राधी विद्युतले १४७ प्रतिशत हकप्रद जारी गर्ने, पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । सेवोनले साउन ९ गते कम्पनीलाई १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १ः १.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ६० हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
नेप्सेमा दुई वटा फण्ड सूचीकृत
काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको म्युचुअल फण्ड सूचीकृत भएको छ । सोमबार कुमारी क्यापिटलको धनवृद्धि योजना र एनआईसी एशिया क्यापिटलको फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको हो । दुवै कम्पनीको फण्ड मंगलबारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ । सोमबार कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गको कुमारी धनवृद्धि योजना नेप्सेमा सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड २५ लाख ७ हजार २५९ सामुहिक लगानी कोष इकाई कुमारी धनवृद्धि योजना नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि केडीबीवाई सिम्बोल प्रदान गरेको छ । त्यस्तै, एनआईसी एशिया क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड २० लाख सामुहिक लगानी कोष इकाईको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको दोस्रो बजार कारोबारको लागि एनआईसीएफसी सिम्बोल प्रदान गरेको छ ।
५४ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब नाघ्यो सेयर कारोबार, शिवमको सर्वाधिक
काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि सेयर बजार निरन्तर बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक भएपछिको दोश्रो कारोबारमा नेप्से परिसूचक ५४.४५ अंकले बढेको हो । जुन अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरको कारोबारमा ४ अर्ब १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा पछिल्लो १७ कार्य दिनपछि ४ अर्ब माथिको सेयर कारोबार भएको छ । गत असार २० गतेको बजारमा ४ अर्ब ३४ करोड रुपैयाँ बरारबको सेयर कारोबार भएको थियो । सोमबार सबैभन्दा बढी कारोबार हुनेमा शिवम् सिमेन्ट रहेको छ । शिवमको एकैदिन १५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ८३८ रुपैयाँ पुगेको छ । त्यस्तै, १० करोडभन्दा बढीको कारोबार हुनेमा अरुण काबेली पावर, एनटीसी, हिमालयन डिष्टिलर र अपर तामाकोशी रहेका छन् । सोमबारको बजारमा १० कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपस फाइनान्स कम्पनी, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभपमेन्ट बैंक, यूनाईटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको ९.९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९.९६ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ । त्यसैगरी, बजारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये विकास बैंक समूह सबैभन्दा बढी अंकले बढेको छ ।