नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सुझाव
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह तथा सुझाव आह्वान गरेको हो । बोर्डले सम्बन्धित सबै सरोकारवालाहरुसँग बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको हो । बोर्डले असार २० गतेसम्म आफ्नो सुझाव [email protected] मा पठाउन आग्रह गरेको छ ।
टिकेन नेप्सेको वृद्धि, परिसूचक दोहोरो अंकले घट्दा सीआईटीको सार्वधिक कारोबार
काठमाडौं । आइतबार उच्च अंकले उकालो लागेको नेप्से सोमबार दोहोरो अंकले घटेको छ । सोमबारको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२२ प्रतिशतले घटी हो । करेक्सन देखिएको बजारमा कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब १९ करोडको सेयर कारोबार भएको बजारमा सोमबार २ अर्ब रुपैयाँमा सीमित भएको छ । सोमबार सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ । कोषको एकैदिन १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता २५४२ रुपैयाँ पुगेको छ । घटेको बजारमा पनि दुई लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भएको छ भने एक इन्स्योरेन्सको ९ प्रतिशतभन्दा बढीले बढेको छ । सीवाईसीएल नेपाल लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सेयर मूल्य ९.१५ प्रतिशतले बढेर प्रतिकित्ता १४१९ रुपैयाँ पुगेको छ । बजारमा उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले घटेर प्रतिकित्ता ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा इन्भेष्टमेन्ट र जीवन बीमा बाहेक सबै समूह राताम्मे देखिएका छन् । इन्भेष्टमेन्ट र जीवन बीमा समूह क्रमशः ०.६४ र ११३.९६ अंकले बढेका छन् ।
साढे पाँच अर्बको आईपीओ निष्काशनको क्रममा, २४ वटा कम्पनी पुगे धितोपत्र बोर्ड
काठमाडौं । करिव साढे ५ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन (आईपीओ) को क्रममा रहेको छ । २४ वटा कम्पनीले ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । त्यसमध्ये १६ वटा कम्पनीको आवेदन प्रारम्भिक अवस्थामा रहेको र ८ वटा कम्पनीको प्रक्रिया अगाडि बढिसकेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । आइपीओ जारी गर्न चाहानेमा बीमा, जलविद्युत, सूचना प्रविधि, लगानी कम्पनी, लघुवित्त, होटल, कृषि कम्पनी रहेका छन् । सबैभन्दा बढी रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न प्रस्ताव गरेको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले ८० करोड र आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेका छन् । आईएमई ग्रुप प्रवद्र्धक रहेका ४ वटा कम्पनीले सेयर निष्काशन गर्दैछन् । त्यसमा आईएमई लाइफ, रिलायवल लाइफ पनि छन् । आईएमई ग्रुप प्रवद्र्धक रहेको हाथवे इन्भेष्टमेन्ट कम्पनीले १४ करोड ६२ लाख रुपैयाँको सेयर निष्काशन गर्दैछ । आइएमई ग्रुप प्रवद्र्धक भएको डिसहोम नेटवर्कले २३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । चालु आर्थिक वर्षमा २५ वटा कम्पनीले धितोपत्र बोर्डबाट साधारण सेयर निष्काशन गर्न अनुमति पाइसकेका छन् । उनीहरुले ६ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेका छन् । २५ वटा कम्पनीमा प्रमोटरले मात्र १५ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् । कुन कम्पनीकाे कति ? [pdf id=336296]