सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो परिसूचक

काठमाडौं । लामो समय पछि सेयर बजारमा सुधार देखिएको छ । बजार सुधारको लागि नेपाल धितोपत्र बोर्ड र सेयर बजारका लगानीकर्ताबीच १२ बुँदे सहमति भएसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको हो । लगानीकर्ता र बोर्डबीच गत शुक्रबार सहमति भएको थियो । त्यसपछि सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । आज आइतबारको बजारमा पनि बजार कारोबार शुरु भएदेखि उकालो लागिरहेको छ । र, कारोबार शुरु भएको करिब ३ घण्टामै परिसूचक ८१.६१ बिन्दुले बढेको छ । दिउँसो १ बजेर ४८ मिनेट जाँदा परिसूचक ८१.६१ बिन्दुले बढेर १९४३.६६ बिन्दुमा पुगेको छ । जुन गत शुक्रबारको तुलनामा ४.३८ प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । हकप्रद सेयर जारी गर्न अनुमति पाएसँगै कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भइरहेको छ । कम्पनीको तीन घण्टामै ६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । त्यस्तै, नागरिक लगानी कोष (सीआईटी) र ङादीसहित विभिन्न कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ । र, बढ्दो बजारमा गुमाउने कुनै पनि कम्पनी देखिएका छैनन् ।

संचयकर्तालाई १७४ करोड र लगानीकर्तालाई ९८ करोड दिने नागरिक लगानी कोषको निर्णय

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई लाभांश र संचयकर्तालाई थप प्रतिफलको घोषणा गरेको छ । कोषले संचयकर्तालाई एक अर्ब ७४ करोड रुपैयाँ अतिरिक्त प्रतिफल दिने भएको छ भने सेयर लगानीकर्तालाई ९० करोड १० रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । शनिबार बसेको कोष सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए । आर्थिक बर्ष २०७७/७८ सम्मको नाफाबाट उक्त लाभांश दिन लागिएको हो । नागरिक लगानी कोषका कर्मचारी बचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय भएको हो । कोषले सञ्चालन गरेको कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागी छन् । २०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरेको जानकारी दिएको छ । गत आर्थिक वर्षको नाफाबाट कोषले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त बोनस स्वरुप कोषमा ९८ करोड १० लाख रुपैयाँ बराबरको चुक्ता पुँजी वृद्धि हुनेछ । कोषले बोनस सेयरमा लाग्ने कर स्वरुप सरकारलाई ५ करोड १६ लाख रुपैयाँ पनि तिरिदिने भएको छ । काेषकाे लाभांश घाेषणा सार्वजनिक भएकै दिन सेयर मूल्य प्रतिकित्ता साढे दुइ सय रूपैयाँले बढेकाे छ । काेषकाे सेयर मूल्य प्रतिकित्ता २४०० भन्दा बढीमा काराेबार भैरहेकाे छ ।

आधा घण्टामै ५१ अंकले बढ्यो नेप्से परिसूचक, सीआईटीको सेयरमा सर्किट

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको बजारले आज शुरुवातमै उकालोको बाटो तय गरिसकेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टाको अवधिमै नेप्से परिसूचक ५१ अंकले बढेको छ । बिहान ११ बजेर ३८ मिनेट जाँदा परिसूचक ५१.०८ अंकले बढेर १९१३.१४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.७४ प्रतिशतले बढी हो । यो समाचार पार्दासम्म नागरिक लगानी कोष (सीआईटी) को सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ । कोषको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता २४२७.७० रुपैयाँ पुगेको छ । त्यस्तै, कूल ३७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आधा घण्टामै कम्पनीको कूल २ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । त्यस्तै, कम्पनीको सेयर मूल्य पनि ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ माथि पुगेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।