प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित सोनापुर मिनरल्सले डाक्यो साधारण सभा

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलले आगामी साउन १५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन दिउँसो ४ बजे काठमाडौंको बत्तीसपुतलीस्थित कम्पनी रजिष्टार्ड कार्यालयमा आफ्नो १४औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको प्रस्ताव अनुसार सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न समितिलाई अख्तियारी दिँदै छ । सोनापुर मिनरल्स् पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले २०७७ माघमा नै बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको थियो । यो कम्पनीले २ करोड कित्ता सेयर स्थानियबासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनीसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन् ।

प्रोभिजन रोक्न सेयर बजारलाई काँध

काठमाडौं । असार १० गते नेप्से परिसूचक १८४० थियो । असार १९ गते २०८६ अंकमा पुग्यो । सेयर बजार घट्दै गर्दा दैनिक कारोबार एक अर्ब रुपैयाँ भन्दा कमको हुने गरेको थियो । आइतबार २ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । ९ दिनको अवधिमा नेप्से परिसूचक २४६ अंकले वृद्धि भएको छ । कारोबार रकम दोब्बरभन्दा बढी भएको छ । सेयर बजारमा हरियाली छाउँदा लाखौं लगानीकर्तामा खुशी छाएको छ । अब सेयर बजारमा सुधार आउने आश धेरैमा पलाएको पनि छ । तर सेयर बजारमा देखिएको वृद्धि टिकाउ हो कि क्षणिक भन्ने प्रश्न पनि लगानीकर्तामा देखिएको छ । सेयर बजार धेरै तल झरिसकेको अहिलेको सुधार क्रमशः माथि नै जाने बताउँछन् लगानीकर्ता राम पाण्डे । वाणिज्य बैंकले जारी गरेको १०.७५ प्रतिशतको ऋणपत्र बिक्न नसकेको अवस्थामा सेयर बजार धेरैमाथि जाने अपेक्षा गर्न कठिन भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् । यता सेयर ब्रोकरका कार्यकारी प्रमुख पनि ठूला लगानीकर्ताले सेयर किन्न नथाली बजारको सुधार टिकाउ नहुने बताउँछन् । तरलता वृद्धि नभएसम्म र कर्जाको व्याजदर घट्न शुरु नभई सेयर बजारमा ठूलो माग सिर्जना हुन नसक्ने उनको तर्क छ । उनले पछिल्लो समयको वृद्धिलाई प्रोभिजन रोक्न संस्थागत लगानीकर्ताले काँध थाम्ने कार्यको रुपमा विश्लेषण गरे । ‘सेयरमा ठूलो लगानी भएका बैंक र बीमा कम्पनीहरुले सेयर बजारमा काँध हाल्ने प्रयास गरेका छन्, साउन लागेपछि उनीहरुले काँध झिक्नेछन्’ उनको विश्लेषण छ । आर्थिक वर्षको अन्त्यमा सेयरमा गरिएको लगानीमा घाटा भएको अवस्थामा १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । बजार घट्दा प्रोभिजन बढ्ने र बजार बढाउँदा यस्तो प्रोभिजन गर्नु नपर्ने वा कम गरे हुन्छ । प्रोभिजन जति बढी भयो नाफा त्यति नै कम हुन्छ । आर्थिक वर्षको अन्त्यमा प्रोभिजन गर्नु परेमा खुद नाफा कम हुन्छ । लगानीकर्तालाई वितरण गर्ने लाभांश पनि कम हुन्छ । यसले कम्पनीको छवि कमजोर बनाउँछ । यसबाट बच्नको लागि मर्चेन्ट बैंक तथा म्युचुअल फण्डहरुले सेयर माग बढाएका छन् । मर्चेन्ट बैंकर्स तथा म्यूचल फण्डहरु अधिकांश बैंक तथा बीमा कम्पनीद्धारा प्रवद्धित भएकोले पनि उनीहरुले मातृ कम्पनीलाई सहयोग पुग्ने गरी कारोबार गरेको उनले सुनाए । म्युचुअल फण्डहरुले पनि आफ्ना स्कीमको अंकित मूल्यभन्दा कम भएमा सो बराबर प्रोभिजन गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरुले म्युचुअल फण्डको मूल्य पनि अंकितभन्दा माथि लैजान सामूहिक कसरत गरिरहेको बताइएको छ ।

बजारमा करेक्सन हुँदा दुई लघुवित्तमा लाग्यो सर्किट

काठमाडौं । शुक्रबारको नेप्से परिसूचकमा करेक्सन देखिएको छ । बिहीबार ७५ अंकले बढेको बजार शुक्रबार ८.८७ अंकको करेक्सन देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक ०.४४ प्रतिशतले घटेर २०२८.७७ बिन्दुमा झरेको छ । दुई घण्टामा बजारमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दुई लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.७७ प्रतिशतले घटेर प्रतिकित्ता ३८९.५० रुपैयाँमा झरेको छ । बजारमा फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ समूह उकालो लागेका छन् भने बाँकी घटेका छन् ।