४/१२ को सीमा हटाउनु पर्छ, ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ : महानिर्देशक अवस्थी
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले ४/१२ को सीमा हटाउनु पर्ने बताएका छन् । आइतबार काठमाडाैंमा आयाेजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् । ‘सेयरधितो कर्जामा गरेको ४/१२ करोडको नीति खारेज गर्नुपर्छ, ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ र बैंकहरुले आकर्षक बचत योजना ल्याउनु पर्छ,’ उनले भने यस्तै उनले स्थानीय तहको रकमलाई शतप्रतिशत निक्षेपका रूपमा राख्नु पर्ने र त्यसाे नभए ८० प्रतिशतलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादन गर्ने उद्योगलाई पुनर्कर्जा दिनु पर्ने र निर्यातमा दिने सहुलियतलाई सहजीकरण गर्नु पर्ने बताए । त्यस्तै, उनले ब्याजदरको त्रैमासिक रुपमा समीक्षा गरि परिमार्जन गर्नु पर्ने बताएका छन् । ‘ब्याज बढेर निक्षेप बढेको देखिएन, तर यसमा पुनरावलोकन गर्नु पर्छ,’ उनले भने ।
शुक्रबारको सेयर बजार राताम्मे, २ हजारबाट तल झर्यो परिसूचक
काठमाडौं । शुक्रबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२ .६१ बिन्दुमा पुगेको छ । जुन एक साताको तुलनामा न्यूनतम बिन्दु हो भने अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशतले घटी हो । शुक्रबारको बजारमा दुई घण्टा मात्रै सेयर कारोबार खुल्ने गरेको छ । यो अवधिमा कूल १ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५५ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १९३.०७ बिन्दुमा झरकेो छ । सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा हिमालय उर्जा विकास कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर मूल्य एकैदिन ५.४४ प्रतिशतले घटेर प्रतिकित्ता २२६ रुपैयाँमा झरेको छ ।
अपर हेवाखोला हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले आजबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता आइपिओ बिक्री खुला गरेकाे हो । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । सर्वसाधारणले यही असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’ को मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी–बिबी आइएस्’ ग्रेडिङ प्रदान गरेको छ ।