नेप्सेले रोकिदियो प्रभु लाइफको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी मर्जरमा जाने भएसँगै नेप्सेले असार ३१ गतेदेखि दोश्रो बजारको कारोबार रोकिदिएको हो । प्रभु लाइफ महालक्ष्मी लाइफसँगै मर्जरमा जान लागेको हो । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म दोश्रो बजारमा कम्पनीको सेयर कारोबार हुँदैन ।

बिहीबार एनआईसी एशियाको सर्वाधिक कारोबार, दोश्रोमा अपर तामाकोशी

काठमाडौं । बिहीबारको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । दिनभरको कारोबारमा कम्पनीको १४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको बजारमा कूल २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा बढी हो । बुधबारको बजारमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, बिहीबार २२० कम्पनीको ६२ लाख १० हजार कित्ता सेयर खरिद बिक्री भएका हुन् । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार देखिएको छ । परिसूचक अघिल्लो दिनको तुलनामा १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको छ । त्यस्तै, टप गेनको शीर्ष स्थानमा एनआईबिएल प्रगति फण्ड रहेको छ । जसको भाउ ९.९८ प्रतिशितले बढेर प्रतिइकाई १०.१४ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीहरुमध्ये अपर तामाकोशीको सेयर मूल्य ७.९७ प्रतिशतले बढेर प्रतिकित्ता ५४० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।

नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा गएका सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको हो । यी दुईले असार २९ गते मात्रै मर्जरमा जानको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सोहि अनुसार नेप्सेले असार ३० गतेदेखि दुबै कम्पनीको सेयर कारोबार रोकिदिएको हो । यससँगै अब दुई इन्स्योरेन्सबीचको मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार नभएसम्म दोश्रो बजारमा सेयर कारोबार खुल्ने छैन । दुबै इन्स्योरेन्स समान हैसियत अर्थात १ बराबर १ को अनुपातमा एक आपसमा मर्ज हुन लागेका हुन् । पछिल्लो समय नेप्सेमा अधिकांश बीमा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । सबै कम्पनी धमाधम मर्जर प्रकृयामा जनलाई एमओयू गरेसँगै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।