बुक बिल्डिङमा दुर्घटना निम्तिदैन, सबै कर्मचारीलाई सचेत गराएको छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डिङमा दुर्घटना हुन नदिन गृहकार्य गरिरहेको बताए । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘बुक बिल्डिङमा अर्को पटक दुर्घटना हुन नदिन सेबोनका कर्मचारीलाई सचेत गराएको छु, एक पटक दुर्घटना हुँदा पछि परेको र अर्को पटक पनि दुर्घटना भयो भने धेरै पछि परिन्छ, त्यसैले बुक बिल्डिङमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको छ,’ उनले भने । विगतमा पूर्व अध्यक्ष भिष्म ढुंगाना परिवार र नेप्सेका सीईओ चन्द्र साउदले सर्बोत्तमको सेयर किनेको खुलासा भएपछि बूक बिल्डिङमा विवाद परेको थियो । उक्त विवाद अबका दिनमा नदोहोरिन बोर्डले आवश्यक काम कारवाही अघि बढाएको जानकारी गराएको छ । त्यस्तै, लगानीकर्ताले बजारलाई विश्वास गरेको र बजार बढेमा सबै लगानीकर्ताले फाइदा लिन सक्ने उनको भनाई छ । ‘व्यवहारमा समायोजन गर्यो भने विकास सम्भव छ, चेतना, सचेतना फैलाउनु पर्ने छ, पुँजी बजारप्रति सबैको हेर्ने दृष्टिकोण समान हुनुपर्छ,’ उनले भने । त्यस्तै, हालको नेप्सेको प्रणालीले १७० भन्दा बढी ब्रोकर नधान्ने भएकाले प्रणालीलाई थप सुधार गरी नेप्सेको सिस्टममा ठूलो फड्को मार्नु पर्ने उनले बताए । ‘टिप्पणी वा निर्णय उठाउदा टेबुल टेबुलमा छलफल भएको छ, एउटा सरकार आउने उसले टेबुल गर्ने, अर्को सरकार आउने उसले टेबुल गर्दा ढिला भएको हो,’ हमालले भने । विगतमा ५६ जना कर्मचारीले ५७९ कम्पनी नियमन गर्नुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष हमालले आफू आएपछि १५ जना थपेर ७१ जना पुर्याएको समेत जानकारी गराए । सम्बन्धित सामाग्री ५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी
५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यवाहक उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बोर्डमा सूचीकरण भएका ५७९ कम्पनीको नियमन गरिरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कम्पनीको संख्या अत्यधिक भएकाले नियमनमा समस्या हुने उनको भनाइ छ । तर, धितोपत्र सम्बन्धी कानुन समय सापेक्ष बनाउने बताउँदै उनले बोर्डलाई जफाबदेहिता सहितको स्वायत्त निकाय बनाउनुपर्नेमा जोड दिए । ‘बोर्डलाई जवाफदेहिताको स्वायत्त निकाय बनाउँछौं, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएसको संरचना परिवर्तन गर्दै प्रतिस्पर्धी बनाउने तयारी भइरहेको छ,’ उनले भने । त्यस्तै, उनले दोश्रो बजारमा थोरै पुँजी भएका कम्पनी सूचीकृत हुँदा बजारको अस्थीरता बढेको समेत दावी गरे । साथै, बोर्डले पुँजी बजार विकासको लागि शैक्षिक संस्था संचालन गर्ने उनले जानकारी दिए ।
शुक्रबारको सेयर कारोबार हटाउँदै नेप्से
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले शुक्रबारको सेयर कारोबार हटाउने तयारी गरेको छ । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयालले सो बताएका हुन् । ‘दुई घण्टाको कारोबार औचित्य नदेखेपछि शुक्रबारको कारोबार हटाउने तयारी गरेको हो,’ फुँयालले भने । नेप्सेले परीक्षणको लागि भन्दै गत जेठ महिनादेखि शुक्रबार पनि कारोबार शुरु गरेको थियो । उक्त कारोबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा हुँदै आएको थियो । तर, सो दिनको कारोबार त्यति प्रभावकारी नभएको र हटाउनको लागि चौतर्फी दवाव आएकोले नेप्सेले हटाउने तयारी गरिरहेको हो । त्यस्तै, अन्य देशमा अर्थतन्त्रमा समस्या आयो भने स्टक मार्केट घट्ने गरेको छ तर नेपालमा त्यसको बिपरित हुने गरेको बताउँदै भुकम्प गएको बेला र कोरोना महामारी बेला नेप्से बढेको इतिहास रहेको जानकारी गराए । साथै, उनले पुँजीबजार विकासको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को संरचना बदल्नु पर्ने बताए । ‘सरकारी कर्मचारीले नेप्से र खाद्य संस्थानलाई एउटै दृष्टिकोणबाट हेर्ने गरेको छ, त्यो सोच बदल्नु पर्छ, सेबोनको संरचना बदल्नु पर्छ, सिडियस एण्ड क्लियरिङ्गलाई खण्ड खण्ड गर्नुपर्छ,’ उनले भने । त्यस्तै, मार्जिन लेण्डिङ बैंकबाट नगरी ब्रोकरबाट गर्नुपर्ने उनको भनाई छ । ‘मार्जिन लेण्डिङ ब्रोकरबाट गर्नु पर्नेमा बैंकबाट गर्दा चार्ज लागेको हो, राष्ट्र बैंकले मार्जिन लेण्डिङ्गलाई ब्रोकर कम्पनीलाई दिनुपर्ने बैंकलाई दिँदा शुल्क बढी लागेको हो,’ फुँयालले भने । साथै, उनका अनुसार नेपाली पुँजीबजारमा भेन्चर क्यापिटल इक्विटी, कमोडिटी मार्केट र नयाँ स्टक मार्केट आवश्यक रहेको छ ।