा रिसर्च असोसिएट र नेपाल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख मर्चेन्ट बैंकिङ्गमा प्रमुख मर्चेन्ट बैंकिङ्ग भएर काम गरेको अनुभव छ । यस्तै, नायव महा-प्रबन्धकमा कमल प्रसाद नेपाल कार्यरत छन् । योजना व्यवस्थापकको रेटिङ्ग योजना व्यवस्थापकलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी एएमसी क्वालिटी २ प्रदान गेको छ । जसले व्यवस्थापनमा क्षमतामा उच्चतम प्रतिवद्धता रहेको जनाउँछ । कोष सुपरिवेक्षक म्युचुअल फण्डको कोष सुपरिवेक्षकमा अशोक राज पाण्डे, डा. विपिनचन्द्र अधिकारी, कृष्ण ज्ञवाली, नन्द किशोर शर्मा र ऋषिकेश वाग्ले रहेका छन् ।