कामना सेवासहित ६ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता, बोर्डले दियो स्वीकृति

काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ६ वटा कम्पनी थपिएका छन् । बोर्डले समृद्धि फाइनान्स कम्पनीसहित थप ६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले हालै गौरब नेपाल इन्भेष्टमेन्ट, समृद्धि फाइनान्स कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड ३, कामना सेवा विकास बैंक, पशुपति भेन्चर क्यापिटल र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । यसअघि योग्य संस्थागत लगानीकर्ताको सूचीमा १०० वटा संस्था थिए । अब उक्त संख्या बढेर १०६ पुगेको छ । योग्य संस्थागत लगानीकर्ता भनेको के हो ? बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ ।

नबिल बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नबिल बैंकले २८ हजार ५८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधारण व्यक्ति तथा संस्थालाई सो मात्राको सेयर बिक्री गर्न लागेको हो । यससँगै इुच्छुक व्यक्ति तथा संस्थाले आगामी ७ दिन ( असार १५ गतेपछिको ७ दिन) भित्रमा बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवेदन दिन सक्नेछन् । तर, उक्त सेयर किनेपछि पनि संस्थापक सेयरधनी समूहमा नै रहने गरी किन्न इच्छुकले मात्रै सो सेयर किन्न पाउने छन् ।  सेयर खरिद गर्न इच्छुकले गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ । बैंकले कानुन अनुसार नै पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएको थियो । तर संस्थापकहरुबाट कुनैपनि निवेदन नआएकोले बैंकले उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न लागेको हो ।

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ गतेसम्म आवेदन दिन पाउने तथा निष्काशनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनसक्नेछन् । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै ‘मेरो शेयर’ एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।