१० दिनपछि अनसन तोड्दै कोइरालाले भनेः सम्पूर्ण लगानीकर्ताको जीत भयो
काठमाडौं । पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आमरण अनसन तोडेका छन् । उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबाट जुस पिएर अनसन तोडेका हुन् । बोर्डका अध्यक्ष हमालले लगानीकर्ताहरुको माग पुरा गर्ने प्रतिवद्धता गरेसँगै लगानीकर्ता कोइरालाले १० दिनमा अनसन तोडेका हुन् । उनी असार १ गतेदेखि नै आमरण अनसनमा बसेका थिए । बोर्डले माग पुरा गर्न कार्यन्वयन समितिले बनाएको बताउँदै अध्यक्ष हमालले धितोपत्र बजारलाई स्वच्छ, सफा र उत्साहपूर्ण बनाउने बताए । ‘बोर्डले राष्ट्र बैंकसँग समन्वय गर्दै अगाडि बढेको छ, बोर्डले गलत गर्नेलाई कारवाही गर्छ, राम्रो गर्नेलाई स्यावासी दिन्छ, हाम्रो साथ सँधै लगानीकर्ताहरुसँग हुन्छ,’ अध्यक्ष हमालले भने । बोर्डले १९ बुँदे मागहरुलाई सम्बोधन गर्ने सहमति भएसँगै अनसन तोडेको लगानीकर्ता कोइरालाले बताए । ‘यो नेपालका सबै लगानीकर्ताको जीत हो, पुँजीबजारको जीत हो, धितोपत्र बोर्डको जीत हो, नेपाल सरकारकै जीत हो, त्यसैले यसलाई एतिहासिक कदमको रुपमा लिएर अब लगानीकर्ताहरुले कहिल्यै पनि आन्दोलन गर्नु पर्दैन, जुन कुराहरु लगानीकर्ताबाट उठ्छन् त्यो बोर्डले समयमै सम्बोधन गर्ने विश्वास लिएको छु पर्दैन,’ कोइरालाले भने । १९ बुँदे माग पुरा हुने भएपछि आजकै दिनदेखि संघर्ष समिति विघटन हुने र लगानीकर्ताको आन्दोलनका सबै कार्यक्रम सकिएको बताएका छन् । के के सहमति भयो ? अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समतिको ५८ बूंदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने । बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने । कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने । धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । तथा थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने। गैर आवसीय नेपालीहरुलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ श्रावण देखि कार्यान्वयनमा आउने । सार्वजनिक ओहदामा रहेका महानुभावहरुलाई पूँजी बजारको बारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले संचालन गर्ने वित्तीय साक्षरताको कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र यस सम्बन्धमा बोर्डले समय समयमा विज्ञप्ती जारी गर्ने । नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने । साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म संचालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सो सम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भैरहेकोले २०७९ भदौ महिना सम्म कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने । धितोपत्र बजारमा लिईने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकोले सोको प्रतिवेदन प्राप्त भएपश्चात सबै सरोकारवालाहरुको उचित राय सुझाव लिई अन्तिम रुप दिने । दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने । मागको बूँदा ११ को सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयन पश्चात टिएमएस सञ्चालन गर्दा प्राविधिक रुपमा सम्भाव्य भएमा उक्त व्यवस्था समेट्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाइने छ। मागको बूँदा १२ को सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग समन्वय गर्ने । धितोपत्र बजारमा नयाँ औजार भित्रयाउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जबाट अध्ययन भई कार्यान्वयनको चरणमा रहेकोले सोको लागि आवश्यक कार्य अगाडि बढाइने । मागको बँदा १४ सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बीमा समितिसँग आवश्यक समन्वय गर्ने । मागको बूँदा १५ सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने । मागको बूँदा १६ सम्बन्धमा आवश्यक अध्ययन गरी कार्य अगाडि बढाइने । मर्जर तथा एक्विजिसन सम्बन्धमा रहेको अन्यौलता हटाउन नेपाल राष्ट बैंक, बीमा समिति र नेप्से सम्मलित समिति गठन भइसकेको र उक्त समितिबाट प्राप्त हुने प्रतिवेदन बमोजिम कार्य तत्तकाल कार्य अगाडि बढाइने। मागको बूँदा १८ को सम्बन्धमा नेपाल राष्ट्र बैंकसंग समन्वय गर्ने । मागको बुँदा नं. १९ को सम्बन्धमा पूँजी बजार र सेयर मूल्यको सम्बन्धमा पूँजी बजार र सेयर मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी आवश्यक समय प्रदान गर्ने ।
वाणिज्य बैंकसहित २१ कम्पनीको सेयर मूल्य २ सय मुनि, अधिकांशको हालसम्मकै सस्तो
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । बजार घटेसँगै दोश्रो बजारमा सूचीकृत कम्पनीका सेयर मूल्य पनि दिनानुदिन घट्दो क्रममा छन् । यो अवधिमा विभिन्न समूह अन्तर्गतका कम्पनीको सेयर मूल्य न्यूनतम मूल्यमा झरिसकेका छन् । नेप्सेका अनुसार असार पहिलो सातासम्मा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रो, होटल र इन्भेष्टमेन्ट समूहका अधिकांश कम्पनीका सेयर मूल्य न्यूनतम मूल्यमा किनबेच भइरहेको छ । बिहीबार कारोबारमा आएका १९५ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य २ सयभन्दा तल झरिसकेको छ । जसमा वाणिज्य बैंकमध्ये ५ कम्पनीको सेयर २०० रुपैयाँभन्दा सस्ता भएका छन् । जसमा लक्ष्मी बैंकको १९८.८०, कुमारी बैंकको १९४, सिभिल बैंकको २००.७०, सेञ्चुरी कमर्शियल बैंकको १८३.५० र सनराइज बैंकको प्रतिकित्ता १९८ रुपैयाँ रहेको छ । जसमध्ये कुमारी, सेञ्चुरी र सनराइज बैंकको सेयर मूल्य हालसम्मकै न्यूनतम मूल्य हो । इन्भेष्टमेन्ट समूह अन्तर्गतको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँमा झरेको छ । जसको सेयर प्रतिकित्ता ५७५ रुपैयाँसम्म कारोबार भएको छ । त्यस्तै, सेयर भाउ २०० भन्दा तल हुनेमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । असार ९ गतेसम्मको कारोबारमा १० वटा हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा कम छ । जसमा यूनियन हाइड्रोको १७५.९०, हिमाल दोलखा हाइड्रोको १७४.३०, घलेम्दी हाइड्रोको १९०.६०, जोशी हाइड्रोको १७१, आँखुखोला जलविद्युत कम्पनी १७४.५०, मध्यभोटेकोशी जलविद्युत कम्पनी २००, यूनिभर्सल पावर कम्पनी १८६, दिव्यश्वरी हाइड्रोको १७६.९०, खानी खोला हाइड्रोको १८० र पञ्चकन्या माई हाइड्रो प्रतिकित्ता १८७ रुपैयाँ रहेको छ । त्यस्तै, होटल्स समूह अन्तर्गतको सोल्टी होटलको सेयर भाउ घटेर प्रतिकित्ता १८९.१० रुपैयाँमा झरेको छ । जुन न्यूनतम मूल्यको हाराहारीमा छ । यसअघि होटलको सेयर प्रतिकित्ता १८६ रुपैयाँसम्ममा किनबेच भएको थियो । दुई फाइनान्स र दुई विकास बैंकको सेयर मूल्य सस्तिएका छन् । जसमा सम्वृद्धि फाइनान्स र प्रोगेसिभ फाइनान्स रहेका छन् । बिहीबार यी दुई कम्पनीको सेयर क्रमशः प्रतिकित्ता १८८ र १९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जसमध्ये सम्वृद्धि फाइनान्सको सेयर भाउ हालसम्मकै कम हो भने प्रोगेसिभको न्यूनतम मूल्यका हाराहारीमा पुगेको छ । त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १८९ र ग्रीन डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १९५ रुपैयाँमा झरेको छ । घट्दो बजारमा लगानीकर्ताहरु प्यानिकमा सेयर बिक्री गर्न बाध्य भएपछि त्यसको असर मूल्यमा परेको हो । बैंक तथा वित्तीय संस्थाबाट आउने मार्जिन कलको डरले पनि लगानीकर्ताहरु प्यानिकमा सेयर बिक्री गर्न बाध्य भएका हुन् । नेपाली बजारको परिसूचक उच्चतम बिन्दुबाट ४२ प्रतिशत तल झरिसकेको छ । २०७८ भदौमा ३१९९ को उच्चतम बिन्दुमा पुगेको परिसूचक २०७९ असारमा १८४८.२८ बिन्दुमा झरेको छ ।
एकैदिन ७७ प्रतिशतले बढ्यो सेयर कारोबार, दुई लघुवित्तमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । बिहीबारको सेयर बजार कारोबार शुरु भएदेखि निरन्तर घटेर बन्द भएको छ । कारोबार खुल्दा १८८९ बिन्दुमा रहेको परिसूचक दिनभरको कारोबारमा घटेर १८३६ बिन्दुसम्म झरेको थियो । तर अन्त्यमा बजार बन्द हुँदा परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.३९ प्रतिशतले घटी हो । परिसूचकको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबारको तुलनामा बिहीबारको सेयर कारोबार ७७.८१ प्रतिशतले बढेको छ । बुधबार ८४ करोडमा सीमित भएको सेयर कारोबार बिहीबार १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसबाट घट्दो बजारमा लगानीकर्ताहरु प्यानिक भएर सेयर बिक्री गर्न थालेको बुझिन्छ । अर्को, बजार निरन्तर घटेपछि बैंक तथा वित्तीय संस्थाहरुले भटाभट मार्जिन कल गर्न थाल्छन् । त्यसबाट लगानीकर्ताहरु थप प्यानिक भएर घाटामै भएपनि सेयर बिक्री गर्न बाध्य हुने छन् । बिहीबारको सेयर बजारमा बढी कारोबार गर्नेको सूचीमा वाणिज्य बैंक रहेको छ । सबैभन्दा बढी कारोबार भएको कुमारी बैंकको एकैदिन ९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १९४ रुपैयाँमा झरेको छ । त्यस्तै, दोश्रोमा लक्ष्मी र तेश्रोमा नबिल बैंक छ । प्रतिकित्ता क्रमशः १९८.८० र ७४९ रुपैयाँ बराबरको मूल्य भएको यी दुई बैंकको सेयर क्रमशः ६ करोड ३६ लाख र ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि दुई लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । आँखुखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः ९६०.७० र ६०५.३० रुपैयाँमा झरेको छ । बिहीबार शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.५६ प्रतिशतले घटेको छ । त्यस्तै, लिवर्टी इनर्जी कम्पनीको ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता २०७ रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समूह रहेको छ ।