नेप्से ६.७१ अंकले गिरावट हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै घट्यो

काठमाडाैं । सेयर बजार परिसूचक नेप्से बुधवार ६.७१ अंकल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलवारदेखि सामान्य करेक्शन आएको हो । बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका १३ उपसमूह मध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ । नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ्ग पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । बुधबार शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबारको सेयर कारोबार भएको छ ।

भदौ ८ गतेभित्र सेयर कर्जा १२ करोडमा झार्नै पर्ने, नत्र १०० प्रतिशत प्रोभिजन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं ८ गतेभित्र सेयर कर्जालाई सीमाभित्र ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार जारी एकिकृत निर्देशनमा मार्जिन प्रकृतिको कर्जा रू. १२ करोड भन्दा तल झर्न निर्देशन दिइएको हो । मौद्रिक नीतिमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १२ करोड तोकिएको थियो । ‘मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ’ राष्ट्र बैंकको एकिकृत निर्देशनमा भनिएको छ । कर्जा प्रवाह भएको मितिले एक वर्ष तोकिएकोले २०७९ भदौ ८ गतेभित्र सेयर कर्जा सीमामा ल्याउनु पर्ने वाध्यता बैंक तथा वित्तीय संस्थालाई आईपरेको हो । रु १२ करोड भन्दा बढी कर्जा लिने ऋणिको विवरण भने आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

खुल्यो अभियान लघुवित्तको आइपीओ, ३ हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर एक सय अङ्कित नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ । निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ ।