सेयर बजारको लागि मौद्रिक नीति : साना लगानीकर्तालाई बढी फाइदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारलाई राहात मिलेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका १३३ बुँदे मौद्रिक नीतिमध्ये विशेष गरी ३ वटा बुँदाले सेयर बजारलाई केही राहात मिल्ने जानकारहरू बताउँछन् । बजारका जानकार अनुसार बुँदा नम्बर ९८, ९९ र १०० ले सेयर बजारको लागि सकारात्मक रहेका छन् । जसमध्ये बुँदा नम्बर ९८ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ ।’ राष्ट्र बैंकले गरेको यो व्यवस्थाले मर्जर तथा एक्विजिशनको नाममा वर्षौंदेखि सम्बन्धित लगानीकर्ताको सम्पत्ति बन्धक हुने समस्या हट्ने सम्भावना बढी छ । यद्पि, सो व्यवस्था नेपाल धितोपत्र बोर्डमार्फत गरिने भनिएको छ । त्यसैगरी, एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिले ४ करोडको सीमालाई हटाएर अब एउटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्मको ऋण लिन पाउने व्यवस्था गरेको हो । उक्त व्यवस्था बुँदा नम्बर ९९ उल्लेख छ । ‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिनेछ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने ’ बुँदा नम्बर ९९ले भनेको छ । ‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।’ यसअघि उक्त सीमा १५० प्रतिशत थियो । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस् सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल यो वर्षको मौद्रिक नीतिले साना लगानीकर्ता तथा ऋणीलाई सहज हुने बताउँछन् । ‘गत मौद्रिक नीतिले कसेको सेयर बजारलाई यो वर्ष त्यस्तो भएन, कर्जाको जोखिम भार, धितो कर्जामा हटेको ४ करोडको सीमाले विशेष त साना लगानीकर्ता तथा साना ऋणीलाई सहज बनाएको छ र मर्जरमा गएका कम्पनीको कारोबार रोक्का हुने प्रावधान खारेज गरेको छ, अब पुसको समीक्षा कस्तो आउँछ, अहिलेलाई बजारलाई थोरै भएपनि राहात हुने खालको छ,’ उनले भने । नेपाल इन्भेष्टर्स फोरममा पूर्वअध्यक्ष छोटेलाल रौनियारले यो वर्षको मौद्रिक नीति लगानीकर्ताले खोजेको जस्तो नभएपनि समग्रमा ठिकै रहेको बताएका छन् । ‘मौद्रिक नीतिले बजारलाई राहात भयो,’ उनले भने ‘सेयरधितो कर्जामा ४ करोडको सीमा हटाइयो, साना लगानीकर्ताले लिने कर्जाको जोखिम भार २५ लाखसम्मको १०० प्रतिशतले गरेर त्योभन्दा बढी १५० प्रतिशत राखिएको छ र मर्जर तथा एक्विजिसनमा कारोबार नरोकिने नीति पनि राम्रो हो ।’ नयाँ मौद्रिक नीतिको बारेमा टीप्पणी गर्दै ब्रोकर्स एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्र सिजापति सामाजिक सञ्जालमा लेख्छन्, ‘आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले नीतिगत रुपमा सेयर बजारको साँढेको घाँटी र खुट्टामा बाधिएको दाम्लोमध्ये खुट्टाको दाम्लो खोलिएको छ, धन्यवाद !’

सेयरधितो कर्जामा ४ कराेडकाे नीति खारेज, अब १२ करोडको मात्रै सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोमा ४ करोडको सीमा नीति खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकल कर्जा सीमा खारेज गरेर १२ करोडको सीमा तोकेका हुन् । ‘सेयरधितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ’ गभर्नर अधिकारीले भने । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ । तर शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए ।

मौद्रिक नीति चुहिएपछि सेयर बजारमा गिरावट, कम्पनीलाई मात्र ४/१२ को सीमा हट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक हुनुपूर्व नै सेयर बजारलाई प्रभावित गर्ने सूचनाहरु चुहिएका छन् । आजै शेयर बजारमा २७ अंकको गिरावट आएको छ । एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिमा केही संशोधन गरिने भएको छ । उक्त व्यवस्था व्यक्ति तथा परिवारको लागि यथावत रहने भएको छ भने कम्पनीको हकमा उक्त सीमा नलाग्ने व्यवस्था गर्न लागिएको छ । संशोधित नयाँ व्यवस्थाले पुँजी बजारलाई सहयोग नगर्ने भएकोले शुक्रबारको बजारमा उच्च गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । ‘कर्जा लिएर सेयरमा लगानी गर्ने गरी कम्पनीको संख्या नगन्य छ, व्यक्तिलाई दिने कर्जाको सीमा नबढ्ने भयो’ एक लगानीकर्ताले भने- ‘त्यहि भएर बजार घट्यो । मौद्रिक नीति मार्फत ४/१२ को सीमा हट्ने अनुमानसहित गत साता सेयर बजारमा मूल्य र कारोबार दुबै बढेको थियो । शुक्रबार भने नेप्से परिसूचक २७.२६ विन्दुले घटेर २०१७ अंकमा सीमित भएको छ । आज एक अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । राष्ट्र बैंकले समग्रमा कर्जा विस्तार नियन्त्रण गर्ने, उत्पादन मुलक क्षेत्रमा जाने कर्जालाई प्रोत्साहित गर्ने र सेयर, घर जग्गा, गाडी लगायत अनुत्पादक क्षेत्रमा जाने कर्जा लगानी नियन्त्रण गर्ने नीतिगत व्यवस्थालाई जोड दिने भएको छ । यसले पनि आजको सेयर बजार प्रभावित गरेको लगानीकर्ताहरु बताउँछन् । सेयर लगानीकर्ता दवाद समूहका अध्यक्ष हरि ढकाल पनि शुक्रबारको बजार नचाहिने हल्लाले घटेको बताउँछन् । ‘बजारमा व्याजदर बढ्ने लगायतका नकारात्मक हल्ला खल्ला छ, त्यसैले घटीरहेको हो,’ उनले विकासन्युजसँग भने । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भने बजारमा मौद्रिक नीति चुहियो भन्ने हल्ला रहेको बताएका छन् । तर आफ्नो जानकारीमा भने त्यस्तो केही पनि नभएको उनको भनाई छ । ‘मौद्रिक नीतिमा अनउत्पादक क्षेत्रको ब्याज रिटर्न बढाउने, तर उत्पादक क्षेत्रको ब्याजदर यथावत राख्ने अथवा १/२ प्रतिशत घटाउने होला,’ रौनियारले बताए ।