सम्भावित क्षतिबाट बच्दै सेयर लगानीकर्ता, धितोपत्र बोर्डले कोष सञ्चालन गर्ने

काठमाडौं । नेपाल धितोपत्र पत्र बोर्डले धितोपत्र बजारको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने भएको छ । बिहीबार धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो बताएका हुन् । ‘धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागु गरिनेछ,’ अध्यक्ष हमालले भने । पूँजी बजार विकासका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न चार खम्बे नीति तयार गरेको उनले बताए । चार खम्बाहरुमा संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकास गर्ने र नियमन निकायको वाच डग एजेन्सी भूमिका सशक्तिकरण गर्ने रहेका छन् ।

पूँजी बजारमा हुने चलखेल निरुत्साहित गर्छौं : अध्यक्ष हमाल

काठमाडौं । धितोपत्र बजारलाई विकास तथा विस्तार गर्दै प्रतिस्पर्धि बनाउने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । त्यस्तै, सुपरिवेक्षणलाई सक्रिय बनाएर पूँजी बजारमा हुने चलखेललाई निरुत्साहित गर्ने अध्यक्ष हमालले दावी गरे । उनले सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउन सातै प्रदेशमा लगानीकर्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । धितोपत्र बजारलाई उच्च प्रविधिमैत्री बनाएर सेवाग्राहीलाई तिव्र सेवा दिने बताएका छन् । त्यसैगरी उनले आरटीजिएस प्रणाली मार्फत सेवा दिने बताए । बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन अन्तराष्ट्रिय बजारमा भएको व्यवस्थालाई लागु गर्ने उनको भनाइ छ ।

नेप्से दोहोरो अंकले बढ्दा ५ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । यस साता एक दिन बाहेक सबै बिहीबारसम्म सेयर बजार बढेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी केही सकारात्मक व्यवस्था गरेकाले सेयर बजार बढेको सेयर जानकारहरु बताउँछन् । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४९ अंकले बढेर २१२७ अंकमा बन्द भएको छ । बुधबार पनि नेप्से परिसूचक २३.८३ अकंले बढेको थियो । बिहीबार २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर ७२ हजर ४५० पटक किनबेच हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा लगानी गर्नका लागि सेयर लगानीकर्तामा अन्यौलता कायम रहेका बेला सेयर बजार बिहीबार दोहोरो अंकले बढेको हो । पछिल्लो समय देशको अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै सेयर लगानीकर्तामा त्यसले नकारात्मक असर पारिरहेको छ । तर यस साता हालसम्म बजार बढेको हुँदा एक किसिमको रौनकता लगानीकर्तामा छाएको देखिन्छ । बिहीबार बैंकिङ्ग समूह ०.१२ प्रतिशत, ट्रेडिङ्ग समूह ०.२३ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.३३ प्रतिशत, विकास बैंक समूह २.२४ प्रतिशत, हाइड्रोपावर समूह १.१९ प्रतिशत, फाइनान्स समूह ३.१३ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४६ प्रतिशत, जीवन बीमा समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४६ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.९५ प्रतिशत बढेको छ । यता निर्जीवन बीमा समूह ०.०१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४६ प्रतिशत, अन्य समूह ०.२ प्रतिशतले घटेको छ । आज हिजो मात्रै नेप्सेमा आईपीओ सूचीकृत भएको बिन्ध्यबासिनि हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।