बजार घट्दा २ अर्बले बढ्यो कारोबार, हाइड्रो र निर्जीवन बीमा बाहेक सबै समूह राताम्मे

काठमाडौं । बिहीबारको सेयर बजारमा कारोबार रकममा वृद्धि भएको छ । बजारमा एकैदिन २ अर्ब रुपैयाँ बढीले सेयर कारोबार रकम बढेको छ । गत मंगलबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कारोबारमा आएकामध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ८२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपि पावर र तेश्रोमा शिखर इन्स्योरेन्स रहेको छ । अपिको ५२ करोड ५० लाख र शिखरको २६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३० प्रतिशत हकप्रद सेयरको लागि सेयर किन्ने आज अन्तिम दिनभएसँगै शिखरको कारोबार रकममा वृद्धि भएको हो । केहि दिनदेखि निरन्तर सर्किट लागेको विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा आज पनि सर्किट लागेको छ । यससँगै यी दुई संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता १९५९.२० रुपैयाँ र ७४४ रुपैयाँ पुगेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने दोहोरो अंकले घटेको छ । गत मंगलबारको तुलनामा परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशतले घटी हो । त्यस्तै, कारोबारमा आएकामध्ये हाइड्रोपावर र निर्जीवन बीमा समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे छन् । बिहीबार आरएमडीसी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ३.४९ प्रतिशतले घटेर प्रतिकित्ता १२६० रुपैयाँमा झरेको छ ।

बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आइपीओ जारी गर्ने, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० को बिक्री खुला गर्ने लागेको हो । निष्काशन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नं २, ३ र ४ का बासिन्दाका लागि र आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल–५ र ७ का बासिन्दा, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि बाँकी रहेको ४० प्रतिशत अर्थात् सात लाख ३१ हजार १८८ कित्ता शेयर निष्काशन बिक्री खुला गरिने भएको छ । कम्पनीले सार्वजनिक गरेको अह्वान पत्रानुसार प्रभावित स्थानीयवासीले यही माघ २७ देखि छिटोमा आगामी फागुन १२ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हाल जुगलको बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बढायो बोनसदर

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा करिब बराबर हो । तर बोनसदर भने अघिल्लो आवको तुलनामा ३ प्रतिशत बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ३.७८९४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।