मंगलबार बाँडफाँट हुने मन्दाकिनी हाइड्रोको आईपीओमा ८ जनालाई ११ कित्ता

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ मंगलबार अपरान्ह ४ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ । कम्पनीको सेयर बाँडफाँट बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा गरिनेछ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १६.५३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा १६ लाख १० हजार ९२६ जना आवेदकको आवेदन परेको हो । एक करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि, ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि र १० लाख ९३ हजार ७४८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । कम्पनीको सेयर १ लाख ९ हजार ३७४ जना आवेदकले मात्रै प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । ८ जना आवेदकलाई भने बाँकी रहेको ८ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।

सेयर बजार सामान्य बढ्यो, ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

काठमाडौं । सेयर बजार निरन्तर उकालो लाग्ने क्रममा सोमबार पनि बढेको छ । आइतबार बढेको सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको हो । यसअघि आइतबार भारि अंकले बढेको बजार सोमबार दिनभरि उतारचढाबका बीच सामान्य अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अंकले बढेर २१९६.२५ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार ५४.५८ अंकले बढेको थियो । सोमबार दिनभरिमा २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता ६७ लाख २०५ पटक किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको भएको थियो । आइतबार अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएपछि लगानीकर्ताहरुलाई सेयर किन्ने वा बिक्री गर्ने भन्नेमा अन्यौल जस्तो देखिएको छ । आइतबार बैंकिङ्ग समूह ०.४ प्रतिशत, ट्रेडिङ्ग समूह ३.५४ प्रतिशत, हाइड्रोपावर समूह ०.७२ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७१ प्रतिशत बढेको छ । त्यस्तै, होटल एण्ड टुरिजम समूह २ प्रतिशत, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स समूह ०.१ प्रतिशत, निर्जीवन बीमा समूह ०.२३ प्रतिशत, अन्य समूह ०.६५ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१८ प्रतिशत, जीवन बीमा समूह ०.१९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३९ प्रतिशतले घटेको छ । सोमबार बुटवल पावर कम्पनीको ६.९५ प्रतिशतले सेयर मूल्य बढेको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर मूल्य ५.२९ प्रतिशत घटेको छ ।

२५० भन्दा माथी नेटवर्थ भएको धौलागिरी लघुवित्तले साउन २४ गते सार्वजनिक सेयर निष्काशन गर्दै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात् ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले यसको लागि बिक्री प्रबन्धकमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ । कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोडभन्दा माथि रहेकोले सार्वजनिक सेयर निश्कासन पश्चात् समेत सेयरधनीहरुको लागी ४० प्रतिशतभन्दा बढि लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.व. २०७८/७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।