सेयर बजार ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार ११.६८ अंकले बढेको छ । यसअघि निरन्तर घटिरहेको नेप्से परिसूचक मंगलबार भने बढेको हो । आज (मंगलबार) ४९ लाख ६७ हजार हजार ५६१ कित्ता सेयर खरिद बिक्रीबाट कुल १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको हो । कारोबारमा १३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज सप्तकोसी जलविद्यत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको हो । जसको लागि यी दुई कम्पनीले गत असार २७ गते समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । बराबरी हैसियतमा मर्ज हुँदै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, गरे सम्झौता यससँगै, उक्त मर्जर प्रकृया सकिएर एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कम्पनीको सेयर कारोबार फुकुवा हुने छ ।
२ जनाले पाए हिमालयन हाइड्रोको ११ कित्ता सेयर
काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको हो । क्यापिटलका अनुसार उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट विधिद्धारा बाँडफाँड भएको छ । सो अनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिनेमध्ये १ लाख ८३ हजार ४७ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको छ । उनीहरुलाई कूल १८ लाख ३० हजार ४७० सेयर बाँडफाँड गरिएको हो । त्यसपछि दोश्रो चरणमा बाँकी रहेको २ कित्ता सेयर २ जनाले एक एक कित्ताको दरले पाएका छन् । यससँगै उनीहरुले पहिलो चरणको १० कित्ता र दोश्रो चरणको एक कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् । उक्त आईपीओमा सर्वसाधारणको तर्फबाट मागभन्दा ९.६९ गुणा बढी आवेदन पारेको थियो । बिक्री गरिएको १८ लाख ३० हजार ४७२ कित्ता सेयरको लागि जम्मा १५ लाख ९५ हजार ५५४ जना आवेदकहरुबाट आवेदन दिएका थिए । उनीहरुले कूल १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता सेयर माग गरेका थिए । आवेदन दिएकामध्ये १५ लाख ९६ हजार ७९६ जना आवेदकहरुबाट प्राप्त भएको १ करोड ७७ लाख ३४ हजार ३७० कित्ता सेयर बाँडफाँडका लागि योग्य रहेको देखिएको क्यापिटलले जनाएको छ । त्यस्तै, १ हजार ७५८ जनाले १९ हजार ९३० कित्ता सेयरको लागि दिएको आवेदन रद्द गरिएको छ ।